photo: rss
कुनै गठबन्धन भत्काउने या बनाउने खेलमा एमाले नरहेको प्रष्टोक्ति
नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले एमाले सत्ताका लागि कुनै गठबन्धन बनाउने या भत्काउने खेलमा नलागेको बताएका छन् ।
पार्टीको ‘मिसन ग्रासरुट’ अभियानअन्तर्गत आज धनगढी पुगेका उपाध्यक्ष पौडेलसमक्ष अहिलेको गठबन्धनको विकल्पमा एमाले लागेको छ कि भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले सो धारणा राखेका हुन् ।
उनले भने, ‘अहिले एमाले सत्तामा जानकै लागि कुनै गठबन्धन बनाउने या भत्काउने पक्षमा लागेको छैन, पार्टीलाई थप बलियो बनाउने पक्षमा लागेको छ, त्यसैले हामी देशव्यापीरुपमा मिसन ग्रासरुट कार्यक्रममा छौँ ।’ अहिलेको गठबन्धन भत्काउन चाहेमा एमालेले सक्ने जिकिर गर्दै नेता पौडेलले तर अहिले एमाले गठबन्धन भत्काउने र बनाउनेभन्दा पनि पार्टीलाई बलियो बनाउने अभियानमा लागेको उल्लेख गरे ।
धनगढीमा प्रेस चौतारीले गरेको अन्तर्क्रियामा उनले आफ्नो पार्टीे सशक्त प्रतिपक्षको भूमिका निर्वाह गरेर बस्ने बताए । एमाल अबको अर्को निर्वाचनमा बहुमत ल्याउने गरी अगाडि बढेको र हाल सशक्त प्रतिपक्षको भूमिकामा रहने उनले जानकारी दिए ।
अर्को प्रसङ्गमा उनले नेकपा एमालेको नेतृत्वबाट देशमा राजनीतिक स्थायित्व र समृद्धि प्राप्त हुने बताए । पार्टीलाई ग्रामीण तहसम्म नै स्थापित गर्नका लागि एमालेले मिसन ग्रासरुट अभियान सञ्चालन गरेको जानकारी उनले दिए ।
पूर्वअर्थमन्त्रीसमेत रहेका नेता पौडेलले देश डरलाग्दो गरी अस्थिरतामा फसेको र अर्थतन्त्र समाल्न नसक्ने अवस्थामा पुगेको विश्लेषण पनि गरे ।
देशमा विप्रेषणको परिसूचकबाहेक सबै सूचक नकारात्मक देखिएका र अहिलको आन्तरिक राजस्वले साधारण खर्च पनि धान्न नसक्ने अवस्थामा पुगेको उनले बताए । अन्तर्राष्ट्रिय सहयोगदाताले गरेका प्रतिबद्धता पनि प्राप्त हुन नसकेको र यस्तो अवस्थामा पनि सरकार गम्भीर हुन नसकेको उनको धारणा थियो ।
उपाध्यक्ष पौडेलले सो पार्टीका नेता भीम रावलले पार्टीको अनुशासन पालना नगरे उनमाथि अनुशासनको कारबाही हुने पनि बताए । नेता भीम रावलले पार्टी सदस्यले निर्वाह गर्नुपर्ने कुनै पनि काम गर्न नसकेको उनको जिकिर थियो । पौडेलले भने, ‘भीम रावलले एकपछि अर्को गल्ती गर्दै हुनुहन्छ । उहाँले आत्मालोचना गर्नुपर्दछ, पार्टीको अनुशासन सबै सदस्यलाई लाग्छ, उहाँलाई पनि कारबाही हुनसक्छ ।’
‘पार्टीको १०औँ राष्ट्रिय सम्मेलनमा पराजित भइसकेपछि उहाँलाई पार्टीको केन्द्रीय सल्लाहकार परिषद्को सल्लाहकारमा नियुक्त गरियो तर त्यो भूमिका उहाँले निर्वाह गर्नुभएको छैन । यस्तै गल्ती दोहोऱ्याउँदै गएमा पार्टी चुपचाप सहेर बस्दैन ।’ पार्टीको नीति र विधान मान्नु सबै सदस्यको कर्तव्य भएकाले यदि त्यसो गर्न नसकेमा सबैलाई कारबाही हुने उहाँको भनाइ थियो ।
प्रतिक्रिया