कारवाही फुकुवा गरेको भन्दै कांग्रेसले भ्रम छरेको गोविन्दराज जोशीको आरोप

कारवाही फुकुवा गरेको भन्दै कांग्रेसले भ्रम छरेको गोविन्दराज जोशीको आरोप


नेपाली कांग्रेसले आफूमाथि गरेको कारवाही फुकुवा गरेको भनी गरेको प्रचारप्रति पूर्व कांग्रेस नेता गोविन्दराज जोशीले आपत्ति जनाएका छन् । उपनिर्वाचनको मुखमा आफूलाई कांग्रेसबाट कारवाही फुकुवा गरिएको भनेर भ्रम छर्ने काम गरिएको जोशीको आरोप छ ।

कांग्रेसले कारवाही फुकुवा गरेको भन्ने समाचार सार्वजनिक भएलगत्तै नेता जोशीले एक विज्ञप्ति प्रकाशित गर्दै भनेका छन्, ‘वर्षौंदेखि नेपाली कांग्रेसको राजनितिमा लागेर पार्टीको लागि आफ्नो सम्पूर्ण जीवन अर्पण गरेको सजाय म र मेरो परिवारले वर्षौंदेखि भोग्दै आएको कुरा सबैमा जगजाहेरै छ। विगतका वर्षमा मैले जे जति भोगेको छु त्यसको श्रेय नेपाली काङ्ग्रेसलाई सक्काउन लागिपरेका केही राजनीतिज्ञहरुलाई जान्छ । दशौँ हजार कार्यकर्ताको मतलाई बेवास्ता गर्दै चुनावको मुखमा मलाई नेपाली कांग्रेसबाट कारवाही फुकुवा गरिएको भन्ने जुन भ्रम छर्ने काम गरियो, यो सरासर गलत हो । यसप्रति मेरो घोर आपत्ति छ।’

समस्या समाधानका निम्ति पटकपटक वार्ता टोली गठन गरि वार्ताको प्रयास गर्दा पनि पार्टीले बेवास्ता गरेको स्मरण गराउँदै जोशीले भनेका छन्, ‘सम्पूर्ण प्रयासका बाबजुद वार्ताको वातावरणसमेत नबनाउने, पार्टीमा सैद्धान्तिक विचलन ल्याउनेहरुबाट यसरी जनतालाई दिग्भ्रमित गर्ने गरिएको निर्णयको जति आलोचना गर्दा पनि कम हुन्छ।’

‘नेपाली कांग्रेसले म र मसँग सम्बन्धित मान्छेसँग कुनै किसिमको सल्लाह नगरी एकलौटी रुपमा गरेको यस निर्णयलाई म हरहालतमा मान्न तयार छैन । चुनावको मुखमा मञ्चन गरिएको चुनावी रणनीतिबाट दिग्भ्रमित नहुन तथा यस्तो अफवाहबाट बिचलित नहुन म मेरा सम्पूर्ण जनतालाई आग्रह गर्दछु । म र नेपाली कांग्रेस पार्टीलाई नै सक्काउने उद्देश्यले गरिएको उक्त निर्णयको खण्डन गर्दै सोका प्रति गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु।’