पूर्वराष्ट्रपति ट्रम्पविरुद्ध चौतिस वटा गम्भीर अपराधका अभियोग

पूर्वराष्ट्रपति ट्रम्पविरुद्ध चौतिस वटा गम्भीर अपराधका अभियोग


अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध अश्लिल चलचित्रकी नायिकसँगको यौनसम्बन्ध दबाउन भारी रकम भुक्तानी गरेको, झुठा व्यावसायिक विवरण तयारपारेकोलगायत ३४ वटा गम्भीर अपराधका अभियोग लगाइएको छ ।

न्युयोर्कको एक अदालतले सन् २०१६ मा भएका ती घटनालाई लिएर मङ्गलबार पूर्वराष्ट्रपति ट्रम्पविरुद्ध ती अभियोग लगाएको हो । अदालतमा उपस्थित उहाँले ती अभियोगहरूमा आफू दोषी नरहेको दाबी गरेका छन् ।

सन् २०१६ को राष्ट्रपतीय निर्वाचनअघि अश्लिल चलचित्रकी नायिक स्टोर्मी डेनियलसँग यौनसम्पर्क गरेको र त्यसलाई दबाउन राष्ट्रपतिका प्रत्यासी ट्रम्पले उनलाई एक लाख ३० हजार अमेरिकी डलर दिएको अभियोग लगाइएको छ । डेनियलले आफूसँग सन् २००६ मा ट्रम्पले यौन सम्बन्ध कायम गरेको र त्यसलाई गोप्य राख्न रकम दिएको दाबी गरेकी छन् ।

अमेरिकाको इतिहासमा फौजदारी अपराधको मुद्दा खेप्ने पहिलो पूर्वराष्ट्रपति उनको औँठाछाप मात्र लिइएको थियो । उनका कानुन व्यवसायीले विश्वप्रख्यात उनको अनुहारको तस्बिर लिन आवश्यक नभएको बताएका थिए । अभियोजकहरूले पनि उनको तस्बिर नलिई ट्रम्पलाई अदालतमा प्रस्तुत गरेका थिए । उनलाई हत्कडी पनि लगाइएको थिएन । अदालतमा उनी आफ्ना कानुन व्यवसायीहरूसँगै बसेका थिए । अदालतमा ट्रम्प शान्त तर गम्भीर देखिन्थे । करिब एक घण्टाको सुनुवाईपछि उनी अदालतबाट बाहिरिएका थिए ।

अदालतबाट बाहिरिनेवित्तिकै ट्रम्प फ्लोरिडा फर्किएका छन् । पूर्वराष्ट्रपति ट्रम्प अदालतबाट बाहिरिँदा उनका समर्थकहरूले उनमाथि लगाइएका अभियोग र मुद्दा देशको अपमान भएको टिप्पणी गरेका थिए । आफूमाथिको मुद्दा राजनीतिक रूपमा प्रेरित भएको भन्दै उनले न्यायाधीश र अभियोजकहरूको पनि आलोचना गरे । बिना प्रमाण आफूमाथि दोष लगाइएको दाबी उनको थियो । “अमेरिकामा यस्तो हुनसक्छ भन्ने मैले कहिल्यै कल्पना पनि गरेको थिइनँ । आगामी राष्ट्रपतीय चुनावलाई प्रभावित पार्न यो झुठा मुद्दा लगाइएको हो, यो तत्काल खारेज हुनुपर्छ,” ट्रम्पको भनाइ छ ।

ट्रम्पले आफूमाथि लगाइएको मुद्दाविरुद्धको आगामी अगष्टसम्ममा प्रस्ताव पेश गर्नुपर्नेछ । अदालतको अर्को सुनुवाई डिसेम्बरमा हुनेछ ।

पूर्वराष्ट्रपति ट्रम्पमाथि अरु मुद्दा पनि लाग्नसक्ने सम्भावना पनि छ । उनमाथि जर्जिया राज्यमा सन् २०२० को राष्ट्रपतीय निर्वाचनको नतिजामा हस्तक्षेपको प्रयास गरेको तथा अमेरिकी संसद्मा जनवरी ६ मा दङ्गा गराएको सम्बन्धमा पनि अनुसन्धान भइरहेको छ । साथै उनको फ्लोरिडास्थित घरमा फेला परेका गोप्य दस्तावेजलाई लिएर पनि थप मुद्दा लाग्नसक्ने बताइएको छ ।