एमालेको प्रश्न- ‘साझा न्यूनतम कार्यक्रम सदन बाहिर किन ?’

एमालेको प्रश्न- ‘साझा न्यूनतम कार्यक्रम सदन बाहिर किन ?’


प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले सरकारको साझा न्यूनतम कार्यक्रम संसद् अधिवेशन चालु रहेका बेला सदनबाहिर प्रस्तुत गर्ने कार्यले गम्भीर प्रश्न खडा गरेको प्रतिक्रिया दिएको छ ।

उक्त पार्टीका संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रधानमन्त्रीलगायत सरकार संसद्प्रति उत्तरदायी बन्ने सुन्दर लोकतान्त्रिक पक्षलाई बेवास्ता गर्दै सदन चलिरहेकै समयमा सदनबाहिर त्यस्ता कार्यक्रम प्रस्तुत गरिनु गम्भीर चिन्ताको विषय भएको टिप्पणी गरे ।

‘सरकारले के गऱ्यो भन्नेबारे प्रतिनिधिमूलक संस्था संसद्ले थाहा पाउनुपर्छ, सदन चलिरहेको छ, सरकारले बिजनेश दिन सकेको छैन, संसद्लाई बेवास्ता गरिएको छ, साझा कार्यक्रम संसद्ले थाहा पाउनुपर्ने होइन ? यस विषयमा सरकार चुकेको छ’, नेम्वाङले भनेका छन् ।

सरकारले न्यूनमत साझा कार्यक्रम प्रस्तुत गरेको विषय सञ्चारमाध्यमबाट थाहा पाएको बताउँदै उपनेता नेम्वाङले विसं २०६२/६३ को आन्दोलनपछि जनताले जनताका लागि पूर्णअधिकार सम्पन्न तुल्याउन भइरहेको संसदीय अभ्यासलाई छलेर गरिने यस्ता कार्यले लोकतन्त्रलाई बलियो तुल्याउन नसक्ने विचार प्रकट गरे ।

उजले भने, ‘सरकारले सदनको अबको पहिलो बैठकमै सदन बाहिर साझा कार्यक्रम प्रस्तुत गर्नुपर्नाको कारण र औचित्यबारे जानकारी गराउनुपर्छ, हामी त्यो माग गर्छौँ ।’

प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित विशेष समारोहलाई सम्बोधन संयुक्त सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रम सार्वजनिक गरेका थिए ।

सो अवसरमा प्रधानमन्त्री दाहालले सरकारमा रहेका पूर्ववर्ती दल र अन्यको धारणा समेटिएकाले सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रमलाई राष्ट्रिय सहमतिको दस्तावेजका रूपमा चित्रण गरे ।