विवादास्पद टेलिफोन संवादबारे सांसद श्रेष्ठलाई रास्वपाले सोध्यो स्पष्टीकरण

विवादास्पद टेलिफोन संवादबारे सांसद श्रेष्ठलाई रास्वपाले सोध्यो स्पष्टीकरण


राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीका तर्फबाट प्रतिनिधिसभा सदस्य डा. ढाकाकुमार श्रेष्ठलाई सञ्चारमाध्यममा सार्वजनिक भएको टेलिफोन संवादबारे २४ घण्टाभित्र स्पष्टीकरण दिन निर्देशन दिएको छ ।

प्रेस विज्ञप्ति जारी गर्दै पार्टीका महान्त्री एवं प्रवक्ता डा. मुकुल ढकालले छानबिन पूरा नभएसम्म सांसद श्रेष्ठलाई पार्टीको साधारण सदस्यका हैसियतमा काम नगर्न/नगराउन निर्देशन दिएको जानकारी दिएका हुन् ।

स्वास्थ्यमन्त्री बन्न पैसा दिनुपर्छ भन्ने संवादबारे छानबिन गर्न तीन दिनभित्र केन्द्रीय समितिमा प्रतिवेदन पेस गर्न पार्टीको केन्द्रीय अनुशासन तथा आचरण समितिलाई निर्देशन दिएको विज्ञप्तिमा जनाएइएको छ ।

ज्ञातव्य छ, स्वास्थ्यमन्त्री बन्न भन्दै रास्वपाका सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड सहयोग मागेको दाबी गरिएको अडियो सार्वजनिक भएको थियो । गत माघ १ गते भएको भनिएको दुर्गा प्रसाईंसँगको टेलिफोनवार्तामा रास्वपाले स्वास्थ्य मन्त्रालय पाउने र त्यसका लागि आफू छनोटमा परेको तर त्यसका लागि पार्टीलाई दुई करोड सहयोग गर्नुपर्ने प्रस्ताव आएको सांसद श्रेष्ठले प्रसाईंसँग भनेको सुन्न सकिन्छ ।