photo: rss
प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने प्रमुख तीन दलका शीर्षनेताको बैठक सभामुख देवराज घिमिरेको बालुवाटारस्थित निवासमा बिहान १०ः३० बजेबाट सुरु भइ जारी रहेको छ । बैठकमा प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सहभागी रहेका छन् ।
बैठकमा एमालेका प्रमुख सचेतक पदम गिरी, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, कांग्रेस सांसद ईश्वरी न्यौपाने, महान्यायाधिवक्ता दीनमणि पोखरेल र पूर्वमहान्यायाधिवक्ता रमेश बडालको पनि सहभागिता रहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
मुलुकको राजनीतिक परिवर्तनमा एकताबद्ध भएका प्रमुख राजनीतिक दल सङ्क्रमणकालीन न्यायको विषयलाई निष्कर्षमा पुऱ्याउने विषयमा पछिल्लो समय बैठकहरूमा जुटेका छन् ।
गत शनिबार सभामुख देवराज घिमिरेले तीन दलका शीर्षनेतासँग सदनलाई प्रभावकारी बनाउने विषयमा छलफल गरेका थिए भने आजको बैठकमा सङ्क्रमणकालीन न्यायको विषयमा छलफल सुरु भएको बताइएको छ ।
प्रतिक्रिया