माओवादीको संसदीय दलको विधान संशोधन गर्न पाँच सदस्यीय कार्यदल गठन

माओवादीको संसदीय दलको विधान संशोधन गर्न पाँच सदस्यीय कार्यदल गठन


photo: rss

नेकपा (माओवादी केन्द्र)ले संसदीय दलको विधान संशोधनका लागि कार्यदल बनाएको छ । माओवादी संसदीय दलका नेता एवं प्रधानमन्त्री प्रचण्डको अध्यक्षतामा आज सिंहदरबारमा बसेको संसदीय दलको बैठकले विधान संशोधनका लागि पाँच सदस्यीय कार्यदल गठन गरेको हो ।

सांसद राजन दाहालका अनुसार माओवादी संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेको संयोजकत्वमा कार्यदल गठन भएको हो । कार्यदलमा प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसद सदस्य छन् । कार्यदलको सदस्यमा प्रतिनिधिसभाबाट पूर्ण घर्तीमगर र बिमला सुवेदी तथा राष्ट्रियसभाबाट गङ्गा बेलबासे र जगप्रसाद शर्मा छन् ।

कार्यदलले विधान संशोधनका विषयमा प्रतिवेदन प्रस्तुत गर्ने र सोही प्रतिवेदनका आधारमा विधानलाई अन्तिमरुप दिइने बताइएको छ । आफ्नो रुचीअनुसारको संसदीय समिति छनोट गर्ने विषयमा पनि बैठकमा छलफल भएको थियो ।

बैठकमा प्रधानमन्त्री प्रचण्डले सरकार सञ्चालन, सरकारको गतिविधिका सम्बन्धमा जानकारी गराउनुका साथै अनुशाशित र मर्यादित ढङ्गबाट संसदमा प्रस्तुत हुने विषयमा निर्देशित गरेका थिए ।