जितनारायणलाई डबल धोका !

जितनारायणलाई डबल धोका !


चितवनमा काङ्ग्रेसको उम्मेदवार बनाइएका उर्जावान युवा नेता जितनारायण श्रेष्ठ दोहोरो धोकामा पर्ने स्थिति देखापरेको छ । काङ्ग्रेसभित्र एकताका माओवादीविरोधी नेताको छवि बनाएका श्रेष्ठलाई चितवनका माओवादी मतदाताले आफ्नो उम्मेदवारका रूपमा अहिलेसम्म स्वीकार गर्न सकेका छैनन् । त्यसैले माओवादीका एकथरी कार्यकर्ता रास्वपाको प्रचारमा जुटेका छन् भने केहीले बाध्यतावश जितनारयणसँगै देखापर्ने गरेका भएपनि भित्रभित्रै रास्वपालाई नै सघाउने गरेको पाइएको छ । धेरै कम मात्र माओवादी मत जितनारायणलाई मिल्ने स्थिति देखिएको छ ।

यसरी एकतिर सत्ता गठबन्धनकै साझेदार दलबाट श्रेष्ठले सहयोग पाइरहेका छैनन् भने अर्कोतिर काङ्ग्रेसकै रामचन्द्र पौडेल र कोइरालानिकट नेता-कार्यकर्ताले समेत जितनारायणलाई राम्ररी साथ दिइरहेका छैनन् । पौडेल-कोइराला समर्थकका निकटवर्तीहरू रास्वपाकै प्रचारमा जुटिरहेको अवस्था अहिलेसम्म कायम छ ।

गठबन्धनका साझेदार र पार्टीभित्रकै एउटा पक्षको हार्दिक साथ नपाएका कारण जितनारायणको स्थिति अपेक्षा गरिएजस्तो उकालो लाग्न सकेको छैन । श्रेष्ठले गत मङ्सिरको निर्वाचनमा उमेश श्रेष्ठले प्राप्त गरेको मतमा कम्तिमा आठ हजार मत अहिले नै बढाइसकेको अनुमान गरिन्छ । तर यसभन्दा अगाडि बढ्न सत्तासाझेदार दल माओवादी र काङ्ग्रेसको पौडेल–कोइराला पक्षको बलियो साथ सहयोग हुनुपर्ने देखिएको छ ।