जनताको सुख, दुःखमा सँगै हुने उम्मेदवार छान्न प्रकाशमान सिंहको आग्रह
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनताको सुख-दुःखमा सँगै हुने उम्मेदवार जनताले निर्वाचित गर्नुपर्ने बताएका छन् । कांग्रेस बन्दीपुर गाउँ कार्यसमितिले बन्दीपुर गाउँपालिका-४ मा आज आयोजना गरेको सभालाई सम्बोधन गर्दै उनले जनताले आफ्ना हरेक सुख-दुःखमा सँगै हुने उम्मेदवार खोजेको उल्लेख गरे ।
‘भाषण गर्ने तर गाउँठाउँ नबुझेको व्यक्ति अहिले जनताले चाहेका छैनन्, वैशाख १० गते हुने उपनिर्वाचनमा पक्कै पनि जनताले मूल्याङ्कन गर्नुहुनेछ’, नेता सिंहले भनेका छन् । हरेक पार्टीमा असन्तुष्टि भए पनि त्यसलाई अहिले थाँती राखेर चुनावमा एकढिक्का भएर अगाडि बढ्नुको विकल्प नरहेको उनको जिकिर छ ।
नेता सिंहले सत्ता गठबन्धनको उम्मेदवार जिताउन नसकिए सन्देश राम्रो नजाने उल्लेख गरे । गठबन्धन गरेर हामी चुनावमा गएका छौँ, गठबन्धनकै उम्मेदवारले नजिते नराम्रो सन्देश जान्छ भन्ने उनको भनाइ थियो ।
सोही कार्यक्रममा तनहुँ क्षेत्र नं १ का उम्मेदवार गोविन्द भट्टराईले आफ्नो उम्मेदवारी कसैका विरुद्ध नभइ तनहुँको विकासका लागि भएको बताए । गाउँको उन्नति र प्रगति अहिलेको आवश्यकता भएको भन्दै उनले आफू त्यसैमा केन्द्रित भएको जानकारी दिए ।
प्रतिक्रिया