जनमतसङ्ग्रह बन्दै उपनिर्वाचन !

जनमतसङ्ग्रह बन्दै उपनिर्वाचन !


तनहुँ, चितवन र बारामा हुँदै गरेको उपनिर्वाचन सबै पुराना दलहरूका निम्ति आफ्नो परीक्षणको आधार बन्ने देखिएको छ । खासगरी सत्ता गठबन्धनका दसमध्ये चार दलका निम्ति निर्वाचन प्रतिष्ठाको विषय बनेको छ ।

मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा बाराबाट जसपा, तनहुँबाट काङ्ग्रेस र चितवनबाट रास्वपाका उम्मेदवार विजयी बनेका थिए । तीनवटै निर्वाचन क्षेत्रमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले एक्लै भिडेको थियो । अहिले पनि एमाले कुनै अर्को दल या कुनै सङ्गठित धार्मिक समूहको साथबिना एक्लै मैदानमा उत्रिएको छ । बारामा जसपाको उम्मेदवार उपेन्द्र यादवलाई काङ्ग्रेस, माओवादी र एकीकृत समाजवादीले बलियो साथ दिएका छन् । उक्त क्षेत्रमा यादवहरूको बाहुल्य रहेकोले पनि उपेन्द्र यादवलाई परास्त गर्न सीके राउतबाट भइरहेको अथक प्रयास नै परास्त हुने विश्वास मतदाताहरूले गरेको पाइएको छ । त्यहाँ रैथाने उम्मेदवार अरुण ज्ञवाली पनि बलियो देखिएका छन् । उपेन्द्र यादवविरूद्धको सबै मत ज्ञवालीमा केन्द्रीत रहने हो भने चुनावी परिणाम बदलिन असम्भव छैन ।

काङ्ग्रेसको महासमिति सदस्यसम्म रहिसकेका अधिवक्ता अरुण यसअघिको निर्वाचनमा स्वतन्त्र भएर चुनाव लड्दा पनि करिव आठ हजार मत पाउन सफल भएका थिए । उपेन्द्र यादव ‘पर्यटक उम्मेदवार’ भएको र काङ्ग्रेससमर्थक मतदाताबीच लोकप्रिय हुन नसकेको यो स्थितिमा एमाले र जनमत पार्टीले चाह्यो भने उपेन्द्रलाई अरुण धेरै भारी पर्नसक्ने ठानिन्छ । गत निर्वाचनमा करिव डेढ सय मत ल्याएको रास्वपा नामक पार्टीले एक भूतपूर्व डीआईजीलाई आफ्नो उम्मेदवार बनाएको छ । पूर्व प्रहरी अधिकृत रमेश खरेलले गत मङ्सिरमा आफ्नै दल खोलेर काठमाडौं १ नम्बर क्षेत्रबाट उम्मेदवारी दिएका र, उनी एक्लैले झण्डै चार हजार मत ल्याएका थिए । तर बारामा खरेलले दुईहजार भन्दा बढी मत ल्याएभने त्यसैलाई ठूलो उपलब्धी मान्नुपर्ने स्थिति छ । चमत्कार भएको स्थितिमा मात्र उनी विजयको नजिक पुग्ने ठानिएको छ । बाराको अहिलेसम्मको स्थितिले उपेन्द्रलाई सूरक्षित देखाएको छ ।

त्यस्तै, तनहुँमा यसअघि काङ्ग्रेसका उम्मेदवार रामचन्द्र पौडेल विजयी बनेको र अहिले पनि माओवादी र एकीकृत समाजवादीले काङ्ग्रेस उम्मेदवार गोविन्द भट्टराईलाई जिताउन इमान्दारीका साथ लागिपरेकाले गोविन्द नै विजयी हुने विश्वास धेरैले गरेका छन् । तर गोविन्द जोशी समूहको समेत साथ प्राप्त गर्न नसकेमा परिणाम भिन्न हुने अनुमान पनि गर्न थालिएको छ । टिकट वितरण गरिनुभन्दा अघिल्लो दिनसम्म काङ्ग्रेसकै सदस्य रहेका ब्यक्ति अर्कै समूहको उम्मेदवार बनेर मैदानमा आएकोले काङ्ग्रेसको मत खण्डित हुने र त्यसले अनपेक्षित चुनावी परिणाम ल्याउने अनुमान र आशङ्का पनि गर्न थालिएको छ । काङ्ग्रेसको मत खण्डित भएको अवस्थामा एमालेको उम्मेदवारले लाभ उठाउने अनुमान स्थानीय स्तरमा हुन थालेको हो ।

एमालेले राम्रा मानिसलाई उम्मेदवार बनाएको भए यसपटक तनहुँमा सकारात्मक परिणाम आउने थियो भन्ने धेरैको भनाइ छ । एमालेले पूर्व प्रहरी सर्वेन्द्र खनाललाई उम्मेदवार बनाएको छ । पूर्व गृहसचिव पदम पोखरेलका ज्वाइँ तथा गिरिजाप्रसाद कोइरालाको किचन क्याबिनेटमा सदस्य रहेका सुविर खनालको भाइ भएका कारण सर्वेन्द्रले प्रहरी सङ्गठनमा सबैभन्दा ठूलो लाभ उठाउन सक्ने अधिकृतको परिचय बनाएका थिए । त्यसताका काङ्ग्रेसको मान्छे भनेर चिनिएका सर्वेन्द्र खनाल अवकाशपश्चात् एउटा अपहरण काण्डमा परेर निकै चर्चामा आएका थिए । किसान श्रेष्ठको ब्यवसायिक साझेदारका रूपमा चिनिएका र अमेरिकामा समेत बसोबासको ब्यवस्था मिलाएका खनाललाई एमालेले महत्व दिँदै आएको छ ।

त्यसैगरी, रास्वपाको उम्मेदवार बनेका स्वर्णिम वाग्लेलाई शेरबहादुर देउवाले योजना आयोगको उपाध्यक्ष बनाइदिएपछि नेपालीले चिनेका थिए । पार्टी र आन्दोलनमा कहिल्यै देखानपरेको भएपनि काङ्ग्रेसले मौका दिएका कारण उनी काङ्ग्रेसी नै भएको अनुमान आम मानिसले गरेका थिए । तर यसपटक राष्ट्रपतिको सल्लाहकार बन्न नदिएको र टिकटसमेत नदिएका कारण वाग्ले रास्वपाको उम्मेदवार बन्न पुगे । उनले काङ्ग्रेसको भोट राम्रैसँग काट्ने अनुमान गरिएको छ । संसारले सगरमाथाको देश नेपाल भनेर चिन्दै आएकोमा वाग्लेले आफू (स्वर्णिम वाग्ले) भएको देशमा सगरमाथा छ भनेर विदेशीले चिन्ने गरेको दाबी सार्वजनिक रूपमै गरेका छन् । एमसीसी परियोजना भित्र्याउन सर्वाधिक महत्वपूर्ण भूमिका निर्वाह गरेका वाग्लेका कारण तनहुँमा त्रिपक्षीय भिडन्तको स्थिति बन्न पुगेको छ । काङ्ग्रेसले उक्त क्षेत्रमा प्रजातान्त्रिक आन्दोलनमा लामो समयदेखि सक्रिय सहभागिता जनाउँदै आएका नेविसंघका पूर्वअध्यक्ष गोविन्द भट्टराईलाई उम्मेदवार बनाएको छ । प्रजातान्त्रिक आन्दोलनमा निरन्तर सक्रिय रहेर पनि अहिलेसम्म कुनै अवसर नपाएका युवा नेताका रूपमा गोविन्द भट्टराईको नाम लिइन्छ । माओवादी र एकीकृत समाजवादीले इमान्दारीका साथ सहयोग गरेमा भट्टराई सफल बन्ने विश्वास गरिएको छ ।

उता चितवनमा रास्वपा अध्यक्ष आफै पुनः उम्मेदवार बनेका छन् । काङ्ग्रेसले गतिशील युवा जितनारायण श्रेष्ठलाई र एमालेले युवा नेता राम न्यौपानेलाई उम्मेदवार बनाएको छ । रास्वपा अध्यक्षको साख पहिलेको भन्दा निकै घटेको भएपनि उनले चुनाव हार्ने स्थिति अहिलेसम्म बनेको देखिँदैन । पहिले रास्वपामा गएको आफ्नो भोट फर्काउने सफलता एमालेलाई मिलेको छ । पार्टीबाट खटाइएका नेता गोकुल बास्कोटाको सक्रियताले एमालेलाई एकीकृत गर्ने सफलता पाएको देखिन्छ । तर काङ्ग्रेस भने आफ्नो मत फर्काउन अहिलेसम्म सफल भइसकेको छैन । त्यस्तै, माओवादीले पनि जितनारायणलाई आफ्नो उम्मेदवार स्वीकार गर्न नसकेको अवस्था छ । जे होस्, यसपटक चितवनमा पहिलेको भन्दा परिस्थिति बदलिएर त्रिपक्षीय प्रतिष्पर्धाको अवस्था बनेको छ । रास्वपाले पहिलेको भन्दा कम्तिमा पन्ध्र हजार मत अहिले नै घटाइसकेको देखिन्छ । मत घटेकै कारण त्रिपक्षीय भिडन्तको स्थिति बनेको हो ।