प्रधानमन्त्री र सत्तारुढ गठबन्धनमा शीर्ष नेताबीच छलफल

प्रधानमन्त्री र सत्तारुढ गठबन्धनमा शीर्ष नेताबीच छलफल


file photo: rss

मन्त्रिपरिषद्लाई पूर्णता दिनेलगायतका विषयमा सत्तारुढ दलका शीर्ष नेताबीच शनिबार छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा मन्त्रिपरिषद् बिस्तार र उपनिर्वाचनका विषयमा कुराकानी भएको प्रधानमन्त्रीका प्रेस विज्ञ मनोहरि तिमिल्सिनाले जानकारी दिए ।

हाल प्रधानमन्त्री प्रचण्डसँग विभिन्न ६ वटा मन्त्रालयको समेत कार्यभार छ । तत्काल मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारीस्वरुप प्रधानमन्त्रीले सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँग छलफल गरेका हुन् ।

बैठकमा कांग्रेसका उपसभापति तथा उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का र महामन्त्री गगनकुमार थापा, नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसाललगायतको उपस्थिति रहेको प्रेसविज्ञ तिमिल्सिनाले जानकारी दिए । सो अवसरमा प्रधानमन्त्रीले मन्त्रिपरिषद्लाई पूर्णता दिन आग्रह गरेका थिए । सरकारको काम कारवाहीलाई प्रभावकारी बनाउनका लागि सरकारको पूर्णता जरुरी रहेको भन्दै प्रधानमन्त्रीले सत्तारुढ दलका शीर्ष नेतालाई आग्रह गरेका बुझिएको छ ।

कांग्रेसले थप मन्त्रीको नाम नदिँदा सरकारले पूर्णता प्राप्त गरेको छैन । कांग्रेसबाट थप चार मन्त्री र अन्य दललाई थप दुई मन्त्रालय दिएर सरकारलाई पूर्णता दिने तयारीमा प्रधानमन्त्री प्रचण्ड रहेका बताइएको छ ।