प्रधानमन्त्रीको झुठो घोषणा !

प्रधानमन्त्रीको झुठो घोषणा !


पूरा नहुने अभिव्यक्ति दिने मामिलामा नेपाली नेताहरू अग्रणी मानिन्छन् । त्यसमाथि प्रधानमन्त्री प्रचण्डले यस मामिलामा ‘विश्व रेकर्ड’ नै बनाउनुभएको ठानिन्छ । आफैले गर्ने मन्त्रिमण्डल बिस्तारबारे समेत प्रधानमन्त्रीले झुठो अभिव्यक्ति दिनुलाई चरम गैरजिम्मेवारीको रूपमा लिइएको छ ।

चैतको अन्तिम सातामा प्रचण्डले दुई दिनभित्र मन्त्रिमण्डललाई पूर्णता दिइने घोषणा गर्नुभएको थियो । अहिले बैशाखको पहिलो साता बितिसक्दा पनि उहाँको घोषणा कार्यान्वयन हुन सकेन । यसपटक प्राप्त मौकालाई उच्चतम सदुपयोग गर्न कटिबद्ध रहेको बताउने प्रचण्डले मन्त्रिमण्डल बिस्तारका बारेमा समेत झुठो बोल्नु भएपछि उहाँबाट अन्य प्रतिबद्धता कसरी पूरा होला भन्ने प्रश्न उठेको छ ।

उच्च श्रोतका अनुसार उपनिर्वाचनको परिणाम आइसकेपछि मात्र मन्त्रिमण्डललाई पूर्णता दिइने भएको छ । कतिपय उम्मेदवार रहेका ब्यक्तिलाई समेत मन्त्रिमण्डलमा सामेल गर्नुपर्ने अवस्था रहेको तर अहिले मन्त्री बनाइएका ब्यक्ति पराजित भएमा अप्ठ्यारो स्थिति उत्पन्न हुने भएकोले चुनावको परिणाम आइसकेपछि मात्र मन्त्रिमण्डललाई पूर्णता दिनु उपयुक्त हुने ठानिएको बताइन्छ । मन्त्रिमण्डलमा उपप्रधानमन्त्रीको हैसियतमा उपेन्द्र यादव सामेल हुने बुझिएको छ भने रास्वपालाई पनि सरकारमा समेट्ने योजना बनेको छ ।