बेल्जियममा सिलसिलेवार ठगी

बेल्जियममा सिलसिलेवार ठगी


पैसा लेनदेनमा सतर्कता अपनाउनु जरुरी

‘पैँचो, पर्म, सापटी, पाटी, पौवा, चौतारी, ढुकुरी, तमसूक जस्ता सामूहिक हितका तत्वहरू नेपालले मात्र सनातनमा पाएको हो । जहाँ गएपनि, जहाँ भए पनि यो सुन्दर मानवीय संस्कार हट्नु, हटाउनु हँदैन । तर यस्तो मौलिक र अलौकिक सुविधाको अनुचित फाइदा लिने, दुरूपयोग गर्नेहरूलाइ नङ्ग्याइहाल्नु पर्छ ।’
✍ डिल्ली अम्माई

पुँजीले विश्वलाई गतिशील बनाइरहेको वर्तमान अवस्थामा समुदायमा पैसाको प्रभाव निर्णायक हुनु स्वाभाविक हो । वर्तमान विनिमयको माध्याम बनेको यही पुँजी (तरल वा ठोस)का कारण मानवीय प्रतिष्पर्धा, सामाजिक मर्यादा र प्राकृतिक सन्तुलनको विवेकपूर्ण नियति गौण बन्दै गइरहेको देख्दा सामाजिक मानवलाई चिन्ता लाग्नु स्वाभाविकै हो ।

वित्तिय संसारमा एकातिर अवैधानिक रूपमा चलिरहेको वित्तिय बजारले कानुनी मर्यादालाई मिच्दै गइरहेको छ भने अर्कोतिर विश्वभरका कानुनी मौद्रिक निर्माताहरूले वित्तिय कारोबारलाई कानुनी दायरामा ल्याउने संघर्ष चलिरहेको छ ।

सरकारले मुद्रा जारी गर्दा अन्तर्राष्ट्रिय मापदण्डअनुसार धितो राख्नुपर्ने हुन्छ । तब मात्र उक्त मुद्रालाई अन्तर्राष्ट्रिय मान्यता प्राप्त हुन्छ । तर त्यसलाई चुनौती दिन कालोबजारिया/माफियाहरूले अवैधानिक तवरले कथित विद्युतीय मुद्रा निकाली कालोबजारी गरिरहेको समाचार आइरहेका छन् । बिट क्वाइन जस्ता मुद्राको लागि अन्तर्राष्ट्रिय मापदण्डअनुसार धितो राख्न नपर्ने हुँदा त्यसले विश्वब्यापी मान्यता पाउने कुराको कल्पना पनि गर्न सकिन्न । त्यसको लागि इलेक्ट्रो क्वाइनको खरिद-बिक्री गर्ने अवैधानिक संजाल वा नेटवर्क निर्माण गरेर कारोबार गरिन्छ । जसलाई कानुनी वित्तिय बजारमा मान्यता दिने कुरा हुँदैन । तर त्यो जान्दाजान्दै पनि माफियाहरूको स्वार्थमा कारोबार भइरहेको सुनिन्छ ।

अवैध कारोबार बढेपछि केही महिनाअघि नेपाल राष्ट्र बैंकले यस्ता भर्चुअल करेन्सी, हाइपर फण्ड, क्रिप्टो जस्ता अवैध कारोबारमा नलाग्न सार्वजनिक रूपमै आग्रह गरेको विदितै छ । अनलाइन सट्टेबाजी, नेटवर्किङ तथा भर्चुअल अवैध कारोबार पनि फरक प्रकृतिको ठगी हो ।

त्यस्तै, अर्को प्रकारको ठगीमा हुण्डी आउँछ । हुण्डीको कारोबारमा कोही पनि लिनेदिनेसँग जवाफदेही हुँदैन । त्यसमा दुवै पक्षलाई करछलीको मुद्दा आकर्षित हुने हुन्छ भने त्यो कारोबार कानुनी रूपमा संसारभर अपराध मानिएको छ । अहिले हुण्डीलाई अन्तर्राष्ट्रिय आतंकवादी संघ-संस्थालाई पश्रय दिएको मानी आतंकवादी कानुन पनि आकर्षित हुने देखिन्छ । त्यसैले हुण्डीमार्फत गरिने आर्थिक कारोबार वैश्विक आर्थिक संसारमा जधन्य अपराध मानिएको छ ।

अब अर्को कुरा नेपाली समाजमा विशेष चर्चामा आइरहन्छ, त्यो हो ढुकुटी, अर्थात् अवैधानिक सहकारी र निश्चित समूह बनाएर गरिने आर्थिक लेनदेन । त्यस प्रकारका कारोबारहरू पनि गैह्रकानुनी कारोबार हुन् र श्रोत र प्रमाणविहीन त्यस्ता आर्थिक कारोबार गर्ने र गराउने दुवै पक्ष कानुनको नजरमा दण्डनीय छन् । वित्तिय सँस्थामार्फत नगरिएका त्यस्ता कारोबारहरूको कानुनी रूपमा उपचार हुने सम्भावना हुँदैन ।

तर कारोबार गर्दा सामाजिक र कानुनी रूपले मान्य हुने गरी सम्झौता गरिएको प्रमाण छ, बैंकमार्फत पैसा पठाएको प्रमाण, भौचर वा बिल छ भने कानुनी रूपमा उपचार पाउने सम्भावना रहन्छ । यसमा कारोबार गर्नेको सचेतता नै निर्णायक हुने कुरामा कसैले शङ्का गरिरहनु पर्दैन ।

ब्याज वा फाइदाको लालच देखाएर गरिने ठगी, निकटता दर्शाएर उपहार ल्याइ गरिने ठगी, सापटी मागेर र समूह बनाएर गरिने ठगीमा जोगिन सजिलो छ । समूह र ढुकुटी अस्विकार गर्दा मात्र पनि हामी ठगीनबाट जोगिन्छौँ । सापटी दिँदा कागज बनाएर कारोबार गर्ने वा बैंकमार्फत कारोबार गर्दा आफूसँग प्रमाण हुन्छ । चिठ्ठी, वा मेलबाट विभिन्न नाउँमा ठगीने सम्भावनाबाट बच्न अलिक बढी गम्भीर हुनुपर्छ । बैंकको पासवोर्ड गोप्य राख्नुपर्छ भने कारोबार गर्दा अरुले सकभर थाहा नपाउने गरी पिनकोर्ड प्रयोग गर्नुपर्छ । सहयोग गर्दा भरपर्दो श्रोतबाहेक ब्याक्तिले उठाएको चन्दा दिनु हुँदैन । यी ठगीबाट बच्ने सामान्य कुरा भए ।

बेल्जियमतिरका ठगी प्रकरणका प्रतिनिधि घटनाबारे :

ठगी पनि थरिथरिका छन् बेल्जियमतिर । एक मित्र भन्दै थिए, ‘एनआरएनएसम्बद्ध एक प्रतिष्ठित रेस्टुरेन्ट व्यापारीले मेरो दोकानबाट उनको सुसीको लागि उधारोमा माछा लगे, मैले पनि विश्वासले दिएँ । पैसा माग्ने बेलामा फोन पनि उठाउँदैनन् । लौन कसो गर्ने होला ?’ हामीले त उधारोमा सामान नदिनुस् भन्ने हो, विश्वास नतोड्नुस्, सबै कुरो किनेर पाइन्छ तर मित्रको विश्वास किनेर पाइँदैन भन्ने हो । लिगल कारोबार गरेको भए कानुनले न्याय दिन्छ । पत्रकारले सचेतसम्म गराउने मात्र न हो !

बेल्जियममा महिला समूह बनाएर सोझा महिला भड्काउने, परिवारमा कारोबारबारे नभन्नु भनेर लबिङ गर्ने र पैसा खाइदिने, मिलेर बसेका घर घरमा झगडा गराइदिने समुहहरू पनि सक्रिय देखिएका छन् । धेरै महिला उनीहरूबाट लुटिएर डिप्रेशनमा गएका समाचारहरू आएका छन् । शान्त परिवारमा घरझगडा सल्काएर उपद्रो मच्चाउने यस्ता निर्दयी लुटेरा बचाउने पनि गिरोह नै हुँदोरहेछ । हालसालै उनीहरूमध्येकी एक महिलाले मिटर ब्याज, समूह र ढुकुटीको लालचमा लाखौँ युरो लुटेको आरोप खेपेकी छन् । अझै कहिले समुहको नाममा गैह्रकानुनी आर्थिक धन्दा चलाइरहेका छन् भनिन्छ र तीमध्ये केहीले आगामी दिनमा सोझा नेपालीहरूलाई ठगेका समाचार पुनः सुन्न पाइने छ ।

त्यस सन्दर्भमा, एउटा पत्रकारले भन्ने कुरा के मात्र हो भने ‘ढुकुटी वा समुहको कारोबार बन्द गर्नुहोस्, लगानी समयमै फिर्ता माग्नुस्, लिगल रूपमा कारोबार गर्नुहोस् । लेनदेनको प्रमाण बनाउनुहोस् तथा अनावश्यक तनावबाट आफू बचेर परिवारलाई पनि बचाउनुहोस् ।’

बेल्जियममा यो ठगीको स्थिति यति भयानक छ कि कुनैपनि बेला अप्रिय घटना हुन सक्छ, यस्ता घटनाले भोलि मानिस सुसाइडमा पनि जान सक्छ ।

सम्पूर्ण नेपालीहरूलाई धुर्त ठगहरूबाट सचेत गराउने क्रममा नेपाल पत्रकार महासंघ बेल्जियम शाखाका अध्यक्ष ओम शर्माले केही दिनअघि सामाजिक संजाल फेसबुकमा एक स्टाटस लेख्नुपरेको थियो । त्यो स्टाटसमा पीडित र अन्य नेपालीहरूबाट विभिन्न प्रकारका प्रतिक्रियाहरू आइरहेका छन् । उहाँको वालमा सम्प्रेषण गरेको सचेतना, सूचना र केही प्रतिनिधिमुलक प्रतिक्रियालाई तल राखेर संक्षिप्त विश्लेषण गरिएको छ ।

हालसालैको ठगीबारे पत्रकार ओम शर्माको टिप्पणी :

‘बेल्जियममा स्थापित हुँदै गरेका नेपाली समुदायका संघ-संस्था, तीन दशकदेखि आपवासीका रूपमा हामी र यहाँ हुर्किंदै गरेको नयाँ पुस्ताको संघर्ष र सफलताका कथाहरू प्रेरक छन्, हरेकलाई सुन्दर क्षितिज र उज्वल भविष्य देखाएका छन्, गर्दै जाँदा भएका केही कमी कमजोरीले पनि सकारात्मक भविष्यका लागि पाठ सिकाएका छन्, तर केही ब्यावसायिक आवरणमा सोझा-सिधा मानिसलाई लोभ देखाएर नेपालीले नेपाली ठग्ने प्रवृत्तिका बारेमा चाहिँ सचेत हुन जरुरी देखिएको छ । युरोपमा नगद र ढुकुटी कारोबारलाई कानुनले चिन्दैन, कानुनविपरीत काम गर्दा धेरै नेपाली ठगिएका छन् । ढुकुटी र समुहका नाममा भएका केही अवैधानिक कारोबारले धेरैको घरबार बिगारेको, केही मानिस डिप्रेसनमा गएको, पारिवारिक र मानसिक पीडाबाट गुज्रिनु परेको विकराल समस्या देखिएको छ, एन्टवेरपेन शहरमा मात्र पछिल्लो समय ढुकुटी र समुह बनाएर महिलाहरूले गरेको कारोबार बिग्रिँदा १०० जना ब्यक्तिको करिब २० लाख युरो (अठ्ठाइस करोड नेपाली रूपैयाँ) हिनामिना भएको छ, सार्वजनिक नभएको रकम अझ धेरै छ । हरेक ब्यक्ति, परिवारमा कलह, अशान्ति ल्याउने कारक यस्ता गतिविधि नियन्त्रणका लागि सामुहिक पहल आवश्यक देखिएको छ, सामाजिक संघ संस्था र अगुवाहरूले पहल गरौँ । (ओम शर्माको संजालबाट)

बेल्जियममा नेपाली समाज भर्खरै-भर्खरै बन्दै थियो । सामाजिक गतिविधि हुँदै थिए । त्यतिबेलै सुदामको ढुकुटीकाण्डले बेल्जियममा बेइज्जत कमायो । सुदाम लम्साललगायत केही आफूलाई टाठाबाठा हौँ भन्ने कथित समाजसेवीको ठगीकाण्डले त्यो बेला बेल्जियमको नेपाली समाज लाजले निहुरिनुपऱ्यो ।

पुराना ठगीकाण्डबाट शिक्षा लिनु त कता हो कता अहिले बेल्जियममा सिल्सिलेवार रूपले ठगीका घटना दोहोरिइरहेका छन् । पत्रकारहरूले त्यस्ता घटना नदोहोरिउन् भनेर लेखेकोलेख्यै छन् । तर नेपालीले युरोपका अति विकसित देशमा बसेर पनि यस्ता गैह्रकानुनी धन्दा चलाइरहेका छन् । ठगिने र ठग्नेहरूको पनि कमी छैन । जति भने पनि आफूलाई नपरी चेत्दैन भनेझैँ पत्रकारका सूचनामा उनीहरूले ध्यान नै दिँदैनन् । अझ ठगहरूले ‘कारोबारको बारेमा घरमा नभन्नु है नानी’ भनेर उकासिरहेका तथ्यले स्थितिको गहनतालाई पीडित पक्षले बुझ्नुपर्ने हो । अहिले अवैधानिक रूपमा ठुलो कारोबार गर्नेहरूको रुवाबासी चलेको छ । ठगहरूबाट बच्ने शिक्षा लिन उनीहरूले महँगो फिस तिर्नुपरेको छ । अचेल पङ्क्तिकारलाई ‘गहिरो झट्काविना चेतना आउँदैन’ भनेको साँचो रहेछ जस्तो लाग्न थालेको छ ।

समुदायबाट आएका प्रतिनिधिमुलक प्रतिक्रियाहरू :

‘यही समाजमा रहँदै बस्दा गर्दा विश्वासकै आधारमा चल्ने हो, त्यहीअनुसार ढुकुटी पनि खेलियो, आपतविपत परेको बेला कहिलेकाहीँ आफूले पनि अरुको सहयोग लिइयो होला, त्यहीअनुसार विश्वासकै आधारमा सरसापटी पनि दिइयो । नगद सापटी पनि दिइयो, तर के थाहा आफूले विश्वास गरेको मान्छे बेइमान ठग नैतिकतहीन रहेछ भन्ने ! आन्त्रोपेनमा हामी धेरैभन्दा धेरै महिला दिदीबहिनीहरू महिलाहरूबाटै ठगिएका छौँ, लुटिएका छौँ । अब त्यस्ता लुटेराको जमातहरूलाई, ठगहरूलाई यो समाजमा उभ्याएर दुनियाको सामु चिनाउनैपर्छ, ता कि फेरि अरु नठगिउन् । त्यस्ता ठगहरूलाई कानुनी कठघरामा उभ्याउन तपाईं–हामी सबै मिलेर के गर्न सकिन्छ, बहसको विषय बनाउनै पर्छ ।’ (‘नेपाली मिलन केन्द्र, युरोप’की अध्यक्ष सुशीला आचार्यको प्रतिक्रिया) ।

प्रतिक्रियाबाट नै थाहा हुन्छ कि आचार्य पनि ठगीनेमध्येकी हुन् भनेर । उनीहरू आफूलाई परेपछि एकजुट भएर छलफल चलाउने र ठगदिदीलाई सार्वजनिक गर्ने तयारीमा छन् भन्ने बुझिन्छ । यी सिरियल ठगीको अन्तिम इपिसोडमा उनि मात्र हैन सयौँ महिलाहरू छन् । अझै केही दिदी र दाइहरूले खेलाउँदै गरेका गैह्रकानुनी समूह र ढुकुटीहरू छन् । उनीहरू पनि ठग्नेहरूको लाइनमा पालो कुरेर बसेका छन् । उनीहरूले ’केही हुँदैन, आत्तिन पर्दैन’ भनेर खेल्नेहरूलाई आश्वस्त पार्न खोजे पनि यी कानुनलाई चुनौती दिने काला धन्दाहरूको खेल गीता, पुजाको जस्तै हो, दाइ !’ अर्को दिदीको समुहमा पैसा फिर्ता माग्दै गरेकी एक दिदीले नाम नबताउने शर्तमा पङ्क्तिकारलाई भनिन् ।

‘पैँचो, पर्म, सापटी, पाटी, पौवा, चौतारी, ढुकुरी, तमसूक जस्ता सामूहिक हितका तत्वहरू नेपालले मात्र सनातनमा पाएको हो । जहाँ गएपनि, जहाँ भए पनि यो सुन्दर मानवीय संस्कार हट्नु, हटाउनु हँदैन । तर यस्तो मौलिक र अलौकिक सुविधाको अनुचित फाइदा लिने, दुरूपयोग गर्नेहरूलाइ नङ्ग्याइहाल्नु पर्छ ।’ (जनसम्पर्क समितिका पूर्व अध्यक्ष इन्द्र पकवान क्षेत्री को भनाइ)

यस्ता काण्डमा यहाँका सामाजिक र राजनैतिक संघ-संस्थाकै अध्यक्ष र पदाधिकारीहरू समेतले नेतृत्व गरेको हुनाले समस्या छ । यहाँ अवैधानिक रूपले लाखौँको जुवा र तास खेलिन्छ, सदाबहार जुवाडेहरूमा पनि एक पटक सामाजिक नेतृत्व गरेकाहरू नै बढी देखिन्छन् । कसैले बानी सुधार्ने अर्ती दियो भने रिसाउँछन् ।

वैधानिक समाजको राज चलेको युरोपमा विकृति र अपराध भित्र्याउने हामीहरूले ठुला कुरा गर्न छोड्दैनौँ । इन्द्र गुरुले विश्वासको दुरूपयोग गर्नेलाई ‘नङ्ग्याइहाल्नु पर्छ’ भनेर आवेगपूर्ण सुझाव त दिनुभएको छ, तर वैधानिक राजमा पत्रकारका पनि आफ्ना सिमा हुन्छन, समुदाय वा व्याक्तिका पनि कतिसम्म जाँदा मानहानी वा गोपनियताको मान्यता क्रस हुँदैन सोच्नुपर्ने बाध्यता हुन्छन् । त्यसैले आरोप लागेका जो–कोहीले पीडितको पैसा यथासक्य फिर्ता गर्दा र छलफलको लागि सहज उपलब्ध हुँदा नै समाजमा उहाँहरूको प्रतिष्ठा बाँच्ने हुन्छ । सकभर बाँचौँ र बचाउँ, आफूजस्तै दिदीबहिनी र दाइभाइको विश्वासको सम्मान गरौँ । अझै पनि हाम्रो एकमात्र भनाइ यही हो ।

नन्दु घलेले आफ्नो प्रतिक्रियामा लेखेका छन्, ‘ओम शर्माजी, तपाईंजस्ता पत्रकारहरूले नामसहित सार्वजनिक गरिदिनु प¥यो, जसले गर्दा त्यस्ता बदमासी ब्यक्तिहरूबाट अझ अरु कोही ठगीन नपरोस् ।’
यसमा पनि कुरा उही आउँछ । नाम सार्वजनिक गर्ने काम पीडितको हो, सूचना दिने र सचेत गराउने काम पत्रकारको ।

‘सही विषयको उठान भएको छ, यी र यस्ता अवैधानिक आर्थिक गतिविधिलाई निरुत्साहित गर्न र पेसेवर ठगहरूलाइ कानुनी दायरामा ल्याउन पनि बेल्जियमवासी सचेत नेपाली समुदायको पहल रहोस् र सर्वसाधरणमा सचेतता पनि जाओस् भन्ने कामना गर्दछु ।’ उपरोक्त भनाइ तुङ्गा निरौलाको हो ।

‘नेपाली समाजको गम्भीर रोगहरू उजागर गर्नुभयो, द्रव्यपिचासहरूलाई रोक्नुपर्छ । ‘पेम्बा गेल्बु शेर्पा जसले यो प्रतिक्रिया दिनुभयो, यसमा पीडितको आकाङ्क्षा मात्र नभएर समुदाय कता जाँदै छ भनेर चिन्ता गरिएको छ । उहाँ स्वयम् एनआरएनए बेल्जियमको पूर्वअध्यक्ष भएकोले ‘द्रव्यपिचासहरूलाई रोक्न के गर्नुपर्ला ? भनिदिनु होला । पत्रकारले के आफ्नो धर्म समुदायको शुरुवातीकालबाटै निभाएका हैनन् र ? हामी हमेसा सबै पीडितहरूलाई सचेत गराउने काममा सक्रिय छौँ ।

‘दाइले सही लेख्नुभयो यसमा अझ नेपाली ठग्ने नयाँ धन्दा पनि लेख्नुभएको भए गज्जब हुन्थ्यो । स्पेन, पोर्तुगलबाट सोझासाझा नेपालीलाई पाँच वर्षको कन्ट्र्याक्ट दिने भन्दै बेल्जियम लेराउने र आफ्नो काम स्वार्थ पूरा भएपछि कार्ड रिन्यू हुनबाट बञ्चित गरी जताबाट आको उतै डिपोर्ट गरिदिने खेलो पनि चलिरहेको नै छ । अझ ढाकछोप गर्नेको तादात पनि उस्तै रहेछ । बेल्जियम एनआरएनए भन्ने संस्था सुतेर बस्ने रहेछ । यस्तै घटनाले हालै एउटा परिवार बेल्जियमबाट उठिबास भएर स्पेन पुग्नु परेको छ ।’ – बेल्जियमको ब्ल्याकनवर्गमा बस्ने एआर रहीम सरको माथिको प्रतिक्रियाले ठगीको अर्को आँखीझ्यालबाट फरक दृश्य देखाइरहेको छ ।

एक एनआरएनएकै प्रतिनिधिले कसैलाई अर्को देशबाट परिवारसहित काममा बोलाउनु, कामदारलाई एक वर्षको भिषा लगाउनु, अर्को वर्ष सोसल डोमिनो नभरी काम गराउनु, त्यही बीचमा रेष्टुरेन्ट कन्ट्रोलमा पर्नु, कामदारले लिगल रूपमा काम नगरेकोले क्लोज क्याम्पमा पुग्नु, पोर्चुगलवाला कामदार डिपोर्ट भएर पोर्तुगल पुग्नु, अर्को दुई महिना बेल्जियम बस्ने अनुमति भएकोले एक हप्तामा जेलबाट निस्कनु, पुनः काममा राखेर अन्तमा परिवारसहित स्पेन फिर्ता हुने बाध्यात्मक अवस्थाको सृजना हुनुले के बताउँछ ? यो दृश्य राम्रो हो वा नराम्रो ? हाम्रो विवेक, हाम्रो समाजसेवा, बालअधिकार, मानव र श्रम अधिकारको हिसाबले यो के कस्तो दृश्य हो ? उनीहरूले कानुनी उपचार खोजेको भए थाहा पाइन्थ्यो यो कस्तो दृश्य थियो ! उनीहरू डिपोर्ट भए, कानुनी लण्ठादेखि डराए ।

यस्ता र श्रम अपराधका फरक खाले अन्य अवैधानिक घटनाहरू पनि हाम्रा ब्यवशायका भित्तापछाडि भए/गरेका त छैनन् ? नेपाली समाजले पनि ख्याल गरि बेलैमा कानुनी उपचार खोज्नु आवश्यक हुन्छ । बेल्जियमलगायत युरोपमा करार उलंघनको पनि सख्त दण्डको कानुनी ब्यवस्था छ । कानुनदेखि नतर्सौं ! कानुन हाम्रो सहयोग र न्यायको लागि बनेको हो ।

पङ्क्तिकारले पहिल्यैदेखि भन्दै र पुष्टि हुँदै आएको कुरा यो हो कि एनआरएनए दुःखीको संस्था भन्दा ब्यवसायीको संस्था बढी हो । साथ दिने कसले ? कसैले साथ देओस्, सत्यको पक्षमा कसैले लेखोस् वा बोलोस् भन्ने आशा त सबैलाई हुन्छ नि । तर कसैले बोलेन, लेखेन र साथ पनि दिएन भन्ने पीडितको स्वाभाविक गुनासो छ । यसमा अर्को पक्षको पनि आफ्नै तर्क होला । तर धन्दा मान्नु पर्दैन, कानुनले सबै पीडितलाई निर्धक्क साथ दिन्छ ।

पहिला-पहिला साथ दिने नेपाली थिए । अहिले समाजमा पनि अराजक तन्त्र आएको छ । उहाँको जवाफ ओम शर्मा वा रहिम सरको स्टाटसमा भन्दा पीडितको वेदना, बगेको आँशु र आलो घाउभित्र होला, भेटेर उतै सोधौँ, मैले जे-जसरी लेख्नुपर्ने हो ‘आप्रवासी आँगनभित्रका आँशु’मा लेखेको छु । बेल्जियमका कुनै घटना ठगी र राम्रा कार्य सबै कुराहरूको किताव आउँदै छ । प्रतीक्षा गर्नुहोला ।

ठगीको असर र कार्वाहीबारे चर्चा परिचर्चा :

बेल्जियममा भएका केही पुराना ठगीहरूको बारेमा धेरै कुराहरू मिडियामा आइसकेका छन् । सुदामको ढुकुटी काण्ड, नेट वर्किङ ठगी, नेपालको भुकम्प गएको बेलाको ठगी, नेपालमा बिरामी परेका कलाकारलाई उठाएको पैसामा लुटका कुराहरू पनि विगतमा चर्चामा आए । अनि बिट क्वाइन र नेट वर्किङ, साइप्रस र माल्टादेखि पोर्तुगलसम्म मानवतस्करी, एनआरएनएभित्र आइएलओ प्रकरणले निरन्तर प्रवासको नेपाली समाज हुँडलिरह्यो । तर सुन्नेले कान थुने, थुक्नेले बाटोभरि थुके । ठगीको प्रवाह मत्थर हुँदै चल्दै गरिरह्यो ।

बेल्जियममा पैसा सापटी लिनेले फिर्ता नदिए के हुन्छ कारवाही ?

समूह, ढुकुटी, बिट क्वाइन, नेटवर्किङ बिजनेस जस्ता अवैधानिक कारोबार बन्द गर्नुपर्नेमा एउटै ब्याक्ति पटक–पटक ठगिएका उदेकलाग्दा घटनाले नेपाली समाजमा विवेक हराउँदै गरेको सङ्केत दिन थालेको देखिन्छ । यस्ता ठगीका घटना हेर्दा हाम्रो नियतले नेपालीको चेतना स्तरलाई मात्र चुनौती मात्र दिएको छैन कि बेल्जियमको कानुनलाई नै चुनौती दिइरहेको देखिन्छ ।

यस्ता घटना सार्वजनिक हुँदा दिने लिने दुवै पक्षलाई कारवाही हुने खतरा रहन्छ । श्रोत नखुलेको आम्दानीबाट अवैध रूपमा ब्याज लिने ब्यक्ति आम्दानीकरको फन्दामा परेर जेलसम्म जानसक्ने खतरा रहन्छ । त्यस्ता उदाहरण धेरै छन् बेल्जियममा ।

बेल्जियमको मुलुकी ऐनअनुसार कानुनी उपचारबारे :

यदि प्रमाणसहित कारोबार गरिएको छ भने ठगीको विरुद्ध वकिल लगाएर मुद्धा हाल्न सकिन्छ । एक वकील वा अन्य कानुनी सल्लाहकारले ठगिनेलाई उसको अवस्थाको बारेमा सल्लाह दिन, मुद्धाको लागि कागजातहरू तयार गर्न र सुनुवाइको लागि बोलेर सहयोग गर्दछन् ।

तर सोझै मुद्धा हाल्दा ठगिने वा फस्ने खतरा रहन्छ किनकि न्यायपालिकाका न्यायाधीशहरू र अन्य सरकारी वकिलहरू निष्पक्ष र स्वतन्त्र हुन्छन् । उनीहरूले केवल आर्थिक श्रोतका कानुनी आधारहरूलाई मात्र महत्व दिन्छन् । तिनीहरूले ठगिनेलाई मात्र सूचित गर्न सक्छन्, तर न्यायिक सन्तुलनको कारण दुवै पक्षलाई जित्ने हार्ने सल्लाह दिँदैनन् । त्यसैले प्राइभेट वा सहयोगी संस्थाका वकिलले मात्र त्यस्तो बेला उपयुक्त सल्लाह दिन्छन् ।

भ्रष्टाचार, ठगी र छल पहिचान गर्न सधैं सजिलो छैन । तैपनि भरपर्दो तथ्यहरू र ठगीको प्रकृति हेरेर ठग विशेषज्ञहरूले दुवैबीचको भिन्नता पत्ता लगाउन सक्छन् ।

आफ्नो पैसा फिर्ता मागेको इमेल वा पत्रहरू ठगिनेले अदालतको लागि प्रमाणको रूपमा राख्नुपर्छ । यदि छ भने सम्बन्धित ब्यक्तिले ठगिनेको पत्र वा इमेलको प्रतिउत्तर पनि निवेदनसाथ पेश गर्दा प्रमाण बलियो बन्दछ । पत्र नखोली फिर्ता आयो भने पनि त्यसलाई पत्र नखोली अदालतमा बुझाउनुपर्छ । पत्र संकलन नगर्नु वा नबुझ्नु अर्को पक्षको आफ्नै जिम्मेवारी हो । यदि दर्ता गरिएको पत्र फिर्ता भयो भने, तपाईंले दोस्रो पत्र पठाउनु हुँदैन । प्रमाणको लागि भएपनि पीडितले सम्बन्धित पक्षलाई आफ्नो दाबी रकम र म्याद उल्लेख गरि रजिष्ट्री पत्र पठाउनु उपयुक्त हुन्छ ।

आखिर, पठाएको पत्रले बहसमा (उदाहरणका लागि अदालतमा) तपाईंले ठ्याक्कै के पठाउनुभयो भन्ने उत्तम प्रमाण तपाईंसँग हुनेछ । तपाईंले न्यायाधीशलाई पत्र खोल्न लगाउन सक्नुहुन्छ ताकि उनले पत्रको सही सामग्री के थियो भनेर देख्न सकून्, जुन बेल्जियमको लेनदेन कानुनसम्बन्धी धारा ६६०, सिविल कोडमा राखिएको छ ।

त्यस्तै, श्रम विवादको घटनामा, हामीले कानुनी सल्लाह प्राप्त पनि पाउने ब्यवस्था छ, संलग्न पक्षहरूबीच वार्ता र मिलाप गर्न सकिने ब्यवस्था पनि प्रबन्ध गरिएको छ र कुरो नमिलेमा, श्रम अदालतमा कार्यवाही सुरु हुने ब्याबस्था छ । श्रम विवादको हकमा, हामी रोजगारी सम्झौता, कामको नियमावली, बर्खास्तगी, विच्छेद तलब, सूचना अवधि, समय क्रेडिट वा अभिभावक बिदा, काममा धम्की, इन्टरनेटको प्रयोग, काममा क्यामेरा, दुर्घटनासम्बन्धी मुद्दाहरूको बारेमा पनि हामीले उपचार पाउने निकायहरू छन् । काममा, पेशागत रोग, नक्कली स्वरोजगार, यौनउत्पीडन, सुरक्षा नियमहरू, भेदभाव आदि भएमा हामीले तुरुन्त सम्बन्धित निकायमा वा रोजगार वकिलहरूलाई उजुरी दर्ता गराउनुपर्छ । त्यो ब्यवस्था पनि अदालतले सुरक्षित राखेको छ ।

रोजगार वकिलहरूले दोहोरो वार्तालापमार्फत मिलापपूर्ण समाधानलाई प्राथमिकता दिन्छन् । यदि यो प्रक्रिया जटिलतामा पुग्यो भने श्रम अदालतहरूमा मुद्धा दर्ता गरि बहस पैरवीमा लैजान्छन् । किनकि उनीहरूलाई यी अदालतहरूको नजीर र फैसलाको नतिजाबारे अनुमान हुन्छ । त्यसकारण तिनीहरूले पीडितलाई नतिजाको सम्भावनाबारे पूर्वानुमान दिन सक्छन् ।

उदाहरणका लागि (रोजगार अनुबंध, बोनस योजनाहरू, उप-कन्ट्र्याक्टिङ अनुबन्ध, व्यवस्थापन सम्झौताहरू आदि)को समीक्षा गरी एक वकीलले रोजगार कानूनमा निवारक सल्लाह पनि प्रदान गर्न सक्छ ।

कालो धनमा बानी परेकाहरूलाई गद्दामुनि एक मिलियन यूरो राख्न पाए मन औधि रमाउँछ, तर त्यो ब्यापारी कुनै ठुलो चिज खरिद गर्ने बेलामा श्रोत नखुलेको धनका कारण समातिने जोखिम उच्च हुन्छ । पैसाको बहाव जति जटिल हुन्छ, पैसा कहाँबाट आउँछ भनेर प्रमाणित गर्न त्यति नै गाह्रो हुन्छ । आफूले थाहा पाउनुअघि नै त्यो ब्यापारी वा ठग जेलमा पर्ने सम्भावना अधिक रहन्छ ।

यसरी जेल पर्नेमा माफिया, मालिक र मनीलन्ड्ररर लगायत धेरै अहिले पनि बेल्जियमको जेलमा छन् । पीडित भनेर मुद्धा दिएका तर आम्दानीको श्रोत पुष्टि गर्न नसक्ने ब्यापारीहरू पनि कर छलीको लागि जेलमा रहेका छन् ।

नियमन :

बेल्जियमले क्रिप्टो सिक्काको नियमनमा नयाँ कदम चालेको छ- यो कथित इलेक्ट्रो करेन्सीले मनी लान्ड्रिङ र आतंकवादी वित्तिय आपूर्ति गरेकोले यसको प्रयोगमा प्रतिबन्ध लगाउने सम्बन्धमा १८ सेप्टेम्बर २०१७ को ऐन, बीएस ६ अक्टोबर २०१७, ९०.८३९ को आदेशले स्पष्ट व्याख्या गरेको छ ।

छैठौँ एन्टिमनी लन्ड्रिङ निर्देशनले स्पष्ट रूपमा यस्ता कार्यमा संलग्नता, उत्तेजित कार्य र मनी लन्ड्रिङ अपराध गर्ने जोसुकैलाई कठोर कारवाही गर्ने जनाएको छ । त्यस्तै, सापटी लेनदेनको सन्दर्भमा सर्वप्रथम पैसाको कसरी लेनदेन भयो भन्ने कुरा आउँछ । लिखत गरेर पैसा लिएको छ भने लिखत प्रमाण लिएर अदालतमा गएपछि अदालतले पैसा फिर्ता दिलाउँछ । चेकको माध्यमबाट पैसा लिएको छ तर फिर्ता आएन भने बैंकिङ कसुरको मुद्दाको जाहेरी लिएर प्रहरीकोमा जाने वा चेक अनादरको मुद्दा लिएर अदालतमा जान पनि सकिन्छ ।

अनलाइन माध्यमबाट पैसाको कारोबार भएको हो भने त्यसको नगदको रसिद, भरपाइको बिल लिएर प्रमाणस्वरूप पेश गर्न सकिन्छ । अदालतले मुद्दाको प्रक्रिया हेरेर अदालतले थप कारवाही अगाडि बढाउँछ ।

हुण्डी कारोबार पनि बेल्जियममा जधन्य अपराध हो । आर्थिक अपराधअन्तर्गत बेल्जियममा पन्ध्र वर्षपहिले नै मनी लन्ड्रिङ कानूनको नियमनकारी कानुन बनेको थियो । उदाहरणका लागि, बेल्जिक नागरिक कानुन संहिता (मुलुकी ऐन)को धारा ५०५ को पाठमा ७ अप्रिल १९९५ को ऐन अन्तर्गत सह-अपराधी र संलग्नतालाई स्पष्ट रूपमा दण्डनीय बताएको छ । आर्थिक अपराधी, सह-अपराधी वा सहयोगीद्वारा अपराध गरिएको हो वा होइन भन्ने कुरामा स्पष्ट व्याख्या उक्त कानुनले गरेको छ ।

लेनदेन कारोबारमा आउने समस्याबाट जोगिने मुख्य कुरा भनेको प्रमाण राख्नु हो । त्यसकारण कुनै पनि किसिमको श्रोत खुलेको नगद पैसा लेनदेनको कार्य गर्दैछौँ भने अनिवार्य रूपमा लिखित गर्नुपर्छ । लिखित प्रमाण नभएमा करोडौँको लेनदेन भए पनि फिर्ता आउने सम्भावना एकदमै कम हुन्छ । अर्को तरिका भनेको बैंकको माध्यमबाट लेनदेनको काम गर्नुपर्छ । अथवा अनलाइनको माध्यमबाट कारोबार गर्नुपर्छ । साथै, त्यसको प्रमाणको रूपमा स्क्रिनसट वा भरपाइको रसिद वा कुनै किसिमको प्रमाण आफूसित राखिराख्नु पर्छ ।

ठगी प्रकरणका केही प्रतिनिधि प्रवृत्ति र प्रकृति :

विश्वभर मान्छेहरू कसरी ठगिन्छन् ? त्यसका केही प्रतिनिधिमुलक घटनाहरू पङ्क्तिकारले संकलन गरेको छ । त्यसबाट केही उदाहरणहरूको तुलना गरेर हेरौँ, २०७६ साल भाइवर, इमो, ह्वाट्सएप, फेसबुकका माध्यमबाट चिठ्ठा परेको, पार्सल आएको छ भन्दै ठगी गर्ने गिरोहलाई महानगरीय अपराध महाशाखाको विशेष अनुसन्धान टोलीले पक्राउ गरेको थियो । पक्राउ पर्नेमा दोलखाका ५२ वर्षीय रमेश खड्का, नवलपरासीका ३७ वर्षीय विशेश्वरप्रसाद तिवारी र सोही ठाउँका सन्दीप कलवार रहेका थिए । पक्राउ परेका उनीहरूको सम्बन्ध नाइजेरियन नागरिक पिटर हेर्मन र बेलायती स्मिथ मोरिससँग रहेको प्रहरीले खुलासा गरेको थियो ।

त्यस्तै अर्को प्रतिनिधि घटनामा, वैदेशिक रोजगारीमा मृत्यु भएकाको परिवारलाई ठगी गर्ने गिरोह पक्राउ, काठमाडौंको गोंगबुका रामबहादुर तामाङसहित ६ जना रहेको समाचार आएको छ । पक्राउ पर्ने अन्यमा एक सरकारी कर्मचारीसहित सर्लाहीका विनोदकुमार लामा, डिकबहादुर मल्ल, रविन भन्ने रविन्द्र मोक्तान, प्रकाशबहादुर गोले र रुद्रमान गोले रहेका छन् । पक्राउ परेकाहरूबाट नागरिकता, राहदानी, मृत्यु दर्ता लगायतका कागजात बरामद भएको प्रहरीले जनाएको छ । बीमा रकममा ठगी गर्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । (चिन्तन खबर, चैत्र २४, २०७९ शुक्रबार),

त्यस्तै, सहकारीमार्फत भएको ठगीमा, गुल्मीको कालिगण्डकी गाउँपालिका-४ पूर्तिघाटमा रहेको साधना लुघुवित्त वित्तीय संस्थाको शाखा कार्यालयमा कार्यरत दुई कर्मचारीहरूले दुई सयभन्दा बढी सदस्यहरूको एक करोडभन्दा बढी रकम ठगी गरेको उजुरी दर्ता भएको छ ।

नापतौलमार्फत उपभोक्ता ठगीमा, व्यापारीले खाद्यान्न, तरकारी माछामासु ढुङ्गाको ढकमा तौलेर बेचि उपभोक्ता ठगिएका समाचारहरू पनि हामीले सुने/भोगेकै छौँ ।

श्रोत : बेल्जियममा सम्पत्ति शुद्धिकरणविरोधी निर्देशन, बेल्जियमको मुलुकी ऐन तथा विभिन्न पत्रपत्रिका

[1] Art. 4 6e anti-witwasrichtlijn

[2] De mededader werkt rechtstreeks mee aan het misdrijf en wordt gestraft zoals de da[1] Art. 4 6e anti-witwasrichtlijn

[3] De medeplichtige verschaft nuttige hulp bij het misdrijf en zal een lichtere straf krijgen dan de dader zelf (art. 67 Sw.)

[4] Art. 7 en 8 6e anti-witwasrichtlijn

[5] Art. 7.3 6e anti-witwasrichtlijn

[6] Art. 5 Sw.

[7] Onder voorbehoud van de mogelijkheid van feitelijke of materiële en morele toerekening

[8] Art. 7.3 6e anti-witwasrichtlijn

[9] R. VERSTRAETEN en F. VERBRUGGEN, Strafrecht en strafprocesrecht voor bachelors, Antwerpen, Intersentia, 2020, 49.der zelf (art. 66 Sw.)

यो पनि हेर्नुहोस् :