तनहुँ-१ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको परिणाम सार्वजनिक भएको छ । उक्त निर्वाचन क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्ले भारी मतान्तरका साथ विजयी भएका छन् । आज बिहान सम्पन्न मतगणनाअनुसार उनले ३४ हजार नौ सय ११ मत प्राप्त गरेका छन् ।
डा. वाग्लेको प्रतिस्पर्धी नेपाली कांग्रेसका गोविन्द भट्टराईले २० हजार एक सय २२ मत प्राप्त गरे भने नेकपा (एमाले)का सर्वेन्द्र खनालले आठ हजार चार सय ८८ मत प्राप्त गरेका सहायक निर्वाचन अधिृकत मीनबहादुर कुँवरले जानकारी दिएका छन् ।
यसैगरी राप्रपाका शोभा गुरुङले दुई सय १८, नागरिक उन्मुक्ति पार्टीका भीमबहादुर सुनारले ९९, नेमकिपाका रामप्रसाद प्रजापतिले ३१, नेकपा समाजवादीका गणेश श्रेष्ठले पाँच, मङ्गोल नेशनल अर्गनाइजेशनका प्रेमबहादुर थापाले एक सय ६६ र राष्ट्रिय जनमुक्तिका पूर्णबहादुर रानाले ८७ मत प्राप्त गरेका छन् ।
निर्वाचनमा ६५ हजार तीन सय १६ मत खसेकामा ६४ हजार एक सय ३५ मत सदर भएको थियो भने एक हजार एक सय ८१ मत बदर भएको थियो ।
तनहुँ-१ का प्रतिनिधिसभा सदस्य नेपाली कांग्रेसका रामचन्द्र पौडेल राष्ट्रपति पदमा निर्वाचित भएपछि रिक्त यो स्थानमा आइतबार निर्वाचन भएको थियो । तनहुँ क्षेत्र नम्बर १ अन्तर्गत ४२ वडामा ६३ हजार सात सय ५७ मत खसेको थियो ।
प्रतिक्रिया