‘यो चुनावमा केही पाएनौँ, केही पनि गुमाएनौँ’ : उपमहासचिव रिमाल

‘यो चुनावमा केही पाएनौँ, केही पनि गुमाएनौँ’ : उपमहासचिव रिमाल


  • विकास रौनियार, धादिङ

नेकपा (एमाले) का उपमहासचिव विष्णु रिमालले एमाले सरकार बनाउने र ढाल्ने खेलमा नलाग्ने बताएका छन् । पार्टीले सञ्चालन गरेको ‘मिसन ग्रासरुट’ कार्यक्रमको समापनका लागि धादिङ आएका उपमहासचिव रिमालले प्रेस चौतारी धादिङले आयोजना गरेको पत्रकार भेटघाटमा एमाले जिम्मेवार प्रतिपक्ष बनेर खबरदारी गर्ने धारणा राखे ।

देश गम्भीर आर्थिक संकटउन्मुुख रहेकाले अर्थतन्त्र संकटमा पर्न नदिनका लागि एमालेले जिम्मेवार भूमिका खेल्ने उल्लेख गर्दै उपमहासचिव रिमालले अहिलेको सरकार आफ्ना दलगत स्वार्थ व्यवस्थापनमा केन्द्रित भएकाले प्रमुख प्रतिपक्षको रुपमा एमालेले खबरदारी जारी राख्ने जनाए ।

देशको हितमा काम गर्नका लागि एमाले आवश्यक भएको भन्दै उनँले संसदीय चुनावमै एमालेले अर्थतन्त्र सुधारका लागि अवधारणा बनाएर सार्वजनिक गरेको स्मरण गरे । एमालेको नेतृत्वमा एक वर्षमा देशका सबै परिसूचकहरु सुधार्ने गरी स्थायित्वको प्रयास गरेको भए पनि नेकपा (माओवादी केन्द्र)को अस्थिर निर्णयका कारण सम्भव नभएको उनको भनाइ छ ।

एमालेले देशको नेतृत्व गरेर एक वर्षमा आर्थिकसँगै सबै सूचकहरुमा सकारात्मक दिशा दिने अवधारणासहित चुनावमा गएको र चुनावलगत्तै त्यसको प्रयासमा तुलनात्मक रुपमा सानो दललाई प्रधानमन्त्री बनाएको रिमालले स्पष्ट पारे । तर, प्रधानमन्त्री प्रचण्डले अस्थिर चरित्र फेरि देखाएर देशलाई गलत दिशा दिनेतर्फ अग्रसर भएको बताए ।

अहिलेको उपनिर्वाचनमा आएको चुनावी नतिजाले देशलाई नीतिगत तथा राजनीतिक प्रभाव पार्ने अवस्था नरहेको बताउँदै चितवन, तनहुँ र बारामा भएको उपनिर्वाचनमा एमालेले केही नपाए पनि केही गुमाउन नपरेको नेता रिमालको भनाइ छ । ‘यो चुनावी नतिजाले एमालेलाई फरक पर्दैन । हामी प्लस, माइनस शून्यमा छौँ, यो नतिजाले देशको राजनीतिलाई खास असर गर्दैन । हामीले यो चुनावमा केही पाएनौँ, केही गुमाएनौँ पनि’, उनले भने ।

सो अवसरमा नेकपा एमालेका नेता पुष्प कँडेल, पूर्वसांसद् भूमि त्रिपाठीलगायतको उपस्थिति थियो ।