किन पछि सर्दैछ प्रधानमन्त्रीको भारत भ्रमण ?

किन पछि सर्दैछ प्रधानमन्त्रीको भारत भ्रमण ?


प्रधानमन्त्री बनेलगत्तै भारत भ्रमण गर्ने प्रचण्डको इच्छा पूरा हुन विलम्ब भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको समय ब्यवस्थापन गर्न मुस्किल परेका कारण प्रचण्डको भारत भ्रमण हुन नसकेको बताइएको छ ।

गत पौषमा प्रधानमन्त्री बनेका प्रचण्ड विश्वासको मत लिनुअघि नै केपीसँग गठबन्धन गर्नुपर्ने बाध्यात्मक स्थितिबारे स्पष्ट गर्दै भारतको विश्वास आर्जन गर्न चाहन्थे । तर सरकार गठन भएलगत्तै उत्पन्न असमझदारीका कारण त्यसबेला प्रचण्डले भारत भ्रमण गर्ने कार्यलाई प्राथमिकतामा राख्न सकेनन् । सत्ता गठबन्धन बदलिएपछि नेपाल र भारतबीचको सम्पर्क-सम्बन्धमा केही सहजता पैदा भयो र, दोस्रोपटक विश्वासको मत लिनेबित्तिकै भारत जाने मन प्रचण्डले बनाएका थिए । तर त्यसपछि पनि भ्रमणको मिति तय हुन सकेन । अन्ततः यही बैशाखको तेस्रो साताभित्र भारतको भ्रमण गर्नेगरी प्रचण्डले आन्तरिक तयारी गरेका थिए ।

उता भारतीय प्रधानमन्त्रीको कार्य ब्यस्तताका कारण बैशाखमा पनि भ्रमण नहुने भएको छ । अब जेठको दोस्रो या तेस्रो सातामा भारत जान सकिने विश्वासमा प्रचण्ड रहेका छन् । तर त्यसपछि भारतको कर्नाटक राज्यमा निर्वाचन हुँदैछ र, भारतीय प्रधानमन्त्री मोदीका निम्ति उक्त निर्वाचन प्राथमिकताको विषय बन्न पुगेको छ । त्यसैले कर्नाटकको निर्वाचन भन्दाअगाडि प्रचण्डलाई दिल्लीमा निम्त्याएर सत्कार गरिनेमा शङ्का छ । यस स्थितिमा प्रचण्डको भारत भ्रमण कहिले हुने भन्ने यकीन हुन सकेको छैन ।

भारतले प्रचण्डको भ्रमणलाई ज्यादा महत्व दिन नखोजेको अर्थ कुटनीतिका जानकारहरूको निष्कर्ष छ । भारतबाहेक अन्य मुलुकको भ्रमण गर्ने स्थिति र मनस्थितिमा प्रचण्ड छैनन्, तर भारतले पनि भ्रमणका निम्ति समय ब्यवस्थापन गर्न नसक्दा प्रचण्ड अन्यौलमा परेका छन् । कतै भारतीय पक्षले आफूमाथि विश्वास नगरेकाले यो स्थिति उत्पन्न भएको त होइन भन्ने शङ्कासमेत प्रचण्डमा उत्पन्न भएको बताइन्छ । भारत भ्रमण हुनुअगावै सरकार परिवर्तनको खेल सुरु हुने हो कि भन्ने चिन्ताले प्रचण्डलाई पिरोल्न थालेको छ ।

यसरी एकातिर प्रचण्ड भारतको भ्रमण गर्न नपाएर चिन्तित भइरहेका बेला नेपालमा पुनः सत्ता गठबन्धन बदलिने भन्ने चर्चा-परिचर्चा सुरु भएका छन् । काङ्ग्रेस र एमालेबीच गठबन्धन बन्ने र, शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाइने भन्ने चर्चाले प्रचण्डलाई थप चिन्तित बनाएको बुझिन्छ । राजनीतिक स्थिरता र ‘ऐंजेरुसमूह’हरूको चुरिफुरी समाप्त गर्न पनि केपी ओली तत्काल काङ्ग्रेस-एमाले गठबन्धनको सरकार बनाउने पक्षमा रहेको बताइन्छ । यसबीचमा शेरबहादुर देउवा र केपी ओलीबीच पटक-पटक भएका सम्वादका क्रममा पनि सरकार परिवर्तनको विषयलाई केपीले उठाएको बताइन्छ ।

अन्तर्राष्ट्रिय राजनीति सङ्क्रमणकालिन अवस्थाबाट गुज्रिएको र, कुनै पनि बेला परिस्थितिले कोल्टे फेर्ने अवस्था रहेको हुँदा त्यसको सिधा असर आफैलाई पर्ने हो कि भन्ने चिन्ता पनि प्रचण्डमै थपिएको छ । बाहिरबाट हेर्दा वर्तमान सरकारले निरन्तरता पाउने देखिए पनि भित्रभित्रै भइरहेका खेलहरूले प्रचण्ड नेतृत्वको सरकारको निरन्तरतामा शङ्का बढाएको छ । जबसम्म आफ्नो भारत भ्रमण हुनेछैन, तबसम्म प्रचण्ड ढुक्क हुने अवस्थामा रहने छैनन् । यसरी भारत भ्रमण विलम्ब हुनुलाई प्रचण्डले अर्थपूर्ण ठानेका छन् र, कतै भारत अर्कै खेलमा लाग्ने त होइन भन्दै प्रचण्ड सशङ्कित भएका छन् ।