सकसमा प्रधानमन्त्री

सकसमा प्रधानमन्त्री


केपी ओलीलाई छोडेर काङ्ग्रेससँग मिलेपछि सरकारले स्थायित्व पाउँछ भन्ने विश्वासमा रहेका प्रचण्ड चौतर्फी दबाबका कारण सकसमा पर्नुभएको छ । रास्वपालाई सरकारमा सामेल गराउन अदृष्य शक्ति केन्द्रबाट दबाब आइरहदा काङ्ग्रेस र आफ्नै पार्टीका नेताहरूले रास्वपालाई सरकारमा सामेल नगर्न दबाब दिएपछि प्रचण्ड अप्ठ्यारोमा पर्नुभएको हो ।

यसअघि अदृष्य शक्तिकै दबाबमा रास्वपा अध्यक्षमाथि दोहोरो राहदानी प्रयोगसम्बन्धी मुद्दा नचलाउने निर्णय प्रचण्डले लिनुभएको थियो । प्रचण्डकै आदेशमा महान्यायाधिवक्ताले मुद्दा नचल्ने निर्णय गरेको थियो । त्यतिबेला पनि प्रचण्डले काङ्ग्रेस र उहाँकै पार्टीका नेताहरूको खप्की खानुपरेको थियो । अहिले रास्वपालाई सरकारमा सहभागी गराउने नगराउने विषयमा पनि प्रचण्ड दोहोरो दबाबको चेपुवामा पर्नुभएको छ ।

रास्वपाले गृह मन्त्रालयमा दाबी गरेकोमा प्रचण्ड सकारात्मक बनेपछि वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई मानमर्दन गर्न खोजिएको भन्दै प्रचण्डप्रति आलोचनात्मक टिप्पणी भएको थियो । त्यसैले मङ्गलबार (१९ बैशाख) माओवादी पार्टीका पदाधिकारीहरूको बैठक राखी प्रचण्डले उक्त विषयमा छलफल गर्नुभएको थियो । पदाधिकारी बैठकले सत्ता गठबन्धनका दलहरूबीच तत्काल सम्वाद गरी गठबन्धनलाई अझै कसिलो बनाउने बारेमा पनि छलफल गरेको बुझिएको छ ।

रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको अवस्थामा पुनः विश्वासको मत लिनुपर्ने या नपर्ने भन्ने विषयमा बैठकले कुनै निर्णय लिएको छैन । प्राप्त जानकारीअनुसार मागेका मन्त्रालय नदिएको निहुँ बनाएर रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लिने र, विश्वासको मत लिने क्रममा माधव नेपालका दसमध्ये पाँच, जसपाका एघार, जनमतका ६ र, नागरिक उन्मूक्तिका कम्तिमा दुई सांसदलाई अनुपस्थित गराएर प्रचण्ड सरकारलाई ढालिदिने योजना बनेको सूचना पाएकोले पनि प्रधानमन्त्री प्रचण्डको सकस बढेको बुझिएको छ ।