प्रधानमन्त्री बनेपछि पहिलो भ्रमण भारतमा गरेर मात्र अन्य देशको यात्रामा निस्कने योजनामा रहनुभएका प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणको मिति सर्दै गएपछि छट्पटिनु भएको छ ।
२०६५ सालमा पहिलोपटक प्रधानमन्त्री बनेका बेला आफूले पहिलो भ्रमण भारतमा नगरेर चीनमा गर्नुको परिणाम नराम्रोसँग भोगेको ठान्नुहुने प्रचण्डले यसपटक भारत नगएसम्म कतै नजाने मानसिकता बनाउनुभएको छ । पहिलो भ्रमण भारतमा गर्ने भनेर नै प्रचण्डले पूर्वनिर्धारित कतार भ्रमणसमेत रद्द गरेर प्रतिनिधि पठाउनुभएको थियो । उहाँ चीन जान निकै हतारिनुभएको छ, तर भारत नगइ चीन जाने पक्षमा प्रचण्ड हुनुहुन्न ।
उता भारतले भने प्रचण्डको परीक्षा लिने शैलीमा भ्रमण पछि सार्दै लगेको छ । यही बैशाखमा हुने भनिएको भ्रमण अब जेठमा गर्ने बताइएको त छ, तर अहिलेसम्म मिति निश्चित गरिएको छैन । एक सूत्रले जनाएअनुसार जेठमा पनि प्रचण्डलाई नयाँ दिल्लीमा स्वागत गरिने छैन । नेपालले कुनै लोकेन्द्र कार्की नामक ब्यापारीमार्फत चीनबाट ल्याउन लागेको सैन्य सामाग्रीको ठेक्का रद्द नगरेसम्म प्रचण्डको भारत भ्रमण हुन नसक्ने एकथरी विश्लेषकहरूको भनाइ छ ।
भारतले दिल्लीमा स्वागत गर्न आलटाल गरिरहेमा कतै प्रचण्ड ‘क्रान्तिकारी झोक’ निकाल्दै चीन पुग्ने हुन् कि भन्ने आशङ्का पनि गर्न थालिएको छ । कदाचित प्रचण्डले त्यसो गर्नुभएमा उहाँको सरकारले तत्काल बिदा पाउने सम्भावना रहनेछ । त्यसैले चीन जान जतिसुकै हतार भएपनि प्रचण्ड भारतलाई पर्खन बाध्य हुनुभएको छ । यही पर्खाइ नै प्रचण्डका निम्ति पीडा र छटपटीको कारण बन्न पुगेको छ ।
प्रतिक्रिया