रास्वपाप्रति काङ्ग्रेस कठोर !

रास्वपाप्रति काङ्ग्रेस कठोर !


पश्चिमा शक्तिको आडमा अघि बढ्दै गरेको रास्वपालाई काङ्ग्रेस नेतृत्वले आफ्नो बाटोको काँडा ठानेको छ । उपनिर्वाचनलगत्तै रास्वपासँग वार्ता गरेर प्रधानमन्त्री प्रचण्डले बनाउन खोजेको समझदारीप्रति काङ्ग्रेसले आपत्ति जनाएको छ ।

गत आइतबार रास्वपाका अगुवाहरूलाई बोलाएर प्रचण्डले सरकारमा सहभागी भइदिन आग्रह गरेको र, उनीहरूले गृहसहित पहिले पाएका मन्त्रालयहरू पाउनुपर्ने शर्त राख्दा प्रचण्ड त्यसप्रति सकारात्मक रहेको सन्देश सार्वजनिक भएलगत्तै काङ्ग्रेसले त्यसप्रति आपत्ति जनाएको छ । स्वयम् शेरबहादुर देउवाले प्रचण्डसहित अन्य माओवादी नेताहरूलाई सम्पर्क गरी गृहसहित महत्वपूर्ण मन्त्रालय दिएर रास्वपालाई सरकारमा सामेल गर्न आवश्यक नभएको स्पष्ट गरिदिनुभएको थियो ।

एक सूत्रले जनाएअनुसार काङ्ग्रेस रास्वपालाई सरकारभन्दा बाहिर राखेर जाने पक्षमा रहेको छ । रास्वपालाई सरकारमा सामेल गरेर जाँदा उक्त दलका नेताहरूको साख गिर्ने र जनतामा उनीहरूप्रति वितृष्णा बढ्ने भनाइ सत्तापक्षीय एकथरी नेताहरूको भएपनि काङ्ग्रेस त्यस्तो कुरामा सहमत देखिँदैन । सरकारमै सामेल गरिएपनि रास्वपावालाले स्टण्ट गरेर जनतालाई गुमराहमा पार्ने बुझाइ काङ्ग्रेस नेताहरूको छ । त्यसैले रास्वपालाई सरकारमा महत्वपूर्ण मन्त्रालय दिने सोचका विरुद्ध काङ्ग्रेस दृढतापूर्वक उभिएको छ र, त्यसो नगर्न गत सोमबार नै शेरबहादुर देउवाले प्रचण्डलाई चेतावनी दिनुभएको बताइएको छ ।