भित्रभित्रै सरकार बदल्ने खेल ! काङ्ग्रेस, माओवादी र भारतलाई चित पार्ने योजना

भित्रभित्रै सरकार बदल्ने खेल ! काङ्ग्रेस, माओवादी र भारतलाई चित पार्ने योजना


रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लिने या नलिने विषयको निर्णय लिन विलम्ब गर्नुको कारण प्रचण्डसँग बार्गेनिङ गरेर कमाउदार मन्त्रालय लिनका निम्ति मात्र नभइ सरकारकै नेतृत्व उछिट्ट्याउन सकिने आशा भएको बुझिएको छ ।

संसदीय निर्वाचनपश्चात् प्रचण्डको नेतृत्वमा सरकार गठन भएको चार महिना बित्दानबित्दै पुनः सत्ता परिवर्तनको खेल सुरु भएको छ । नयाँ खेल काङ्ग्रेस, माओवादी र छिमेकी मित्रराष्ट्र भारतलाई झट्का दिने परिणामतर्फ केन्द्रीत रहेको छ । र, एमाले नेता केपी शर्मा ओली यसपटक निकै सचेततापूर्बक सत्तापरिवर्तनको गणीतीय खेलमा लागिपर्नुभएको छ ।

यस क्रममा उहाँ पर्दापछाडि बसेर राप्रपा र रास्वपालाई अघि सार्दै हुनुहुन्छ । काङ्ग्रेस र माओवादीलाई अलग्याउन एकतिर बेग्लै कार्ययोजना बनेको देखिँदैछ भने अर्कोतिर रास्वपालाई सरकारको नेतृत्व दिएर भएपनि सत्ता बदल्ने गृहकार्य चलिरहेको छ । एकापट्टी शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाएर काङ्ग्रेस-एमाले गठबन्धन कस्ने सन्देश प्रवाह भइरहेको छ भने अर्कोतिर उल्लिखित दुवै दलहरू बाहिर पार्नेगरी १३८ सांसद जुटाउने अभ्यास सुरु भएको छ ।

एमालेको ७८, रास्वपाको २१, जसपाको ११, राप्रपाको १४, नागरिक उन्मूक्तिको ४, एकीकृत समाजवादीका कम्तिमा ५, जनमतका ६ र, केही स्वतन्त्र सांसदलाई मिलाएर रास्वपाको नेतृत्वमा नयाँ गठबन्धनको सरकार गठन गर्ने प्रयास भएको हो । यसकार्यमा ओली प्रकट रूपमा देखानपरेर राप्रपा र रास्वपाका केही नेताहरूलाई अघि सारिएको छ । रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लिने या नलिने विषयको निर्णय लिन विलम्ब गर्नुको कारण प्रचण्डसँग बार्गेनिङ गरेर कमाउदार मन्त्रालय लिनका निम्ति मात्र नभइ सरकारकै नेतृत्व उछिट्ट्याउन सकिने आशा भएको बुझिएको छ ।

रास्वपालाई भारतविरोधि र इसाईमैत्री (पश्चिमा) समूहका रूपमा लिइन्छ भने राप्रपालाई पनि ओलीको स्याटलाइट पार्टीका रूपमा हेरिन्छ । पछिल्लो समयमा भारत र अमेरिकाबीच घट्दो न्यानोपन र बढ्दो चिसोपनको लाभ उठाउने प्रयास नेपाली राजनीतिका खेलाडीहरूबाट भइरहेको बुझिन्छ । आगामी बजेट प्रस्तुत हुनुभन्दा अगाडि नै परिणाम आउनेगरी सत्ता बदल्न भएको प्रयासमा सरकारको नेतृत्व रास्वपालाई दिँदा अमेरिकी साथ मिल्ने विश्वास नयाँ खेलका खेलाडीहरूले गरेका छन् । कदाचित यसरी १३८ सांसद जुटाउन नसकिएमा गगन थापालाई प्रधानमन्त्री बनाइदिने प्रलोभनसहित काङ्ग्रेस विभाजन गरेर भएपनि माओवादी, काङ्ग्रेस र भारतलाई नयाँ गठबन्धन बनाएर ‘देखाइदिने’ उत्साह राजनीतिक खेलाडीहरूमा पाइएको छ ।

सत्ता परिवर्तनको यही सम्भावनालाई दृष्टिगत गरी प्रधानमन्त्री प्रचण्डले रास्वपालाई मागेको मन्त्रालय दिएर भएपनि सरकारमा सामेल गराउन खोज्नुभएको बुझिन्छ । तर रास्वपा भने अहिले सरकारमा लाभकारी मन्त्रालय लिएर सामेल हुन पुगेपनि प्रधानमन्त्री पाउने अवस्था आएमा प्रचण्ड र देउवालाई सजिलै छोडिदिने मानसिकतामा रहेको छ । उक्त समूह एकसाथ दुवै रणनीतिक खेलमा (सरकारको नेतृत्व लिने या लाभकारी मन्त्रालयहरू लिएर प्रचण्ड सरकारमा सामेल हुने) सामेल भएको पाइएको छ । उता नेपाली काङ्ग्रेस रास्वपालाई महत्व नदिने पक्षमा रहेकोले प्रचण्ड अप्ठ्यारोमा परेका छन् । रास्वपाबिना पनि सरकार आरामले चल्नसक्ने विश्वास र बुझाइ काङ्ग्रेस नेतृत्वको छ । तर केपी ओलीले पछिल्लो समय गरिरहेको प्रयास भने काङ्ग्रेसको ८८, माओवादीको ३२ र लोसपाको ४ गरी कुल १२४ सांसद सङ्ख्यामा सीमित गरिदिनेतर्फ लक्षित रहेको छ । रास्वपाले विश्वासको मत फिर्ता लिएपनि सरकारको पक्षमा कुल १४७ सांसद रहनेछन् ।