प्रधानमन्त्री प्रचण्ड नेतृत्वको मन्त्रिमण्डलमा तीन जना मन्त्री थपिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको सिफारिसमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीमा धनराज गुरुङ, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीमा मोहनबहादुर बस्नेत र युवा तथा खेलकुदमन्त्रीमा डिगबहादुर लिम्बुलाई नियुक्त गरेका हुन् ।
गत पुस ११ गते गठित मौजुदा मन्त्रीपरिषदमा नेपालको संविधानअनुसार प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले बस्नेत, गुरुङ र लिम्बुलाई नियुक्त गरी कार्यभार तोकिएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
बस्नेतलाई पुनः स्वास्थ्य मन्त्रालय सम्हाल्ने अवसर
सिन्धुपाल्चोकका जनताको सेवा गर्दागर्दै राज्यमन्त्री एवं मन्त्रीको जिम्मेवारी पाएका मोहनबहादुर बस्नेतलाई पुनः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय सम्हाल्ने जिम्मेवारी प्राप्त भएको छ ।
विसं २०१५ भदौ २७ जन्मिएका बस्नेतले प्रारम्भिक शिक्षा सिन्धुपाल्चोकमै लिएका थिए । उनले त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा एमए गरेका छन् । नेपाली कांग्रेसको प्रतिनिधित्व गर्दै विसं २०५६ र २०६८ को आम निर्वाचनमा सिन्धुपाल्चोक–१ बाट प्रतिनिधिसभा र दोस्रो संविधानसभा सदस्यको रूपमा निर्वाचित भएका थिए ।
मन्त्री बस्नेत २०७० सालमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको चौथो मन्त्रिपरिषद् सूचना तथा सञ्चारमन्त्रीका रूपमा जिम्मेवारी सम्हालिसकेका छन् । साथै, २०५६ मा प्रधानमन्त्री देउवाकै नेतृत्वको सरकारमा स्वास्थ्य राज्यमन्त्रीको रुपमा जिम्मेवारी निर्वाह गरेका थिए ।
नवनियुक्त मन्त्री बस्नेत विगत लामो समयदेखि सामाजिक, राजनीतिक, शैक्षिकलगायतका विभिन्न कार्यमा संलग्न छन् ।
प्रतिक्रिया