‘भ्रष्टाचारी र आर्थिक अनियमिततामा जोडिएकालाई नछाडिने’ माओवादी बैठकको निर्णय

‘भ्रष्टाचारी र आर्थिक अनियमिततामा जोडिएकालाई नछाडिने’ माओवादी बैठकको निर्णय


file photo

प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले भ्रष्टाचार र आर्थिक अनियमिततामा जोडिएका कोही कसैलाई पनि नछाडिने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको पार्टी पदाधिकारीको अनौपचारिक बैठकमा उनले नक्कली शरणार्थी प्रकरणमा जोडिएका कोही कसैले पनि उन्मुक्ति नपाउने बताएका हुन् ।

प्रधानमन्त्रीले नक्कली शरणार्थी बनाउने र त्यससँग जोडिएर गैरकानुनी रुपमा आर्थिक चलखेल गर्नेलाई कानुनी दायरामा ल्याउनका लागि सरकारले अधिकतम पहल गर्ने बताएका उनको सचिवालयले जनाएको छ ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटका सन्दर्भमा छलफल गर्न बोलाइएको बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल भएको थियो । माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलका अनुसार बैठकमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष प्रचण्डले सरकार आर्थिक अनियमितता र भ्रष्टाचारविरुद्ध कडा रुपमा प्रस्तुत हुने बताएका थिए ।

बैठकमा पार्टी पदाधिकारीले राजनीतिक रङ्ग नदिइकन शरणार्थी प्रकरणमा जोडिएका सबैलाई कानुनी दायरामा ल्याउन सरकार कडा रुपमा प्रस्तुत हुनुपर्ने धारणा राखेका थिए । प्रधानमन्त्री प्रचण्डले पदाधिकारीमा रहेका नेतालाई आगामी आवको नीति तथा कार्यक्रम र बजेटमा समावेश गर्ने विषयलाई लिखित रुपमा नै पेश गर्न निर्देशन दिएका थिए ।