पुराना दलप्रतिको वितृष्णाले उब्जाएको परिणाम

पुराना दलप्रतिको वितृष्णाले उब्जाएको परिणाम


✍ रमेश अधिकारी, तनहुँ

यही वैशाख १० गते सम्पन्न उपनिर्वाचनमा तनहुँ १ मा स्वतन्त्र पार्टीको प्राविधिक जित वास्तवमा जित होइन, मात्रै के हो भने ठुला भनिने पुराना पार्टीप्रतिको वितृष्णा ! काङ्ग्रेस र एमालेले यो पटक हार्नुको अर्थ यो होइन कि उनिहरूको हार अर्को पटक पनि निश्चित छ ।

‘भनिन्छ- मत बदल्नु तर पार्टी नबदल्नु !’- यो नारा आफैंमा प्रजातान्त्रिक दलीय व्यवस्थाको विपरीत छ । दलीय ब्यवस्थामा आफ्नो दल, आफ्नो राजनैतिक सिद्धान्तको आधारमा बालियो हुँदै जनमानसमा जानुपर्छ । अरूले बनाइदिएको पार्टीको भोट चोरेर लामो समयसम्म राजनीति गर्न सकिँदैन । कुनैपनि कुराको ब्राण्ड बनाउने हो भने त्यो ब्राण्ड आफैंले बनाउने हो । किनकि अर्काको चोरेर ब्रान्ड बन्दैन ।

जस्तो कि तपाईंले विवाह गरेर ल्याएकी श्रीमती बच्चाबच्ची जन्माएपछि बुढी देखिन थाल्छिन्, शरीर भद्दा हुन्छ, बेला-बेलामा झैझगडा पनि पर्छ होला, तर माया त रहन्छ नि ! किनभने, यो सबन्धमा विश्वास हुन्छ । परिपक्वता हुन्छ । एउटा युग खर्चेर दुःखसुख बाँडेर बनेको हुन्छ । त्यसले त्यति हानी गर्दैन, जति हानी घरबाहिरकी राम्री देखिने प्रेमिकाको पछाडि दौडिँदा हुन्छ । क्षणिक आनन्दमा रमाउने हो कि दीगो सम्बन्ध स्थापित गर्ने हो रोजाइ तपाईंको हो ।

पङ्क्तिकारले भन्न खोजेको कुरा अहिलेको स्वतन्त्र पार्टी ठ्याक्कै त्यही घरबाहिरकी प्रेमिका हो, जसले क्षणिक स्वार्थको लागि जे पनि भन्न र गर्न तयार भएको कारण सबै जनता आकर्षित भएको देखिन्छ । तर कालान्तरमा उही पुरानी श्रीमती काम लाग्छिन् ।

फेरि अर्को कुरा रास्वपाको भविष्य पनि फोहोरी राजनीतिको सेरोफेरोमा नै छ । स्वतन्त्र पार्टीले यो फोहोरी राजनीतिलाई सफा गर्न सक्छ कि सक्दैन त्यो समयसँगै थपिएको चुनौती हो । अहिलेको समय भनेको स्वतन्त्र पार्टीले आफूलाई प्रमाणित गर्नुपर्ने समय हो ।

अहिले स्वतन्त्र पार्टीबाट निर्वाचित स्वर्णीम वाग्लेलाई आएको ३५ हजार भोटमध्ये तनहुँ काङ्ग्रेसको दुई खेमामध्ये जोशी समूहबाट मात्र लगभग ७ हजार भोट आएको छ । सो भोट घटाउने हो भने स्वर्णिमले पाएको मत २८ हजार मात्र हुन्छ भने नेपाली काङ्ग्रेसले पाएको २० हजार मतमा ७ हजार जोड्दा २७ हजार हुन आउँछ । हिसाब सिधा र सरल छ । तर अहिले पनि नेपाली काङ्ग्रेसले चुनाव हार्नुको कारण घरभित्र भन्दा बाहिर नै खोजिरहेको छ ।

तनहुँ १ मा स्वतन्त्र पार्टीले अन्य पार्टीबाट ल्याएको भोट यसप्रकार छ । माओवादी तर्फबाट ६०००, जोशी समुह तर्फबाट ६५००, नेपाली कांग्रेस तर्फबाट ३०००, एमाले तर्फबाट ७०००, राप्रापा तर्फबाट २५००, समाजवादी तर्फबाट १००० र स्वतन्त्र पार्टी आफ्नै तर्फबाट १०००० गर्दा कुल मत ३५ हजार हुन आउँछ । यो हिसाबले हेर्दा तनहुँ १ मा स्वतन्त्र पार्टीको आफ्नो भोट भनेको ८ देखि १० हजार मात्र हो ।

तनहुँ १ मा भएको जोशी समुहको मत जुन काङ्ग्रेसकै हो । त्यसलाई व्यवस्थापन गर्न नसक्दा पटक-पटक नेपाली काङ्ग्रेसलाई घाटा भएको छ । यो यथार्थलाई नेपाली काङ्ग्रेसले आहिलेसम्म स्वीकार्न सकेको छैन, जुन कुरा नेपाली राजनीतिमा विडम्बना हो ।

नेपाली काङ्ग्रेसले उठाएको उम्मेदवार शंकर भण्डारी जो हिन्दूराष्ट्रको पक्षमा वकालत गर्छन्, उनले अर्को चुनाब जित्न लगभग असम्भव छ । हिन्दूराष्ट्रको माग राख्ने उनलाई राप्रपाबाट एक मत पनि आएन भन्दा हुन्छ ।

अब रह्यो कुरा अर्का सांसद किसान श्रेष्ठको, तनहूँ १ मा समाजवादी पार्टीको कुल मत १५०० छ । त्यो मतमध्ये पनि किसान श्रेष्ठले भनेको मान्ने र जाने भोट भनेको २०० जति मात्र हो ।

यदि जोशी समुहको साथ काङ्ग्रेसलाई भएको भए राप्रपाको मत पनि काङ्ग्रेसलाई आउने सम्भावना धेरै थियो । कुनै बेला परिवर्तनका सम्बाहक भनेर चिनिने गोविन्दराज जोशी जसले १२ बुँदे सहमतिको कट्टर विरोध गरे । सङ्घीयताको विरोध गरे । वैदिक सनातन राष्ट्र चाहिन्छ भनेर अहिलेसम्म पनि संघर्ष गर्दै आएका छन् । उनलाई काङ्ग्रेसले सँगै ल्याउन नसक्दा काङ्ग्रेसले यसको मुल्य चुकाउनु परेको छ । किनकि यो समयमा उस्तै विचार भएकाहरू गएको चुनावमा एकै ठाउँमा आउने प्रबल सम्भावना थियो, साथै आवश्यकता पनि थियो ।

निर्वाचन भनेको अंकगणितको खेल हो । काङ्ग्रेस आहिले आएर पैसाको अंकगणितमा अब्बल देखिए पनि चुनावी अंकगणितमा कमजोर देखिएको छ । व्यक्तिगत रूपमा गोविन्द भट्टराई शालीन र भद्र व्यक्ति हुनुहुन्छ । तर उहाँ गत निर्वाचनमा खराव राजनीतिको शिकार हुनुभयो । शिकार कसले गऱ्यो ? कसले काटकुट गऱ्यो ? कसले पकायो ? कसले खायो ? यी कुराहरू बिस्तारै आउलान् । अर्कोचोटि तनहुँ-१ को चुनावमा उठ्ने आकाङ्क्षा बोकेका व्यासका मेयर बैकुण्ठ न्यौपाने र भानुका मेयर आनन्द त्रिपाठीले खुलेर सहयोग गरे वा गरेनन् त्यो बिस्तारै खुल्नेछ ।

कुनैबेला काङ्ग्रेससँग नजिक हुनेहरूको मन यतिबेला कुँडिएको छ, चित्त दुखेको छ, र पनि भित्र मनबाट चारतारे झन्डा हटेको छैन । नेपाली काङ्ग्रेसले आफ्नो दम्भ त्याग्नुपर्छ । छाती चौडा गर्नुपर्छ । अझ पनि नेपाली काङ्ग्रेस सुध्रिन सक्छ । पराइलाई होइन, आफ्नैलाई साथ लिएर अगाडि बढ्नुपर्छ । यसो भएमा मात्र बीपीको सपना साकार हुन्छ । समाजलाई समृद्धितिर लैजान सकिन्छ । सम्भावना अझै सकिएको छैन ।