बालकृष्ण पक्राउ पर्दा बालुवाटारमा तहल्का !

बालकृष्ण पक्राउ पर्दा बालुवाटारमा तहल्का !


काङ्ग्रेस नेता एवम् पूर्व गृहमन्त्री बालकृष्ण खाण नक्कली शरणार्थी प्रकरणमा दोषी भएपनि उनी पक्राउ पर्ने र कारवाहीको दायरामा तानिने विश्वास सत्तापक्षका कसैमा नरहेको त्यतिबेला पुष्टि भयो जब खाण पक्राउ परेपछि प्रधानमन्त्री निवासको वातावरण अचानक खल्बलियो ।

त्यसदिन (बैशाख २७ गते) बिहान रक्षामन्त्री पूर्णबहादुर खड्का निकै ठूलो बित्यास आइलागेको मुखाकृति लिएर प्रधानमन्त्री निवासमा प्रवेश गरे, उनी निकै क्रुद्ध र आतङ्कित देखिन्थे । सरासर प्रधानमन्त्री प्रचण्ड भएको ठाउँमा पुगेर आक्रोशित हुँदै खड्काले कड्किएर भने- ‘यो कुन तरिका हो ? बिना आधारप्रमाण मानिसलाई दुःख दिन खोजेको ? यस्तै हो भने सरकार कसरी अगाडि जानसक्छ ?’

रक्षामन्त्रीको अनपेक्षित भावको प्रश्न सुनेर प्रधानमन्त्री पनि छक्क परे, के भयो र भन्दै उनले पूर्ण खड्कालाई संयमित रहन आग्रह गरे । पूर्णले बालकृष्ण खाणलाई गिरफ्तार गर्न खोजिएको बताएपछि प्रचण्ड पनि स्तब्ध भए र तत्काल गृहमन्त्रीलाई फोन लगाए । पटक-पटक प्रयास गर्दा पनि नारायणकाजीसँग फोन सम्पर्क भएन ।

त्यसैबीच त्यहाँ बालकृष्ण खाण पक्राउ परिसकेको खबर आइपुग्यो । त्यसपछि पूर्ण खड्कालगायत काङ्ग्रेसका मन्त्रीहरूको आक्रोश थामिसक्ने स्तरको देखिएन । केहीक्षण त प्रचण्ड पनि आत्तिएका थिए, केहीबेर पछि मात्र बालुवाटारको स्थिति सामान्य बनेको थियो । त्यसदिन काङ्ग्रेसका मन्त्री र प्रचण्डको प्रतिक्रिया देख्नेहरूले यदि यिनले पहिले नै बालकृष्ण पक्राउ पर्दैछन् भन्ने थाहा पाएको भए जसरी पनि रोक्ने रहेछन् भन्ने महसूस गरेका थिए ।