file photo
संसदमा कडाइका साथ प्रस्तुत हुन सांसदहरूलाई निर्देशन
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्ना सांसदलाई नीति तथा कार्यक्रममा पार्टीका धारणा कडाइका साथ प्रस्तुत गर्न निर्देशन दिएका छन् ।
नयाँ बानेश्वरस्थित संसद् भवनमा एमाले संसदीय दलको बैठकलाई शनिबार सम्बोधन गर्दै उनले आइतबारदेखि छलफल हुने नीति तथा कार्यक्रममा पार्टीका तर्फबाट व्यक्त गरिएका कुरालाई कडाइका साथ प्रस्तुत गर्न सांसदलाई निर्देशन दिएका हुन् ।
‘एमालेको भूमिका अलि लुलोलुलो भयो । नुन खाएको कुखुरा जस्तो, झोक्राए जस्तो के भएको भनेर भन्ने गरेका छन्, त्यसैले हाम्रो प्रस्तुति संसद्मा कडा हुनुपर्दछ । संसदमा जति समय पाउनुहुन्छ, आफ्ना कुरा कडाइका साथ राख्नुहोला’- निर्देशनका क्रममा ओलीले भने ।
सरकारले ल्याएको नीति तथा कार्यक्रम संसद्बाट पारित गर्न नदिने उनको अठोट थियो । सरकारको नीति तथा कार्यक्रम अस्पष्ट, अन्योलग्रस्त र दिशाहीन तथा राजनीतिक, सामाजिक, आर्थिक कुनै पनि समस्या समाधान नगर्ने आरोप लगाउँदै अध्यक्ष ओलीले पारित नगर्नेतर्फ आफ्नो पार्टीको नीति हुने बताए ।
नेता ओलीले पञ्चवर्षीय योजना, संविधान, मौलिक हकसँग नीति तथा कार्यक्रम जोडिएर आउनुपर्नेमा जोड दिँदै भने- ‘यो नीति तथा कार्यक्रमले देशको मार्गदर्शन गर्दैन । यो स्वीकार र समर्थनयोग्य छैन । विरोधयोग्य छ, त्यसैले यसलाई पास गर्न मिल्दैन ।’
प्रतिक्रिया