धनगढी सभामा पूर्व ‘श्री ५’को प्रश्न- के अग्रगामी भनेको परावलम्बी नेपाल हो ?

धनगढी सभामा पूर्व ‘श्री ५’को प्रश्न- के अग्रगामी भनेको परावलम्बी नेपाल हो ?


file photo

पूर्व श्री ५ ज्ञानेन्द्र शाहले सोझासादा जनतालाई मुर्ख भन्दै तिनलाई झुक्याएर आफ्नो स्वार्थसिद्ध गर्ने यतिबेलाको प्रपञ्च खुल्दै गएको बताउनुभएको छ । सोमबार धनगढीमा आयोजित अभिनन्दन सभालाई सम्बोधन गर्दै उहाँले चार दशकअघिसम्म हाम्रो देश कृषि, वन आदि कतिपय विषयमा आत्मनिर्भर रहेको, आफ्नो आवश्यकतालाई परिपूरण गरेर धान-चामल निर्यात गरेको, तर आज ग्रामीण तथा शहरी कलकारखाना, साना लघु उद्योग धन्दाहरू सारा बिलाएको र जल जमिन जंगल जडिबुटी र जनस्तरीय सीप सबैतिर आज उजाडको अवस्था रहेको उल्लेख गर्नुभयो र प्रश्न गर्नुभयो- ‘यस्तो अवस्था कसरी-किन आयो ?’

यस्तो छ उहाँको सम्बोधन-

उपस्थित महिला तथा सज्जनवृन्द,
तपाईंहरूले आयोजन गर्नुभएको यो समारोह आफैमा एउटा संयोजनकारी महत्वपूर्ण काम हो । यहाँ आएर मलाई दुई-चार शब्द बोल्ने मौका दिनुभएकोमा आयोजकहरू र उपस्थित सुदूरपश्चिमी भेगका सबैमा हार्दिक आभार व्यक्त गर्दछु ।

धनगढी नेपालको सुदूरपश्चिमी भूखण्डको पुरानो चहलपहलको स्थान हो । यो अहिले उद्यम इलम र व्यवसायको शहरी केन्द्र बनेको छ । आफ्नो थातथलो र जमिन पवित्र मान्ने यस भेगका भूमिपुत्रहरू आज यस क्षेत्रको चौतर्फी विकास चाहन्छन् । त्यसका निम्ति बढ्दै गएको उत्सुकता तथा जागरुकता निश्चय पनि सह्राहनीय छ ।

राष्ट्रनिर्माणको अभियान र निरन्तरताको भौतिक, शैक्षिक तथा सामाजिक विकासको क्रममा अब नेपालका कुनै पनि भूभाग टाढा र नजिक छैनन् । राष्ट्रिय अवधारणा बुबाज्यूको राज्यकालदेखि नै उत्कर्षका रुपमा अघि बढेको हो । टिकापुर तथा महेन्द्रनगर यस क्षेत्रमा आज जुन रुपमा खडा छन्, त्यो त्यसैको उदाहरण हो । तर जुन प्रकारको राष्ट्रवादी सोच, राष्ट्रिय चिन्तन र सर्वाङ्गीण उन्नतिको उच्च ध्येय बोकेर समग्र राष्ट्रको उत्थानको शुरुवात भएको हो- त्यो त्यही गति र प्रवाहमा अघि बढ्न सकिरहेको छैन । यो हामी सबैका निम्ति सुखद् होइन । डोटी, डडेलधुरा, कैलाली, कञ्चनपुर, बैतडी, दार्चुला, आछाम र बाजुरा यो भेगका सुन्दर, रमणीय र तीर्थस्थलहरू हुन्- ती सबैलाई समेटेर धनगढी, महेन्द्रनगर, टीकापुर जस्ता आधुनिक चरणमा खडा भएका केन्द्रहरूले जुन प्रकारको ज्योति प्रशारण गर्नुपर्ने हो- त्यो अपेक्षित रूपमा हुन नसकेको कटुसत्य हो ।

हाम्रै आँखाले देखेको र स्वयम् अनुभूत गरेको कुरा हो- चार दशकअघिसम्म हाम्रो देश कृषि, वन आदि कतिपय विषयमा आत्मनिर्भर थियो । आफ्नो आवश्यकतालाई परिपूरण गरेर हामी धान चामल निर्यात गर्दथ्र्यौं । ग्रामीण तथा शहरी कलकारखाना, साना लघु उद्योग धन्दाहरू कता बिलाए ? किन हराए ? जल जमिन जंगल जडिबुटी र जनस्तरीय सीप सबैतिर आज उजाडको अवस्था छ । हाम्रा घर आँगन पिँढी र छिँडीमा चल्ने जन शिल्पीका कैयन् कुटीर उद्यम व्यवसायहरू पुरापूर लोप भएर गएका छन् । हिजोका हाम्रो अग्रजहरू र हाम्रा पौरखी पुस्ताहरूलाई श्रेय दिएर सम्झना गर्ने कि नगर्ने ? यस्ता थुप्रै प्रश्नहरू तपाईं-हामीसामु छन् ।

सोझासाधा जनतालाई मुर्ख भन्दै तिनलाई झुक्याएर आफ्नो स्वार्थसिद्ध गर्ने आजको प्रपञ्च अब खुल्दै गएको छ । नेपाली जनतालाई आफ्नो भूभाग र आफ्नो राष्ट्रिय अस्तित्व हुँदाहुँदै शरणार्थी बनाएर अर्काको देशमा श्रम पसिना बगाउन पठाएर आज जे हर्कत गरिरहेका छन्, त्यसबाट हाम्रो इज्जत, गौरव सबै लोप भएर गएको छ । देशभित्रै बसौँ, देशमै पसिना बगाउँ र आफ्नो पौरखले आफ्नै देश सपारौँ भन्ने भावना हराउँदै गएको छ ।

के नयाँ नेपाल भनेको यही हो ? के अग्रगामी भनेको परावलम्बी नेपाल हो ? के नेपालको आफ्नो अस्तित्व छैन ? हामी वीर परिश्रमी र स्वाभिमानी नेपाली तर आज हाम्रो वीरता र हाम्रो स्वाभिमान हाम्रो श्रम सीप सबैथोक खोसिएको त छैन ? यस्तो दारुण दृश्य देख्दा हामी सबैको आँखा रसाउँदै गएको छ । आजको युग विकासको युग हो । आजको युग प्रविधिको युग हो । हामी आफ्नै श्रोत-साधन आफ्नै सामथ्र्य र आफ्नै स्वतन्त्र सत्ताद्वारा आफ्नो युगानुकूल उन्नति चाहन्छौँ ।

त्यसैले सोच्ने बेला आयो अब कुन के-कस्तो राष्ट्रिय दृष्टिकोण हामीले लिने ? कस्तो प्रणाली पद्धति र परिपाटी हामीले अँगाल्ने ? सोचौँ गहिरिएर सोचौँ, अझ दिलैदेखि सोचौँ, नेपाली भएर सोचौँ, नेपाल आमाको हावापानी माटो र मुटुलाई छोएर सोचौंँ, देशभन्दा ठूलो अरु केही हुँदैन ।

आजको टड्कारो अवस्थालाई नदेखेको र नबुझेको जस्तो गरेर, कुरा बटारेर, अरुलाई अल्मल्याएर र निषेध गरेर अनि कोठे र ओठे जवाफ फर्काएर नेपाल र नेपालीको भविष्य सप्रिँदैन । भोलिको सुन्दर सपनालाई साकार र विपना बनाउन नेपाली मत, मान्यता तथा मनोभावनाअनुसार- नेपाली जनतालाई नै जिम्मा दिउँ- यसैमा हाम्रो कल्याण छ ।