शुक्रबार बेलुका ६ बजेका लागि निर्धारण गरिएको प्रतिनिधिसभाको बैठक भोलि शनिबार बस्ने भएको छ । प्रतिनिधिसभाको बैठक विशेष कारणवश आज नियमित हुन नसकेकाले शनिबार अपराह्न ४ बजेको लागि तय गरिएको हो ।
सङ्घीय संसदद्वारा जारी सूचनामा भनिएको छ, ‘६ बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधिसभाको बैठक विशेष कारण बस्न नसक्ने भएकाले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ६ को उपनियम (३) बमोजिम सम्माननीय सभामुखज्यूले सभाको बैठक मिति विसं २०८० जेठ १३ गते शनिबार दिनको ४ बजे बस्ने निर्धारण गर्नुभएको छ ।’
शुक्रबार बसेको संसंदको अघिल्लो बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरूले बैठकको प्रारम्भमै आसनबाट उभिएर पशुपतिनाथ मन्दिरमा लगाइएको जलहरी सुन कि पित्तल भन्ने सरकारले स्पष्ट जवाफ नदिएसम्म सदन अघि बढ्न नदिने भन्दै बैठक अवरुद्ध गरेका थिए ।
बैठकमा एमालेका प्रमुख सचेतक पदम गिरीले आफ्ना पार्टी अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला पशुपतिनाथको जलहरीमा सुनको सट्टा पित्तल लगाइएको र भ्रष्टाचार भएको भनी हो नेकपा (माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले आरोप लगाएकाले त्यसबारे सरकारको स्पष्ट जवाफ नआउँदासम्म सदन अघि नबढ्ने बताएका थिए ।
सभामुख घिमिरेले आसनग्रहण गर्न आग्रह गरे पनि एमालेका सांसदहरूले रोष्ट्रम घेराउ गर्नुका साथै नाराबाजी गरेका थिए ।
प्रतिक्रिया