रेशम चौधरीको कैदसजाय राष्ट्रपति पौडेलबाट माफी मिनाह !

रेशम चौधरीको कैदसजाय राष्ट्रपति पौडेलबाट माफी मिनाह !


राष्ट्रपति रामचन्द्र पौडेलले कैलालीको जघन्य घटनामा दोषी ठहर भएका रेशम चौधरीसहित १९ जनालाई आममाफी र ४८२ जना कैदीबन्दीको कैद सजाय मिनाह गरेका छन् ।

राष्ट्रपति कार्यालयले आइतबार जारी गरेको विज्ञप्तिमा जेठ १५ गते अर्थात् गणतन्त्र दिवसको अवसर पारी चार सय ८२ कैदीलाई राष्ट्रपतिबाट सजाय माफी गरेको उल्लेख गरिएको छ ।

‘यही जेठ १२ गतेको मन्त्रिपरिषद्को बैठकको सिफारिसमा जेठ १५ गतेदेखि लागू हुने गरी रमेश थलङ भन्ने हेमबहादुर थलङ/लिम्बूसमेतका चार सय ७५ र ज्येष्ठ नागरिक उदयनारायण गिरी समेतका सात जना गरी जम्मा चार सय ८२ जना कैदीहरूको भुक्तान हुन बाँकी कैद सजाय नेपालको संविधानको धारा २७६, फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७ तथा ज्येष्ठ नागरिक ऐन, २०६३ को दफा १२ बमोजिम गणतन्त्र दिवस, २०८० का अवसरमा माफी भएको छ’, राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

ज्ञातव्य छ, प्रहरीका उच्च अधिकारी, दूधेबालकसहित ८ जनाको बर्बरतापूर्वक हत्या भएको टीकापुर हत्याकाण्डमा दोषी ठहर्‍याउँदै रेशम चौधरीलाई जिल्ला अदालत कैलाली र उच्च अदालत दीपायलले जन्मकैदको सजाय सुनाएको थियो । दुवै अदालतको सजायलाई यही जेठ २ गते सर्वोच्च अदालतले समेत सदर गरेको थियो । तर, सर्वोच्चले सुनाएको फैसलाको पूर्णपाठसमेत नपर्खिकन सरकारले चौधरीलाई जेलमुक्त गर्ने निर्णय गरेको छ भने सरकारको निर्णयबमोजिम राष्ट्रपति पौडेलले उनलाई माफीमिनाह गरेका छन् ।