प्रधानमन्त्री प्रचण्ड नयाँ दिल्लीमा

प्रधानमन्त्री प्रचण्ड नयाँ दिल्लीमा


प्रधानमन्त्री प्रचण्ड भारतको राजधानी नयाँ दिल्ली पुगेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा चारदिने औपचारिक भ्रमणका क्रममा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रचण्ड नयाँदिल्ली पुगेका हुन् ।

प्रधानमन्त्री प्रचण्डलाई नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका सङ्घीय विदेश मामिला तथा संस्कृति राज्यमन्त्री मीनाक्षी लेखीले स्वागत गरेकी हुन् । त्यसक्रममा विमानस्थलमा भारतका लागि नेपाली राजदूत डा. शङ्कर शर्मा, नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवलगायतको उपस्थिति थियो ।

प्रधानमन्त्रीलाई विमानस्थलमा सांस्कृति झाँकीले स्वागत गरिएको थियो । त्यसैगरी उनलाई भारतमा स्वागत गरिएका ब्यानरहरु पनि सडकका किनारमा राखिएको थियो ।

यस भ्रमणमा प्रधानमन्त्रीका साथमा अर्थ, परराष्ट्र, उर्जा, भौतिक पूर्वाधार तथा यातायात, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री, सचिवहरु तथा उद्योगी, व्यवसायीहरुको सहभागिता छ ।

आजै साँझ प्रधानमन्त्री दाहालको सम्मानमा नयाँ दिल्लीस्थित नेपाली दूतावासमा स्वागत कार्यक्रमको आयोजना गरिएको छ । सो अवसरमा प्रधानमन्त्री प्रचण्डले भारतमा रहेका नेपाली समूदायसँग अन्तरक्रिया गर्नेछन् । आज साँझ भारतका लागि नेपाली राजदूत डा. शङ्कर शर्माले प्रधानमन्त्रीको सम्मानमा रात्रिभोजको आयोजना गर्ने कार्यक्रम छ ।