‘पहिचानवादीको आन्दोलन’मा सरिक हुने उद्घोष
कोशी प्रदेशकी स्वास्थ्यमन्त्री निर्मला तावा लिम्बूले आफ्नो पदबाट राजीनामा दिएकी छन् । सरकारलाई दिएको समर्थनसमेत उनले फिर्ता लिएकी छन् ।
जनता समाजवादी पार्टी (जसपा) प्रदेश समितिद्वारा बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले मुख्यमन्त्री कार्यालयमा राजीनामा एवं सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र दर्ता गरेको जानकारी दिएकी हुन् ।
मन्त्री लिम्बूको राजीनामा पत्रमा विसं २०७९ पुस २५ गते मुख्यमन्त्री हिक्मतकुमार कार्कीको नेतृत्वमा बनेको गठबन्धन सरकारको स्वास्थ्यमन्त्रीको जिम्मेवारीमा रही सदन र सरकारमा पटकपटक प्रदेशको नामकरण पहिचानका आधारमा नामाङ्कन हुनुपर्ने माग गर्दै आएको उल्लेख गरेकी छन् ।
मन्त्री लिम्बूले पहिचानवादीको मागप्रति सरकारलाई गम्भीर भई वार्ता संवादमार्फत समस्याको समाधान गर्न प्रस्ताव राख्दासमेत बेवास्ता भएको हुँदा नैतिकताका आधारमा आजको मितिबाट प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिनुका साथै स्वास्थ्यमन्त्री पदबाट राजीनामा दिएको पत्रमा उल्लेख गरेकी छन् ।
आगामी दिनमा प्रदेशको नामकरणविरुद्धमा हुने पहिचानवादीको आन्दोलनमा प्रत्यक्षरूपमा सहभागी हुने उनको भनाइ थियो ।
प्रतिक्रिया