भारतमा आज महत्वपूर्ण द्विपक्षीय भेटवार्ता गर्दै प्रधानमन्त्री प्रचण्ड

भारतमा आज महत्वपूर्ण द्विपक्षीय भेटवार्ता गर्दै प्रधानमन्त्री प्रचण्ड


photo: rss

भारतको औपचारिक भ्रमणमा बुधबार नयाँ दिल्ली पुगेका प्रधानमन्त्री प्रचण्डले आज महत्वपूर्ण द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको बताइएको छ । आज बिहान महात्मा गान्धीको समाधिस्थल राजघाट पुगेर गान्धीप्रति श्रद्धाञ्जलि अर्पण गर्ने र त्यसलगत्तै हैदरावाद हाउसमा प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीबीच द्विपक्षीय भेटवार्ता हुने कार्यक्रम छ । भेटवार्तालगत्तै प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ । त्यसक्रममा दुई देशका आपसी हित, चासोका विविध विषयमा छलफल हुने र सहमतिमा पुग्ने कार्यसूची छ ।

ऊर्जा, ऊर्जा व्यापार, वाणिज्य, हवाईमार्गलगायत विषयमा महत्वपूर्ण छलफल हुने र आवश्यक सहमति गर्ने तयारी रहेको बताइएको छ । यस्तै केही आयोजनाको उद्घाटन र शिलान्यासको कार्यक्रम छ । त्यसका लागि आवश्यक तयारी भइसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

द्विपक्षीय छलफल र भेटवार्तालगत्तै हैदरावाद हाउसमै दुवै देशका प्रधानमन्त्रीले संयुक्तरूपमा पत्रकार सम्मेलनलाई सम्बोधन गर्नेछन् । प्रधानमन्त्री प्रचण्डको सम्मानमा आजै भारतीय प्रधानमन्त्री मोदीले दिवाभोजको आयोजना गर्नेछन् । प्रधानमन्त्रीस्तरीय छलफल र पत्रकार सम्मेलनपछि आजै प्रधानमन्त्री प्रचण्डले भारतीय राष्ट्रपति र उपराष्ट्रपतिसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ । साँझ नेपाल उद्योग वाणिज्य महासङ्घ र भारतीय उद्योग परिसङ्घले आयोजना गर्ने कार्यक्रमलाई प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम छ ।

भारतको चारदिने राजकीय भ्रमणका लागि नयाँ दिल्ली आइपुग्नुभएका प्रधानमन्त्री प्रचण्ड पहिलो दिन बुधबार विभिन्न औपचारिक कार्यक्रममा सहभागी भए । उनलाई नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका सङ्घीय विदेश मामिला तथा संस्कृति राज्यमन्त्री मीनाक्षी लेखीले स्वागत गरेकी थिइन् । सो क्रममा प्रधानमन्त्री प्रचण्डलाई विभिन्न झाँकी र सांस्कृतिक प्रदर्शनीसहित विमानस्थलमा स्वागत गरिएको थियो ।

प्रधानमन्त्री प्रचण्ड नेतृत्वको प्रतिनिधिमण्डल होटल मौर्यमा बसेको छ । उनी बसेको होटलमा पुगी बुधबार नै भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले प्रधानमन्त्रीसँग शिष्टाचार भेट गरेका छन् भने सो अवसरमा भारतीय विदेशसचिव विनयमोहन क्वात्रासमेत सहभागी थिए ।

भ्रमणको तेस्रो दिन अर्थात् शुक्रबार प्रधानमन्त्री प्रचण्ड मध्यप्रदेशको इन्दोर प्रस्थान गर्ने कार्यसूची रहेको राससले जनाएको छ । त्यहाँ मध्यप्रदेशका राज्यपालसँग भेटघाट गर्नुका साथै इन्दोरमा अध्ययन भ्रमणसमेत गर्नेछन् । प्रधानमन्त्री शनिबार अपराह्न ४ः२० बजे दिल्लीबाट काठमाडौं फर्कने कार्यक्रम छ ।