स्थापित पार्टीहरूभित्र र बाहिर जिलेन्स्कीको भूमिका निर्बाह गर्न सक्ने ब्यक्तिहरू प्रोत्साहित हुनुले नेपालको भावी राजनीति अत्यन्तै दुषित एवम् सङ्कटग्रस्त हुनसक्ने सङ्केत दिएको छ ।
पुराना नेताहरूबाट अब काम चल्दैन भन्नेहरूका निम्ति पार्टीभित्र र, पुराना पार्टी नै काम लाग्दैन भन्नेहरूका लागि पार्टीबाहिर ‘जिलेन्स्की’हरूको ठूलो जत्था तयार भएको पाइएको छ ।
नेपालमा हालसम्म सस्थागत हुन सकेका पार्टीका रूपमा काङ्ग्रेस र एमालेलाई लिइन्छ । काङ्ग्रेसभित्र पुरानो नेताको विकल्प बनाएर गगन थापा, विश्वप्रकाश शर्मा र धनराज गुरुङलाई प्रस्तुत गर्न थालिएको छ भने एमालेभित्र शङ्कर पोखरेल, बिष्णु रिमाल, पृथ्वी सुब्बा गुरुङ, सुवास नेम्बाङ, प्रदीप ज्ञवाली र राजन भट्टराईलाई केपीको विकल्प बनाउने प्रयास भइरहेको छ । यी दुवै प्रमुख दलभित्र पुरानो नेताको विकल्पका रूपमा खडा गरिएका पात्रहरू पश्चिमा शक्तिनिकट मानिन्छन्, त्यसैले यिनलाई नेपाली ‘जिलेन्स्की’का रूपमा समेत टिप्पणी गर्न थालिएको छ ।
पुराना पार्टी नै काम लाग्दैन भन्नेहरूका निम्ति पनि ‘जिलेन्स्की’हरूको नयाँ टिम खडा गरिएको स्पष्ट हुँदै गएको छ । माओवादी पार्टी प्रचण्ड रहँदासम्म मात्र क्रियाशील हुनसक्ने देखिएकोले उक्त पार्टीभित्र ‘जिलेन्स्की’हरूको बेग्लै जत्था तयार गर्नुपर्ने आवश्यकता सम्भवतः अन्तर्राष्ट्रिय शक्तिकेन्द्रहरूले महसूस गरेका छैनन् । त्यसैले प्रचण्डलाई नै ‘लाठी देखाएर’ काम लिने प्रयास हुँदै आएको छ ।
नेकपा एमालेमा विद्या भण्डारी, सुरेन्द्र पाण्डे, भीम रावल आदिलाई देशभक्त राष्ट्रवादी नेताका रूपमा हेरिन्छ । यी नेताहरू यतिबेला जिम्मेवारीविहीन जस्तै तुल्याइएका छन् । बिष्णु रिमाललगायतका ब्यक्तिहरूको भने भूमिका बढाइएको छ । रिमाललाई महत्वपूर्ण मानिने बागमती प्रदेशको इन्चार्ज तोकिएको छ । यसरी स्थापित पार्टीहरूभित्र र बाहिर जिलेन्स्कीको भूमिका निर्बाह गर्न सक्ने ब्यक्तिहरू प्रोत्साहित हुनुले नेपालको भावी राजनीति अत्यन्तै दुषित एवम् सङ्कटग्रस्त हुनसक्ने सङ्केत दिएको छ ।
प्रतिक्रिया