काङ्ग्रेसमा कलह उत्कर्षतिर : पूर्ण खड्कालाई ‘उपयोग’ गर्दै गगन

काङ्ग्रेसमा कलह उत्कर्षतिर : पूर्ण खड्कालाई ‘उपयोग’ गर्दै गगन


डा. शेखरले बुद्धि पुऱ्याए भने देउवाबाट डा. कोइरालालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएर आफू सर्वोच्च नेताको भूमिकामा रहने बलियो सम्भावना छ । हो, यही स्थिति आउन नदिन पूर्ण र गगन एकमत भएका छन् ।

नेपाली काङ्ग्रेसभित्र सभापति शेरबहादुर देउवाविरूद्धको मोर्चाबन्दीका निम्ति महामन्त्री गगन थापालगायत केही नेताहरू अलिक बढी नै क्रियाशील हुन थालेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले गगन थापालाई पार्टी विभाजन गरेर आउने हो भने प्रधानमन्त्री बनाइदिने आश्वासन दिनुभएपछि गगन निकै उत्साही बनेको बुझिएको छ । रास्वपासँग समेत विशेष सम्बन्ध बनाएर बसिरहेका गगनले काङ्ग्रेस उपसभापति पूर्णबहादूर खड्कालाई अहिले कार्यवाहक सभापति र त्यसपछि सभापति बन्न उचालिरहेका छन् । खड्कालाई गगनले पूरै मायाजालमा पारेको खड्काको कार्यब्यवहारले देखाएको छ । भनिन्छ, अबको महाधिवेशनमा सभापतिका निम्ति गगनले आफूलाई समर्थन गर्नेमा खड्का विश्वस्त हुनुहुन्छ ।

स्मरणीय छ, काङ्ग्रेसको तेह्रौँ महाधिवेशनमा गगनले कृष्णप्रसाद सिटौलालाई सभापति थापेर आफू महामन्त्रीको उम्मेदवार बनेका थिए । त्यसपछि चौधौँ महाधिवेशनमा गगनले डा. शेखर कोइरालालाई सभापति थापेर आफू महामन्त्रीमा उठे र विजयी बने । पन्ध्रौँ महाधिवेशनमा गगन आफै सभापतिको उम्मेदवार बन्ने तयारी गर्दैछन् । कदाचित पन्ध्रौँ महाधिवेशनमा आफू सभापति उठ्ने र जित्ने स्थिति देखिएन भने गगन काङ्ग्रेसका आफ्ना समर्थकहरूको छुट्टै जत्था लिएर पार्टीबाट निस्कने विश्वास उनका निकटवर्तिहरूले गरेका छन् । सके काङ्ग्रेसलाई आफ्नो मुट्ठीमा लिने, नसके पार्टी फुटाएर निस्कने र रास्वपासँग पार्टी एकीकरण गर्ने योजनाअनुरुप गगन क्रियाशील रहेको ठहर स्वयम सभापति देउवाले गर्नुभएको बताइन्छ ।

ज्ञातब्य छ, विधानअनुसार अब तेस्रो पटक शेरबहादुर देउवा काङ्ग्रेसको सभापति बन्न पाउनुहुन्न । दुईपटक मात्र सभापति बन्न पाउने वैधानिक ब्यवस्थाले गर्दा अर्को महाधिवेशनमा काङ्ग्रेसले नयाँ नेतृत्व पाउने निश्चित छ । देउवापछि डा. शेखर कोइराला सभापति बन्ने सम्भावना ज्यादा भएकोले गगनमा नराम्रो छट्पटी देखापरेको छ । देउवापछि आफै सभापति बन्ने तयारीमा पूर्णबहादुर खड्का हुनुहुन्छ, त्यसैले पूर्ण र गगन दुवैले साझा प्रतिपक्षीका रूपमा डा. शेखर कोइरालालाई लिन थालेका छन् । खड्का र थापामा कतै देउवाले डा. शेखरलाई कार्यवाहक सभापतिको जिम्मेवारी दिने हुन् कि भन्ने चिन्ता देखापरेको छ । ५५ वर्षको भएपछि राजनीतिबाट विश्राम लिने घोषणा गरेका गगन ५५ वर्ष पुग्न छ वर्ष मात्र बाँकी रहेको छ । त्यसैले उनी जतिसक्दो चाँडो पार्टी सभापति र प्रधानमन्त्री बन्न हतारिएका छन् । काङ्ग्रेसमा सहजै उक्त अवसर पाउने स्थिति बनेन भने गगन जुनसुकै कदम चाल्न तयार देखिएका छन् ।

पूर्ण खड्काले च्यापेका कारण शेरबहादुर देउवाबाट गगनविरूद्ध कुनै ठोस कदम चालिएको छैन, तर यही स्थिति कायम रहेमा देउबाबाट कुनै पनि बेला कुनै पनि स्तरको कदम चालिन सम्भव छ । डा. शेखरले बुद्धि पुऱ्याए भने देउवाबाट डा. कोइरालालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएर आफू सर्वोच्च नेताको भूमिकामा रहने बलियो सम्भावना छ । हो, यही स्थिति आउन नदिन पूर्ण र गगन एकमत भएका छन् । तर गगनलाई जति सकिन्छ त्यति सांसद लिएर बाहिरिन केपीले प्रेरित गरिरहेकोले प्रधानमन्त्री दिइने र पाउने ग्यारेण्टी भएमा गगन काङ्ग्रेस फुटाउन सजिलै तयार हुने बताइन्छ ।