photo: rss
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रवि लामिछानेले भारतले उसको संसद् भवनमा नेपाली भूभागसहित नक्सा राखेको विषय कूटनीतिक वार्ताबाट समाधान गर्नुपर्ने धारणा अघिसारेका छन् । भरतपुर विमानस्थलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले नक्सा राखिएको विषयमा पार्टीको चासो रहेको बताए ।
यही असार ७ गते सातै प्रदेशका ७७ वटा जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टीको घण्टी बजाउने अभियान रहेको जानकारी गराउँदै उनले सबै जिल्लामा ७७ पटक घण्टी बजाएर एकबद्धता जनाउने कार्यक्रम रहेको बताए । पार्टीले आवश्यकताअनुसार सदन, टोल, बस्ती सबैतिर काम गर्दै जाने उनको भनाइ थियो ।
लामिछानेले सरकारले ल्याएको बजेटमा आफ्नो असन्तुष्टि रहेको जनाउँदै भने, ‘बजेट जुन ढङ्गले वितरण हुन्छ, त्यसको असर मेरो निर्वाचन क्षेत्रमा पनि परेको छ । श्रमदान गरेर बजेट खोजेर पनि कैयौँ आयोजनाहरू निर्माण गर्नेछौँ । दीर्घकालीन आयोजनाहरूका लागि स्थानीय सरकारको पनि जिम्मेवारी हुने भएकाले स्थानीय सरकारसँग पनि परामर्श गर्नेछौँ ।’
लमिछानेले स्थानीय विकासका कतिपय विषयमा संसद्को अधिकार क्षेत्रभन्दा बाहिर गएर कुरा राख्न नमिल्ने धारणा अघिसार्दै भने, ‘स्थानीय सरकारको अधिकारको विषयमा सङ्घीय सांसदले बोल्नु हुँदैन ।’
चितवन-२ का सांसदसमेत रहेका लामिछानेले रामनगरमात्र नभएर आफ्नो निर्वाचन क्षेत्रमा अन्य परियोजनाहरू सञ्चालन गर्नेबारे तयारीमा रहेको जानकारी दिए । उनले भने, ‘अध्ययन गरेपछि आवश्यक पर्ने काम गर्दै जानेछौँ । हामी आवश्यकताअनुसार काम गर्दै जानेछौँ । युवाहरूले प्रोत्साहन गर्ने ठाउँहरूमा पनि छौँ ।’ लामिछानेले रामनगरमा खानेपानीको समस्या भएर नै श्रमदानमा पानीको आयोजना निर्माण गरेको बताए ।
प्रतिक्रिया