‘बार्गेनिङ पावर’ बढाउन समाजवादी मोर्चा !

‘बार्गेनिङ पावर’ बढाउन समाजवादी मोर्चा !


एमालेइतर वामपन्थी तथा कम्युनिष्टहरू मोर्चाबद्ध भएका छन् । अदृष्य शक्तिका निम्ति प्रिय भूमिका निर्वाह गर्दै आएका बाबुराम भट्टराई र प्रचण्डबीच गत वर्ष सम्वाद हुँदा समाजवादी केन्द्र स्थापना गर्ने र, त्यसैलाई नयाँ राजनीतिक शक्तिका रूपमा विकाश गर्ने भन्ने समझदारी बनेको थियो । त्यसलगत्तै भट्टराईले निर्वाचन आयोगमा हतार-हतार समाजवादी नाममा पार्टी दर्ता पनि गरेका थिए । तर अहिले समाजवादी मोर्चा बन्दा भट्टराई छुटेका छन् । उनलाई बोकेर हिँड्ने मानसिकता कुनै नेताको नभए पनि उपेन्द्र यादवले बाबुरामलाई सामेल गराउन नसकिने अड्डी लिएपछि सबैले सन्चो मान्दै उनलाई मोर्चामा सामेल नगराउने भएका छन् । बाबुरामबाहेक अधिकाङ्श पूर्व तथा वर्तमान माओवादीहरू समाजवादी मोर्चामा समेटिएका छन् ।

यसरी समाजवादी मोर्चा बनाइनुको कारण धर्मनिरपेक्षता, सङ्घीयता, गणतन्त्र र जातिवादी अवधारणा जस्ता उपलब्धीहरूको रक्षा गर्नु भएको सम्वद्ध नेताहरूले बताएका छन् । कारण जे बताइएपनि मोर्चा गठनको मूल कारण सरकारको स्थायित्व र दुई ठूला दलसँगको बार्गेनिङ क्षमता बढाउनुलाई मानिएको छ । प्रचण्डले आफ्नो राजनीतिक हैसियत बढाउन भित्रभित्रै बृहत् वामपन्थी मोर्चा निर्माणको कसरत पनि गरिरहेका छन् । वामपन्थी एकतामा केपी ओली बाधक रहेको ठहर प्रचण्ड र माधव नेपाललगायतका नेताहरूको छ । ओलीलाई एक्ल्याउँदै जाने रणनीतिक चालका रूपमा पनि समाजवादी मोर्चालाई लिइएको छ ।

मोर्चामा मोहन वैद्य र मोहनविक्रमको समूहलाई समेत समेट्न खोजिएको भएपनि केही सैद्धान्तिक र प्राविधिक कारणवश उनीहरू सामेल हुन नसकेको बुझिन्छ । उपेन्द्र यादवलाई प्रधानमन्त्री बनाएर नयाँ सत्ता गठबन्धन बनाउने केपीको योजना तुहाउनका निम्ति पनि समाजवादी मोर्चा घोषणा गर्न प्रचण्डमाथि दबाब बढेको थियो । प्रचण्डविरूद्ध बहुमत जुट्ने स्थिति भइदिएको भए उपेन्द्र यादव यस मोर्चामा सामेल नहुने निश्चित मानिन्छ । तर, मोर्चामा सामेल भएकै कारण केपीको योजनालाई तात्विक असर पर्ने देखिन्न । वर्तमान सत्ता गठबन्धनविरूद्ध बहुमत पुग्ने स्थितिमा उपेन्द्र मोर्चा सम्हालेर बसिरहने विश्वास गरिएको छैन । माधव र केपीबीच समझदारी बनेको र, जनमत र नागरिक उन्मूक्ति दल ओलीको मोर्चामा सामेल हुन मन्जुर भएको अवस्थामा उपेन्द्र एक मिनेट पनि ढिला नगरिकन समाजवादी मोर्चाबाट बाहिरिने छन् । तथापि, यसले यादव र माधवको बार्गेनिङ पावर भने अवश्य बढाइदिएको छ । मोर्चा गठनपछि ‘बत्तीससिटे’ दलका नेता प्रचण्डको समेत आत्मविश्वास बढेको छ । उनीहरूले आगामी संसदीय निर्वाचनमा एउटै चुनावचिन्ह लिएर मैदानमा उत्रिने सम्मको कल्पना गरेका छन् ।

अरु जे भएपनि समाजवादी मोर्चा बनेपछि नेत्रविक्रम चन्द विप्लब र प्रचण्ड एकै ठाउँमा आउने पृष्ठभूमि तयार भएको छ । नारायणकाजी श्रेष्ठप्रति आफ्नो विश्वास नरहेको, जनार्दन शर्मा आफ्ना निम्ति चुनौती बन्दै गएको, वर्षमानको स्वास्थ्यस्थिति कमजोर भएको र कृष्णबहादुर महराको हैसियत खस्किएको ठान्ने प्रचण्डले विप्लबको साथ मिल्दा आफू बलियो हुने ठानेका छन् । जे होस्, मोर्चा बनेपछि सम्बद्ध दलका नेताहरूले आफ्नो भाउ बढेको महसूस गरेका छन् र, काङ्ग्रेस-एमालेसँग उनीहरूको बार्गेनिङ पावर बढेको ठानिएको छ ।