सभापति शेरबहादुर देउवा रक्षात्मक बन्दै गएपछि महामन्त्री गगन थापा असमयमै नेतृत्व हत्याउन ज्यादा आक्रामक ढङ्गले प्रस्तुत हुन थालेका छन् । काङ्ग्रेसको विधानअनुसार देउवा अर्कोपटक सभापति बन्न सक्दैनन्, दुई कार्यकाल पूरा भएपछि तेस्रोपटक सभापति पदमा दाबी गर्ने सुविधा काङ्ग्रेस विधानले दिएको छैन । २०८४ सालमा संसदीय निर्वाचन हुनुभन्दा करिब एक वर्षअघि नै काङ्ग्रेसले नयाँ सभापति पाउने निश्चित छ । तर गगन त्यसबेलासम्म धैर्य गर्ने स्थितिमा देखिएनन् । अहिले नै देउवालाई पदमूक्त गरेर आफ्नो मार्ग प्रशस्त गर्न उनी हतारिएका छन् ।
आफूभन्दा वरिष्ठ नेताहरूलाई भ्रममा राख्दै आफ्नो हैसियत बढाउने चाल चल्दै आएका गगनले सबैभन्दा पहिले कृष्ण सिटौलालाई नेता मान्ने झाँसा दिए, त्यसपछि डा. शेखर कोइरालालाई नेता मान्छु भन्दै कोइराला क्याम्पको मत लिएर महामन्त्री पदमा विजयी बने । महामन्त्री बनिसकेपछि उनी काङ्ग्रेस संसदीय दलको नेतामा चुनाव लड्न आफै अग्रसर भए, देउवाको विकल्प शेखर नभइ आफै भएको सन्देश दिन थापा चाहन्थे ।
अब देउवापछिको सभापति पनि गगन नै बन्न चाहन्छन् । त्यसनिम्ति उनले अहिले देखि नै उपसभापति पूर्णबहादुर खड्कालाई मनमाफिक ढङ्गले उपयोग गर्न थालेका छन् । भनिन्छ, गगनले देउवालाई पन्छाएर पूर्ण खड्कालाई सभापति बनाउन सहयोग गर्ने आश्वासन दिइरहेका छन् र, गगनको यस्ता कुराले पूर्णलाई निकै प्रशन्न तुल्याएको छ । गगनले पूर्ण खड्कालाई झैँ डा. शेखर कोइरालालाई पनि देउवालाई हटाएर सभापति बन्न सहयोग गर्ने वचन दिएका छन् । दुवैथरी नेताहरूलाई लडाएर आफू सभापति बन्न जाल रचेको जानकारी खड्काले नपाए पनि डा. कोइरालाले गगनको चाल राम्रैसँग बुझेको देखिन्छ । त्यसैले उनले केपीको प्रधानमन्त्री बन्ने प्रस्तावलाई पनि सिधै अस्वीकार गरिदिए र, देउवाविरूद्धका गतिविधिमा पनि कोइराला होशियार बनेका छन् । उनी देउवालाई बलजफ्ती हटाउने कुराको विरूद्ध उभिएका छन् ।
कोइरालामा आएको परिवर्तनले गगनलाई थप छट्पटी बढाएको छ भने देउवा स्वयमको चाहिँ कोइरालाप्रति सम्मान बढाएको बुझिन्छ । गगनले ‘दादागिरी’ बढाउँदै लगेमा अन्ततः देउवाले डा. शेखरलाई कार्यवाहक सभापति बनाएर अघि बढ्न सम्भव देखिन्छ । त्यस्तो अवस्थामा गगन काङ्ग्रेसबाट अलग्गिने या अर्को कुनै पार्टी प्रवेश गर्ने अनुमान पनि गर्न थालिएको छ ।
प्रतिक्रिया