सरकार बदल्ने खेललाई मात्र राजनीति ठान्ने भूलले नेपाली राजनीतिलाई निकै अप्ठ्यारो ठाउँमा पुऱ्याउन सक्ने सङ्केतहरू देखिन थालेका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको एकसूत्रीय लक्ष्य सरकार परिवर्तन रहेको छ र, प्रचण्डले दिएको धोकाको बदला लिएर मात्र विश्राम लिने मनस्थितिमा ओली रहनुभएको उहाँको कार्य ब्यवहारले दर्शाएको छ । गत पौष २६ गते आफूले बनाइदिएको प्रधानमन्त्री प्रचण्डलाई काङ्ग्रेसले विश्वासको मत दिएपछि झस्किनु भएका ओली ‘हेर्दाहेर्दै प्रचण्ड अर्कैको बन्नुभएपछि’ उहाँमा बदलाको भावना नराम्रोसँग उर्लिएको महसूस उहाँकै निकटवर्तिहरूले गरेका छन् ।
प्राप्त जानकारीअनुसार तीन स्थानको उपनिर्वाचन सम्पन्न भएपछि ओलीले ‘बत्तीससिटेले प्रधानमन्त्री बन्न मिल्छ भने एक्काइस सिट भएकाले किन नमिल्ने’ भन्दै रास्वपा अध्यक्षलाई प्रधानमन्त्री बन्ने आन्तरिक गृहकार्यमा लाग्न प्रेरित गर्नुभएको थियो । राप्रपा अध्यक्षलाई समेत साथ लिएर रास्वपाले गरेको गृहकार्य सफल हुने नदेखिएपछि केपीले काङ्ग्रेसभित्रको अन्तरविरोधमा खेल्ने प्रयास गर्नुभयो । उहाँले काङ्ग्रेसको दुईमध्ये एक महामन्त्री रहेका गगन थापालाई प्रधानमन्त्री बनाइदिने विश्वास दिलाएर काङ्ग्रेस फुटाइदिने योजना बनाउनुभयो र, गगन पनि केही दिन काङ्ग्रेस फुटाएर भएपनि प्रधानमन्त्री बन्ने गृहकार्यमा जुटे ।
थापाका प्रयासबाट पानी नफेरिने देखिएपछि केपीले डा. शेखर कोइरालालाई प्रधानमन्त्री बनाइदिने प्रस्ताव राख्नुभयो । ओलीको प्रस्तावबाट कोइराला प्रशन्न हुनुभए पनि उहाँलाई नेपाली राजनीतिमा बाह्य प्रभावबारे राम्रो जानकारी भएकोले गगन झैँ प्रस्ताव आउनेबित्तिकै बहकिनुभएन । डा. कोइरालाले ‘दायाँबायाँ’ बुझ्दा ओलीको प्रयास सफल हुने सङ्केत पाउनुभएन, त्यसलाई काङ्ग्रेस फुटाउने चालका रूपमा उहाँले बुझ्नुभयो र, त्यसपछि कुनै प्रयास नै नगरी कोइराला चुपचाप रहनुभयो ।
यसरी काङ्ग्रेसमा खेल्न खोजिएको खेल सफल नहुने देखिएपछि पनि ओली शान्त रहन सक्नुभएन । उहाँले पछिल्लोपटक जसपा नेता उपेन्द्र यादवलाई प्रधानमन्त्री बनाउने प्रस्ताव राखेर खेल्दै आउनुभएको छ । जसपाका १२ सांसद आएमा जसरी भएपनि माधव नेपालको समूह (१० जना)लाई एमालेमा समेट्ने र रास्वपाका २१ तथा राप्रपाका १४ मा जनमत पार्टीका ६ र नागरिक उन्मूक्तिका ४ जना थपेर सूरक्षित बहुमत पुऱ्याउने योजना केपीको हो । यो सङ्ख्यामा स्वतन्त्र सांसद डा. अम्रेश कुमार सिंहलाई पनि थप्ने योजना केपीको रहेको बताइन्छ । तर केपीको अहिलेसम्मको प्रयास भ्यागुतोको धार्नी पु¥याउनुसरह भएको छ ।
माधव नेपाल र उपेन्द्रलाई मिलाएपनि उनिहरूको समूहका सबैले ओलीलाई समर्थन दिने अवस्था छैन । जबर्जस्ती गरिए दुवै समूह विभाजित हुने सम्भावना देखिन्छ । उपेन्द्र यादव र माधव नेपाललाई समेत समेटेर समाजवादी मोर्चा कस्नुको दीर्घकालीन महत्व जेसुकै भएपनि तत्कालका निम्ति आफ्नो नेतृत्वको सरकार सूरक्षित तुल्याउन यस्तो मोर्चा कामयावी हुने विश्वास प्रचण्डले गर्नुभएको छ । तर अहिले सफल नभएपनि केही महिनापछि केपीको प्रयास सफल नहोला भन्न सकिन्न, अन्तर्राष्ट्रिय समर्थन र सन्तुलन मिलाउन सकेको अवस्थामा केपी सफल बन्नुहुने देखिएको छ ।
प्रतिक्रिया