एमालेमा उदाएका ‘परिपक्व’ युवा !

एमालेमा उदाएका ‘परिपक्व’ युवा !


लोकतान्त्रिक शासन प्रणालीमा राजनैतिक दलको भूमिका निर्विकल्प छ । इतिहासमा दलीय प्रतिष्पर्धाको अभ्यास ७० वर्षभन्दा पनि लामो छ । ७० वर्षको इतिहासमा झण्डै ७० वटै राजनैतिक दलहरू विकासको विश्वास लिएर आए । तैपनि धेरै दल इतिहासमै बिलाए ।

गौरवमय विराशत बनाउँदै आएका दलहरू अझ विशाल र विश्वसनिय हुने प्रयास गर्दै छन्, तर पुराना राजनैतिक दलप्रति युवा तथा पेशाकर्मीहरूको विश्वास बलियो देखिँदैन । राजनैतिक दलप्रति युवाहरू बीच आकर्षणको सट्टा आक्रोश बढ्दो छ ।

स्थानीय तहलाई संस्थाकोरूपमा सबलीकरण गर्न, लोकतान्त्रिक मूल्य-मान्यता स्थापित गर्न दलहरूको योगदान छ । तर अहिले अधिकांश युवा यो मान्न तयार छैनन् । युवाहरू पुराना दलहरूको योगदानलाई वास्ता गर्दैनन् । ती दलका दोष र कमजोरी मात्र खोजिरहेका छन् । भ्रष्टाचार र अनियमितामा दलहरूले प्रत्यक्ष अप्रत्यक्षरूपमा दुरुत्साहन गरेपछि युवाको आक्रोश अझ बढेको छ ।
यस्तो अवस्थामा पुराना दलका नयाँ नेताहरू के सोच्दै होलान् ? युवालाई थप योग्य, सक्षम र नैतिकवान बनाउन के गर्दै होलान् ? के उर्जाशील र उत्साहित जमातलाई पलायन हुनबाट जोगाउने उपाय होला ? यस सन्दर्भमा एक उदाहरणीय पात्र बनेर राजनीतिक क्षेत्रमा देखापरेका छन् महेश बर्तौला । पुरानो दल नेकपा (एमाले)का युवा नेता बर्तौलाको परिपक्व प्रस्तुति देखेर आश गर्नेहरू बढेका छन् ।

आफ्नो उमेरभन्दा दोब्बर समय दलगत सङ्घर्ष गरेका पार्टीमा अवसर पाउने युवा नेताहरू निक्कै थोरै छन् । तिनै औंलामा गन्न सकिने पात्रमध्ये पर्छन् महेश । राष्ट्रिय राजनीतिमा पारङ्गत भएका पुराना दलले पत्याएका युवा हुन् उनी । पुराना दलका तर्फबाट मनोनयमा पर्नु चुनावी प्रतिष्पर्धामा आफ्नै राजनितिक गुरू विरोध खतिवडालाई जित्नु तथा सदनभित्र सचेतकको जिम्मेवारी बहन गर्नु आफैमा महेशको महत्वपूर्ण भूमिका हो ।

सरल शैली

अरूलाई आदर गरेर बोल्दा कहिल्यै सानो भइदैन भन्ने आदर्श बनाएका बर्तौला बोलीमा मिजासिला त हुने नै भए, विषयबस्तुमा पनि परिपक्क देखिन्छन् उनी । संसद् भवनभित्र युवा सांसदहरू बोल्न पाउदा उग्ररूपमा प्रस्तुत हुने प्रचलन भए पनि परिणाम शुन्य देखिन्छ । तर महेशको सामान्य टिप्पणीमै उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले संसदसमक्ष माफी मागे । प्रायशः रोष (आक्रोश) देखिने सदनभित्र यो घटनाले चर्चा पाएन । तर ‘संसदीय शैली र संस्कृति’ हेर्न चाहनेका निमित्त एक युवा सांसदसँग जोडिएको यो महत्वपूर्ण घटना हो ।

सबैप्रति आदरभावले प्रस्तुत हुने महेश अरूलाई आदर गर्नु भनेको आफ्नै बैंकखातामा नगद जम्मा गर्नु जस्तै मान्छन् । ‘आदरभाव पूँजी हो, जसको बदलामा आफैलाई ब्याजसहित प्राप्त हुन्छ । जबसम्म झुकिँदैन तबसम्म टिपिँदैन, टिप्नु छ भने निहुरिन जान्नुपर्छ । हामी अरूलाई कुन स्थानमा राख्छौँ- त्यसैको आधारमा हाम्रो स्थान तय हुन्छ’…, यी हुन् महेशका मान्यता ।

राजनीतिमा ढाँटेर, भ्रम छरेर कुनै मान-सम्मान, पद-प्रतिष्ठा वा ब्यक्तिगत स्वार्थ प्राप्ति गर्नेको संख्या बढिरहेका बेला महेश बर्तौला भने सरल लक्ष्य बताउँछन्- निःस्वार्थ भावको राजनीति !

बर्तौलाको विचारमा भौतिक पूर्वाधारहरूको विकास, गरिबीकै कारण शिक्षाबाट बञ्चित हुनु पर्ने दुःखद् परिस्थितिको अन्त्य, स्वास्थ्य क्षेत्रमा उल्लेख्य सुधार, सञ्चार सुविधामा वृद्धि, पिउने पानी अभावको अन्त्य, प्रयाप्त सिंचाइ सुविधाको वृद्धि, जनताको चुल्हो बल्ने अधिकारको सुनिश्चितता, समृद्धि, सुशासन, सार्वजनिक सेवा प्रवाहमा गुणस्तरीयता जस्ता विषयहरू साझा एजेण्डा हुनुपर्छ । श्रमलाई उत्पादनमा जोडी उद्यमशीलताको विकासमार्फत रोजगारीको सिर्जना हुनु युवाहरूको प्राथमिकताको विषय हो भन्ने महेशको ठम्याइ छ । परिणाममुखी कामले युवाहरूलाई आकर्षण गर्न सकिने महेशको बुझाइ रहेको छ । ‘राम्रो योजना, सरोकारवाला पक्षहरूसँग गतिलो समन्वय र ब्यवस्थापनका साथ अगाडि बढ्न सकिन्छ’- महेश भन्छन् ।

मकवानपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ को सदस्यको रूपमा क्रियाशील बर्तौला कानुन विषयका साथै एमबीएस र राजनीतिशास्त्रमा स्नाकोत्तर हुन् । उनी मकवानपुरलाई औद्योगिक केन्द्र र पर्यटकीय गन्तव्य बनाउन सकिनेमा विश्वस्त छन् ।

प्रस्तुति : सुरेश सुवेदी