नेकपा विभाजनको यथार्थ विश्लेषण आवश्यक : अध्यक्ष ओली

नेकपा विभाजनको यथार्थ विश्लेषण आवश्यक : अध्यक्ष ओली


तस्बिर : रासस

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट आन्दोलनको हितका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनको यथार्थ विश्लेषण आवश्यक रहेको धारणा राखेका छन् । एमाले नेता केशवप्रसाद वडालद्वारा लिखित सिंहावलोकन पुस्तकको राजधानीमा विमोचन गर्दै उनले नेकपा विभाजनको यथार्थ विश्लेषण गर्न सके भविष्यमा राम्रो हुने तर्क गरे ।

‘नेकपा विभाजन किन कसरी, के उद्देश्य, आन्तरिक र वाह्य कारण के थियो त्यसको यथार्थ विश्लेषण गर्नुपर्छ’, उनले भने, ‘नेकपा विभाजन हुनुका कारण स्वचालित थियो वा परचालित के थियो ? त्यसको विश्लेषण जरुरी रहेको छ । यथार्थ विश्लेषणले नेपालको कम्युनिष्ट आन्दोलनको हित गर्दछ ।’ नेपालमा भएका आन्दोलनले स्वतन्त्र क्रान्तिको रुप लिन नपाएपछि असफल भएको उनको भनाइ थियो । ‘नेपालका आन्दोलनले स्वतन्त्र क्रान्तिको रुप लिन पाएन, लिएन र त्यसरुपमा सफल पनि भएन’, अध्यक्ष ओलीलले भने ।

२००७ सालमा नेपाली जनताको बलले भएको आन्दोलन भए पनि तर सम्झौता नेपाली र नेपालका राजनीतिक शक्तिले वार्ता गरेर टुङ्ग्याउन नपाएको ओलीले बताए । ‘विसं २०३६ को आन्दोलन जनमत सङ्ग्रहमा गएर टुङ्गियो । २०४६ सालको आन्दोलन एउटा सम्झौतामा गएर टुङ्गियो । २०६२/२०६३ सालको आन्दोलन सम्झौतामा गएर टुङ्गियो’, उनको भनाइ थियो ।

अन्तराष्ट्रिय क्षेत्रमा पनि राजनीतिक पुरानै राजनीतिक नभएको भन्दै कम्युनिष्ट भनेर जे बुझिन्थ्यो अहिले त्यो पुरानो कम्युनिष्ट आज नभएको प्रस्ट पार्दै अध्यक्ष ओलीले नयाँ ढङ्गले सामाजिक परिवर्तन गर्न सकिन्छ भनेर जनताको बहुदलीय जनवादी ल्याइएको बताए ।

पुस्तकमा नेपाल कम्युनिष्ट भित्र के के खालका समस्या रहेका छन्, त्यसको पनि पुस्तकको अर्को संस्करणमा उठान गर्नुपर्ने धारणा उनले राखे । घटनासँगसम्बन्धी भएर प्रवृत्तिको विश्लेषण पुस्तकमा गरियो भने पुस्तक महत्त्वपूर्ण हुने उनको भनाइ थियो । लेखक वडालले पुस्तक नेपाल कम्युनिष्ट पार्टीको स्थापनादेखि १०औँ महाधिवेशनसम्मको बारेमा लेखिएको जानकारी दिए ।