पचपन्न वर्षभित्रै प्रधानमन्त्री र पार्टी सभापति बनिसक्ने अति महत्वाकाङ्क्षी उद्देश्यका साथ काङ्ग्रेसमा सक्रिय रहँदै आएका महामन्त्री गगन थापा र नेता डा. शेखर कोइरालाबीच दूरी बढेको छ । शेरबहादुर देउवालाई जसरी भएपनि पाखा लगाएर अघि बढ्न अग्रसर रहेका गगनलाई शेखर कोइरालाको साथ नरहने भएपछि दुईबीच दूरी बढेको हो ।
भनिन्छ, गगन देउवापछिको सभापति आफै बन्न चाहन्छन् र, संसदीय दलको चुनावमा देउवासँग लडेर उनले प्रधानमन्त्री पनि आफै बन्न चाहेको सन्देश दिएका छन् ।
गत वर्ष ‘बुढानिलकण्ठ’मा शेखर कोइरालालाई कार्यबाहक सभापति बनाएर देउवाले संसदीय दलको नेता भइ सरकारको नेतृत्व मात्र लिनुपर्छ भन्ने प्रस्ताव छलफलका निम्ति प्रस्तुत भएको थियो । यस कुराको जानकारी पाएपछि अनायासै उपसभापति पूर्णबहादुर खड्का र गगन थापा निकट बन्न पुगेका थिए । अहिले पनि खड्का र गगनबीच निकटता कायम रहेको छ, गगनले खड्कालाई आगामी महाधिवेशनमा सभापतिमा समर्थन गर्ने वाचा गरेका छन् ।
शेखरलाई कार्यबाहक सभापति बनाउने कुराको विरूद्ध पूर्णबहादुर खड्का रहेको र, गगन पनि उक्त कुराको विरूद्धमा भएकोले दुईबीच निकटता बढेको बताइन्छ । यतिबेला पूर्ण खड्का गगनको सहयोगमा सभापति बन्ने विश्वासमा रहेका छन् । यस्तै विश्वासमा एकपटक कृष्ण सिटौला थिए र, एक समय यस्तै विश्वासमा डा. कोइराला पनि रहेका हुन् । पूर्ण खड्कासँगको गठबन्धनपछि गगनले मौका पाउने बित्तिकै ‘काम लाग्ने मानिस होइनन्’ भनेर शेखरको बारेमा नकारात्मक टिप्पणी गर्ने गरेका छन् ।
पछिल्लो समयमा गगन र शेखरबीच सामान्य सम्वादको स्थिति समेत नरहेको बुझिएको छ । शेखर र शेरबहादुरबीच सहमति बन्न नदिन गगन र खड्काले भरमग्दुर प्रयास गर्दै आएका छन् । तथापि, कोइराला र देउवाबीच समझदारी बन्ने सम्भावना भने बढ्दै गएको छ ।
प्रतिक्रिया