नेकपा एमालेभित्र काङ्ग्रेससँग गठबन्धन बनाएर भएपनि प्रचण्ड नेतृत्वलाई बिस्थापित गर्नुपर्ने आवाज जोडदार रूपमा उठ्न खोज्दैछ । अध्यक्ष केपी शर्मा ओलीमाथि काङ्ग्रेससँग सहमति बनाउनका निम्ति युवा पुस्ताबाट दबाब पर्न थालेको छ ।
ओलीले काङ्ग्रेस र माओवादी बाहेकको गठबन्धन बनाउन गरेको प्रयास सफल हुन नसकेपछि दोस्रो र तेस्रो पुस्ताका नेताहरू काङ्ग्रेससँगको गठबन्धनका पक्षमा उभिएका हुन् ।
स्मरणीय छ, गत पौषमा केपीले प्रचण्डलाई नबोकेको भए काङ्ग्रेस-एमालेको संयुक्त सरकार बन्ने निश्चित थियो । शेरबहादुर देउवा एमालेको साथ लिएर सरकारको नेतृत्व लिन तयार भएका थिए र, केपीले पनि त्यसैगरी अघिबढ्ने वचन दिएका थिए । तर अचानक प्रचण्डलाई प्रधानमन्त्री बनाउने निर्णयमा केपी पुगेपछि देउवाले आफूमाथि ठूलो धोखा भएको महसूस गरेका थिए । प्रचण्डभन्दा पनि केपीबाट मिलेको धोखालाई देउवाले अहिलेसम्म बिर्सन सकेका छैनन् । त्यसैले कुनै न कुनै ठूलो शक्तिले सहजकर्ताको भूमिका निर्वाह नगरेसम्म देउवा केपीकै विश्वासमा अघि बढ्ने मानसिकतामा छैनन् ।
देउवा र केपीलाई मिलाउन पश्चिमाहरूले कुनै रुचि नलिएको यस स्थितिमा भारतबाट सकारात्मक सन्देशको अपेक्षा सम्बद्ध पक्षले गरेको बुझिन्छ । तर भारत संविधान संशोधन गरेर नेपाललाई हिन्दुराष्ट्र बनाउने निष्कर्षमा काङ्ग्रेस र एमाले पुगेको अवस्थामा मात्र दुई पक्षबीच समन्वयात्मक भूमिका निर्वाह गर्न तयार हुनसक्ने विश्वास विश्लेषकहरूको छ । काङ्ग्रेस नेतृत्व हिन्दुराष्ट्रका पक्षमा सकारात्मक रहेको महसूस गर्न थालिएको छ, अब एमाले नेतृत्व पनि त्यसनिम्ति तयार हुने हो भने सत्ता गठबन्धन बदलिने र, नेपाल हिन्दुराष्ट्र बन्ने निश्चित हुनेछ । एमाले हिन्दुराष्ट्रको पक्षमा स्पष्ट ढङ्गले नआएमा तत्काल काङ्ग्रेस-एमाले साझेदारी हुन मुस्किल छ ।
प्रतिक्रिया