मातापिता वा जेष्ठनागरिकलाई इश्वरपछिको दोस्रो उच्च स्थानमा राखिएको छ । बुढ्यौली अर्थात् जेष्ठनागरिक अपमान बोझको स्वरूप होइनन्, समाजको गहना हुन् । कुनै पनि कारणले बुढ्यौली वा जेष्ठनागरिकलाई सम्मान नगर्ने, अपहेलित गर्नेले त्यो समाज र देशलाई माया गर्दैन ।
✍ शेखर ढुङ्गेल
वास्तबमा जन्मेकामध्ये अति भाग्यमानी हुन् जेष्ठ नागरिक, जसले बुढ्यौलीको पनि अनुभूति गर्न पाएका हुन्छन् । लेखको सन्दर्भ आफ्नै नेपाली समाजसँग सम्बन्धित छ । जेष्ठ नागरिक विश्वमै सम्मानित र राज्यले गम्भीरतापूर्वक जेष्ठ नागरिकको उचित मर्यादा दिएर आवश्यक सहायक बनेको हुन्छ । नेपालमा भने कतिपय सन्दर्भमा जेष्ठ नागरिकलाई अपमानित गर्ने र अयोग्य ठान्ने दूराशयपूर्ण ब्यवहार भएको/रहेको पाउन सकिन्छ ।
वर्तमान नेपालको जेष्ठ नागरिक डोकोनाम्लो बोकेको, गाईबाख्राको भकारो सोहोरेको, उकाली-ओरालीमा पैताला खियाएको नदीनाला तर्दै लड्दै उठ्दै आजको नेपाल निर्माण गर्ने पुस्ता हो । आजको विकसित समाजको मजबुत जग हो आजको जेष्ठ नागरिक । बुढ्यौली अनुहारको सुन्दरता निखारेर हृदयको सुन्दरता बनाउन निखारिएको यात्रा तय गरेको उपलब्धि हो । बुढ्यौली ख्याल-ख्यालमै कहाँ प्राप्त हुन्छ र ? अतीतलाई जीवन्तता दिने बर-पिपलको अजम्बरी वृक्ष हो बुढ्यौली । बुढ्यौलीको सुन्दरता र उपलब्धि ‘म कति खुशी या सुखी छु’ होइन ‘मेरो कारणले कति खुशी र सुखी बने’- यो अमूल्य हो । सन्तान दरसन्तानको खुशी र सुखको मुहान बुढ्यौलीको स्वरूप हो ।
आजको नेपालको जेष्ठ नागरिक टायरको चप्पल, टुकी लालटेन परालको राँकोको उज्यालोले हुर्केको हो । खालीखुट्टा पैदल भारी-भान्से हुँदै जीवन बुझेको गुरु हो । त्यो दुःखद तन्नेरी र यो सुखद आधुनिक प्रविधि भोग्ने पोख्त गुरु हुन् आजका बुढ्यौलीमा बाँचेका जेष्ठ नागरिक । छोरो/छोरी श्रीमान्/श्रीमती, बाउ/आमा, बाजे/बज्यै बनेको एउटा जब्बर पहाड हो बुढ्यौली, जसले त्यो र यो जमाना नियालिरहेछ । दुःख-सुख हण्डर यात्राको पाको अनुभव बटुलेको ठुलो भकारी या भण्डार हो बुढ्यौली अर्थात् देशको जेष्ठ नागरिक ।
नेपाल होस् कि कहीँ पनि जेष्ठ नागरिकलाई सम्मानित गर्नुपर्ने महत्वपूर्ण कारणहरू छन् । बुँदागत रूपमा बुढयौलीलाई यसरी गौरव गर्न सकिन्छ । बुढ्यौलीलाई अध्ययन र सम्मान गर्न सकिन्छ ।
१. घर र समाजको अनुभवी गुरु हुन् : घर कसरी चलाउने ? के-कस्ता कमजोरी भए, के-कति राम्रा भए कसरी राम्रो गर्न सकिन्छ ? समाजमा के-कस्ता घटना घटे, कस्तो परिणाम आयो, के गर्नुपर्ने थियो/पर्छ जस्ता जीवनका दैनिकीको लामो अनुभवबाट खारिएका हुन्छन् जेष्ठ नागरिक । सही र गलत ब्यवहारको भुक्तभोगी हुन्छन् । घर-समाजका अम्बल गुरु हुन् जेष्ठ नागरिक ।
२. अनुभवको पहाड हुन् : समयको भोगाइले दुईचार बोली सुनेर र अनुहार हेरेर अर्कोलाई चिन्न सक्ने बनाएको हुन्छ । त्यसैले जेष्ठनागरिकको सुझावलाई अर्ति भन्ने गरिन्छ ।
३. दुःख पीडा सङ्घर्षको शालिग्राम हुन् : समयको भोगाइले दुईचार बोली सुनेर र अनुहार हेरेर अर्कोलाई चिन्न सक्ने बनाएको हुन्छ । त्यसैले जेष्ठनागरिकको सुझावलाई अर्ति भन्ने गरिन्छ ।
४. सपना र महत्वाकाङ्क्षाको विश्राम लिएका योगी हुन् : आफ्नो हैसियत र मानसिक उर्जाको बिसर्जन गरी अलौकिक जीवनको यात्रा प्रारम्भको अवस्था हो ।
५. वासनाको अन्त्य गरेको सन्यासी हुन् : प्राकृतिक नियतिको सहायक बनेर सृष्टिकर्ताको लक्ष्य उद्देश्यअनुरूप लालचको वासनालाई त्यागेर शान्त मन र तनको सिमलको रुख हो ।
६. सुन्दर बगैँचाको परिपूर्णता हुन् ।
७. बच्चापन र युवावस्था सार्थक बाँचेको अविरल नदी हुन् ।
८. वेद गीता महाभारत रामायणका सारथि हुन् । आख्यानकर्ता हुन् ।
९. जेष्ठनागरिक सिल्पी कला-शास्त्र धर्म-संस्कृति भाषा-भेष र राष्ट्रको पहिचानका अविरल नदी हुन्, जीवन्तता दिने बरपिपलको अजम्बरी वृक्ष हुन् ।
१०. मृत्युको भय मनमा नराखेका जिउँदा हुन् ।
११. ब्यवहारको भारी बिसाएका सफल यात्री हुन् ।
१२. जीवनको अन्तिम यात्राको पुजारी हुन् ।
१३. जीवनको अद्वितीय समयको साक्षी हुन् ।
१४. उतारचढाव घामपानी असिना वर्षात् बाढी अनि ठेस लागेर उठेका मुर्ति हुन् ।
१५. सन्तान-दरसन्तानको गुहुमुतले लत्पतिएर सङ्ग्लिएर चोखिएर बनेको संस्कार संस्कृतिको मुहान हुन् ।
१६. बोल्ने इतिहास परम्पराको र साक्षी हुन्, उखानटुक्का हुन्, कथा हुन्, शास्त्र हुन्, सन्देश हुन्, दर्शन हुन् र वर्तमानको पहिचान हुन् ।
त्यसैले शास्त्र हो या शास्त्रीहरूले मातापिता वा जेष्ठनागरिकलाई इश्वरपछिको दोस्रो उच्च स्थानमा राखेका छन् । सम्मान आस्था भरोसा प्रेम गरेको छ । बुढ्यौली अर्थात् जेष्ठनागरिक अपमान बोझको स्वरूप होइनन्, समाजको गहना हुन् । गहना सुन पित्तल फलाम रुचिअनुसारको हुन्छन् । स्थानअनुसार उचित सम्मान र स्थान पनि पाउनुपर्छ/पाउँछन् । कुनै पनि कारणले बुढ्यौली वा जेष्ठनागरिकलाई सम्मान नगर्ने अपहेलित गर्नेले त्यो समाज र देशलाई माया गर्दैन । जो नयाँ पुस्ता आज जुन स्थानमा छ, त्यो स्थानको जग हाल्ने हुर्काउने बढाउने र संरक्षण गर्ने बुढ्यौली (जेष्ठनागरिक) हुन् । तसर्थ जो जहाँ छ, जसको भाग्यमा बुढ्यौलीको सेवा-सम्मान मर्यादा गर्ने अवसर जुटेको छ/जुट्छ । मन्दिरका देवताको रूपमा प्रेम र सम्मानपूर्वक बिनाकुनै बहाना र शर्तमा आफ्नो दायित्व निर्वाह गर्नुपर्छ ।
प्रतिक्रिया