बरामद भएको अवैध सुन अब के हुन्छ ?

बरामद भएको अवैध सुन अब के हुन्छ ?


त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको भन्सार छलेर अवैधरूपमा नेपाल भित्रिएको ठूलो परिमाणको सुन बुधबार राजस्व अनुसन्धान विभागले बरामद गऱ्यो । यसरी बरामद भएको सुन गुणस्तर तथा तौल परीक्षणका लागि अहिले नेपाल राष्ट्र बैंकअन्तर्गतको टक्सार महाशाखामा पुऱ्याइएको छ । यद्यपि टक्सारले यसको परीक्षण प्रक्रिया भने शुरु गरिसकेको छैन ।

पछिल्ला वर्षका अवैध सुन बरामद भएका घटना पटक-पटक दोहोरिएका छन् । भन्सार विभाग, राजस्व अनुसन्धान विभाग, नेपाल प्रहरीलगायतका निकायले अवैध सुन समात्ने गरेका छन् । राजस्व छलेर आएको सुन बरामद भएपछि त्यो स्वतः सरकारको सम्पत्ति हुन जान्छ । तर सरकारले सुन आफैं राख्ने नभई त्यो नेपाल राष्ट्र बैंकले राख्छ र सुनको मूल्य बराबरको रकम राष्ट्र बैंकले सरकारी खातामा जम्मा गर्छ । गत बुधबार बरामद भएको सुन हाल अनुसन्धानकै क्रममा रहेको र परीक्षणसमेत हुन बाँकी रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । ‘बरामद गरेर ल्याइएको वस्तु अनुसन्धान प्रक्रियाका लागि सुरक्षित राखिएको छ । राजस्व अनुसन्धान विभागले चिट्टी पठाएर प्रक्रिया अगाडि बढाउन भनिसकेपछि मात्रै यसको तौल र गुणस्तरको जाँच्ने प्रक्रिया शुरु हुन्छ’, नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाका निर्देशक थानेश्वर आचार्यले भन्नुभयो ।

बरामद गरेर ल्याइएको वस्तु प्राविधिक परीक्षण पछि मात्रै कुन धातु, कस्तो गुणस्तरको र कति परिमाणमा छ भन्ने खुल्नेछ । यसको प्राविधिक परीक्षणका लागि पनि निश्चित प्रक्रिया हुने आचार्य बताउनुहुन्छ । ‘राजस्व अनुसन्धान विभाग, राष्ट्र बैंकको टक्सार महाशाखा, वित्त व्यवस्थापन विभाग, मुद्रा व्यवस्थापन विभागलगायतका प्रतिनिधि रहेर त्यसलाई खोलिन्छ’, उहाँले भन्नुभयो, ‘बरामद गरेर ल्याइएको वस्तु मोटरसाइकलका पार्टस्भित्र लुकाइएको भनिएकामा ती के-के हुन सबै छुट्याएर त्यसलाई गाल्ने प्रक्रिया शुरु हुन्छ । गालेर ढिक्का बनाइन्छ र त्यसपछि तौल जोखिन्छ । त्यसपछि टक्सार महाशाखाको ल्याबमा सुन होकि होइन भनेर प्राविधिक परीक्षण गरिनेछ । परीक्षण भइसकेपछि कुन गुणस्तर को हो भनेर छुट्याइनेछ ।’

अनुसन्धान प्रक्रिया टुङ्गिसकेपछि उक्त सुन राष्ट्र बैंकले खरिद गर्नेछ । यसरी सरकारसँग सुन खरिद गर्दा राष्ट्र बैंकले अन्तर्राष्ट्रिय बजार मूल्यभन्दा पाँच प्रतिशत बढी रकम दिने गरेको आचार्यको भनाइ छ । यो मुद्दाको अदालती प्रक्रिया पूरा सकिसकेपछि उक्त सुनको मूल्य बराबरको रकम सरकारको खातामा राजस्वका रुपमा जम्मा हुन्छ भने सुन राष्ट्र बैंकमा सञ्चितीका रुपमा रहन्छ । यस्तो सुनबाट राष्ट्र बैंकले असर्फी बनाउने र बिक्री वितरणसमेत गर्ने गर्छ ।

  • रासस