उच्चतहको संरक्षणमा सुनतस्करी : सुनसाहुहरू भूमिगत !

उच्चतहको संरक्षणमा सुनतस्करी : सुनसाहुहरू भूमिगत !


प्रहरीबाट किन डराए प्रधानमन्त्री ?

सुनतस्करीका बारेमा छानवीन गर्न गठित समितिमा प्रधानमन्त्रीले राजस्व र भन्सारसम्बद्ध ब्यक्तिहरूलाई मात्र सामेल गराएका छन् । जसले तस्करी गराउँदै आएका छन् तिनैमध्येका कर्मचारीलाई समेत सहभागी गराएर छानवीन समिति गठन गर्नुले प्रधानमन्त्रीको नियतमाथि प्रश्न उठाएको छ ।

नेपालको इतिहासकै सबैभन्दा ठूलो सुन तस्करीको खुलासा भएपछि नयाँसडक क्षेत्रलाई केन्द्र बनाएर सुनका ब्यापारीहरू भूमिगत भएका छन् । सबभन्दा ठूला सुनतस्करको रूपमा चिनिएका ऋद्धिशिद्धी ज्वेलर्स विशालबजारका मालिक मोहन अग्रवाल निकै लामो समयदेखि सुन तस्करीमा संलग्न रहँदै आएका ब्यक्तिका रूपमा चिनिन्छन् । अग्रवाल सुन पक्राउ परेयता बेपत्ता भएका छन् । विशालबजार र आसपासका अन्य ठूला ब्यापारीहरू समेत प्रहरीबाट छलिन घर छोडेर आफन्त र साथीहरूको घरमा आश्रय लिन पुगेको सम्बन्धित क्षेत्रका ब्यापारीहरूको भनाइ छ । आफू र आफ्ना साथीहरूका निम्ति समेत सुन ल्याइदिने मोहन अग्रवालले भारतसम्म सुनको सन्जाल खडा गरेको बताइन्छ ।

सुनतस्करहरूले भन्सार र राजस्वका कर्मचारी तथा उच्च तहका राजनीतिकर्मीलाई समेत तस्करीको सन्जालमा जोड्ने गरेको बुझिन्छ । सुनको तस्करीलाई सहज बनाउनका लागि नै विमानस्थलको भन्सार क्षेत्रमा प्रहरीको भूमिकालाई शून्य करिब तुल्याइएको छ । विमानस्थल भएर सुनको तस्करी हुने गरेको सूचना प्राप्त गरेपछि गृहमन्त्री नारायणकाजी श्रेष्ठले तीन साताअगाडि भएको मन्त्रिमण्डलको बैठकमा विमानस्थलको भन्सारक्षेत्रमा प्रहरीको भूमिका सुनिश्चित गरिनुपर्ने माग राखेका थिए । तर, प्रधानमन्त्रीले गृहमन्त्रीको माग सुनुवाइ गरेनन् । विमानस्थल भएर आउने हरेक सामानको चेकजाँच गर्ने जिम्मेवारी राजस्व र भन्सार कर्मचारीहरूमा सीमित गरिएको छ । प्रहरीलाई त्यसरी भन्सार क्षेत्रमा ‘निषेध’ गर्नुको कारण बुझियो भने तस्करीको वास्तविक अवस्था र संलग्न ब्यापारीहरूबारे जानकारी पाउन सकिने ठानिएको छ ।

सुनतस्करीका बारेमा छानवीन गर्न गठित समितिमा प्रधानमन्त्रीले राजस्व र भन्सारसम्बद्ध ब्यक्तिहरूलाई मात्र सामेल गराएका छन् । जसले तस्करी गराउँदै आएका छन् तिनैमध्येका कर्मचारीलाई समेत सहभागी गराएर छानवीन समिति गठन गर्नुले प्रधानमन्त्रीको नियतमाथि प्रश्न उठाएको छ । प्रधानमन्त्रीले छानवीनमा प्रहरीको संलग्नतालाई सिधै अस्वीकार गरेको र, प्रहरी सूत्रका अनुसार गृहमन्त्रीले प्रहरीबाट छानवीन गराउने प्रस्ताव राख्दा पनि प्रधानमन्त्रीले त्यसमा असहमति जनाएका थिए ।

यसपटक सुन पक्राउको नेतृत्व गरेर चर्चामा आएका राजस्व अनुसन्धानका प्रमुख नवराज ढुङ्गाना आफै विवादास्पद र खोटो नियतका ब्यक्तिका रूपमा चिनिन्छन् । माओवादी पार्टीमा आवद्ध भएकै कारण कास्कीस्थित खुदी ठूलोढुङ्गाका नवराजले कमाइको सुवर्ण अवसर पाउँदै आएका छन् । वीरगन्ज भन्सारमा प्रमुख भएर रहँदा ढुङ्गानाले एक वर्षमै एक अर्बभन्दा बढीको सम्पत्ती जोडेको चर्चा चलेको थियो । पोखरा महानगरको कार्यकारी प्रमुख भएर रहँदा पनि भ्रष्टाचारकै कारण यिनको निकै बदनामी भएको थियो । कास्कीको रुपाकोटबाट बसाइँ सरी खुदीमा बसोबास गर्ने नवराजको अहिले काठमाडौंको रानीवनमा भब्य बङ्गला र उपत्यकाको धेरै स्थानमा जग्गा जमिन रहेको उनका निकटस्थहरू बताउँछन् ।

नवराजका बुबा पूर्ण ढुङ्गाना शिक्षक थिए, तर शिक्षक भएपनि उनि माओवादी पार्टीमा आवद्ध थिए । पूर्णले एकताक आसपासको क्षेत्रमा माओवादी बनेर निकै आतङ्क मच्चाएका थिए । अहिले तिनै पूर्णलाई गोरखनाथको शिष्य बनाएर बलभद्र गुरुको गतिविधिमाथि निगरानी गर्न प्रचण्डले खटाएको बताइन्छ । खानदानी माओवादी भएकैले प्रचण्डले नवराजलाई काखी च्याप्दै आएका छन् । र, नवराजले प्रचण्डको काखमा बसेर करोडौँ करोड आर्जन गर्दै आएका छन् । यसपटक सुन तस्करहरूसँग कुनै विषयमा कुरा नमिलेर मात्र नवराजले ‘क्वीन्टल’ सुन पक्राउ गरेको अनुमान गरिएको छ । यदि नेपाल प्रहरीले छानवीन र अनुसन्धानको मौका पाउने हो भने सम्पूर्ण रहस्य खुल्ने विश्वास गरिन्छ । तर प्रचण्ड त्यसका निम्ति किन तयार नभएका हुन्- यो नै सबैभन्दा ठूलो रहस्यको विषय बनेको छ ।