मार्थाको मायामा अल्झिएको नन्दिताको सम्झौता

मार्थाको मायामा अल्झिएको नन्दिताको सम्झौता


एकोहोरो हेर्दै त्यसै रमाउने उमेरकी आफ्नी सानी छोरीलाई खेलाउँदै मार्था गुनगुनाउन थाल्छिन्, ‘…मै छोरी सुन्दरी, कसरी भरुँ पानी…!’, आफ्नी विदेशी श्रीमतीको अबोधपन र लोग्नेको भाषा सिक्न खोज्ने उनको प्रयत्नलाई प्राकृतिक रूपमा स्वीकार्दै ४५ वर्षीय राघव क्षेत्री त्यसै मुस्कुराउँछन् र समयको रङ्गीन कलेबरमा अनायसै हात परेको जीवनको नयाँ अध्यायलाई समेट्न थाल्छन् । जीवनमा समयहरू एकप्रकारले महत्त्वपूर्ण रहेको अनुभूतिका साथ हरेक पलको उत्तम उपयोग गर्ने आफ्नो प्रण रहेको बताउँदा त्यसमाथि सहमत हुनलाई आग्रह गरेको भावमा सोफामा लम्पसारिएका राघवलाई हेर्छिन् मार्था । ‘मेरो विचारमा वास्तवमा हात पर्ने अवधि नै जीवन हो’ भन्दै बिस्तारै मायाले प्याट्ट मार्थाको गोह्रो गालामा हिर्काउँछन्, लन्डनस्थित क्याम्डेनटाउको आफ्नो अपार्टमेन्टमा । त्यसको सात हजार तीन सय चालीस किलोमिटर पर, काठमाडौंस्थित जोरपाटीमा रहेको एक बुटिक सपभित्र प्लास्टिकको झोलामा बिहानको खाजा बोकेर १७ वर्षीया करिश्मा पस्दै गर्दा ४३ वर्षीया आमा नन्दिता क्षेत्री नजिकैको टेबुललाई खाली पार्न थाल्छिन् । सानै उमेरमा पनि दोब्बर जिम्मेवारी लिँदै आएकी छोरीको परिपक्वताले कहिलेकाहीँ आमा नन्दितालाई निक्कै नै उदासीन बनाउँछ । छोरीको उमेरजन्य पनलाई मास्न बाध्य हुनुपरेकोमा एक अभिभावकको रूपमा आफू असफल भएकी नन्दिता बारम्बार सोच्ने गर्छिन्, ‘..सम्झौताको अर्को नाम नै जीवन रहेछ,’ आईडीडी कलमा केही पल संवेदनशील बनिन् नन्दिता ।

माथिका दुई परिस्थिति या परिवेशलाई जोड्ने समयको सुरुवात एघार वर्षअगाडि अर्थात् १ जुन, २००१ काठमाडौंबाट भएको हो । राघव क्षेत्री लाजिम्पाटस्थित एक निजी कम्पनीमा सधैंजसो सखारै पुगेका थिए । जीवनमा वैवाहिक जीवन एक आमनेपाली परिवारसरह नै सामान्य रूपमा चलेको थियो । राम्रो योग्यता र कडा परिश्रमले पनि राघवको परिवारलाई सन्तोषजनक किसिमले चलाउन नसकेको उनले तब पनि सकारेकै थिए तर नेपालका लागि आम हुँदाहुँदै पनि केही गर्ने धोको उनको मनबाट हराएको थिएन । स्वर्गीय बाबुको जस्तो नाम छोडेर जान नसक्ने लागे तापनि विभिन्न प्रकारले आफ्नो नामलाई चम्काउनतर्फ उनी अग्रसर भइरहेका थिए । जीवनमा सफलतालाई बुझ्ने र त्यसरी परिभाषित गर्ने आआफ्नै शैली हुन्छ भन्ने बुझ्दै राघव आफ्नो प्रकारको परिभाषाले आफ्नो जीवन र्सार्थक बनाउने प्रयत्नमा लाग्दै गर्दा सो दिन अर्थात् २००१ को जुन १ तारिख, एउटा कम्पनको रूपमा उनीलगायत तत्कालीन हजारौँ होनहार युवाको हृदयमा परेको थियो । पत्याउनै नसकिने गरेर तत्कालीन राजपरिवारको समूल परिवारको हत्या भएको थियो । काठमाडौं नै शून्यप्रायः भएको थियो भने मुलुकका लागि केही गरी बाबुको जस्तै नाम चम्काउने प्रण गरेका राघवको विश्वास एक्कासि छिन्नभिन्न हुन पुगेको थियो ।

तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालगायत उनको सरकारले तत्कालीन समयको अत्यधिक कालो उक्त दिन र उक्त घटनालाई रहस्यपूर्ण घटनाको रूपमा संसारमा चिनाउनबाहेक केही गर्न सकेनन् । परापूर्वको कोतपर्वको व्याख्या आउँदा, सो बेलाका आमजनता कति निरीह रहेछन् भन्ने सोच्ने एकप्रकारले विकसित भइसकेको मान्ने आमजनता पनि कालान्तरमा उस्तै तोपपर्वताकाका जनतासरह भेडा मात्रै लाग्ने गरी आगामी दरसन्तानका मनमा पर्ने इतिहासको रूपमा आबद्ध भएका थिए सो घडीपर्यन्त । राघव भन्छन् मलाई लाग्थ्यो, अब केही हुन्छ, तहल्का मच्चिन्छ, देश छिन्नभिन्न हुन्छ, माओवादीको राज यत्रतत्र हुन्छ, त्योभन्दा अगाडि जनता स्वःस्फुर्त रूपमा आन्दोलित हुन्छन् । तर, सामान्य प्रतिक्रियाबाहेक केही भएन अनि त्यो केही विशेष होला कि भन्दै नभइरहेको अवस्था यत्तिको कष्टकर थियो कि मैले र मेरा धेरै जमातका साथीहरूले सजिलै पचाउन सकेनौँ अनि जीवनलाई नयाँ किसिमले सोँच्न थाल्यौँ ।’ खासगरी आफूलगायत आफ्नो एक समूल परिवारलाई आफू स्वयम्ले धान्नेहरूलाई हरेक अप्रासङ्गिक, अप्राकृतिक अनि अप्रत्यासित अवस्थाले एक्कासि पोल्ने गर्दछ । मुलुक तत्कालीन अवस्थामा माओवादी विद्रोहले गर्दा आततायी थियो । माओवादी अनि नेपाली सेनाको सङ्क्रमणमा युवामन अस्वस्थ बन्दै गएको त्यो त्यस्तो अवस्था थियो, जब शान्त जीवन अनि सम्पन्न जीवनको वहानामा हजारौँ युवाहरू मुलुकबाट निकास खोज्दै गरेका थिए । केही गर्ने प्रण गरेकै पलमा पनि पारिवारिक सहमतिमा पारिवारिक खुसीको लागि सयौँ युवाहरूसँगै २००१ कै सो घटनाउप्रान्तको अर्को महिना अर्थात् जुलाईमा राघव अमेरिका भासिन बाध्य भए । राघव सम्झन्छन्, ‘भविष्य तत्कालका लागि उज्ज्वल लाग्ने देखेको भए तापनि एक अति नै अनौठो पीडा यस्तरी छातीभित्र उब्जिन थालेको थियो कि परिवारलाई सदाकै लागि गुमाउँदै छु, उक्त यात्रा नै अन्तिम यात्रा हो कि जस्तो लागेको थियो ।’ जन्मेको ठाउँ, सपनाहरूका महलहरू सजाएको ठाउँ, माया गरेको र माया लगाएको ठाउँ, ठोक्कर लागेको अनि आफै आँसु पुछेको ठाउँ र साथमा आफ्नो परिवार अनि सानी छोरीलाई त्यो बेला छोडेर जाँदा, जुन बेला मुलुक जे पनि बन्न सक्थ्यो, कसको मन अस्थीर रहँदैनथ्यो र ?

‘सानी छोरीको भविष्यको चिन्ता, सन्त्रस्त तत्कालीन आफ्नो पारिवारिक यथार्थ, अनि आकाशजसरी दिनप्रतिदिन चुलिएको लाग्ने महँगी र अति नै अस्तव्यस्त तथा आक्रामक लाग्ने तत्कालीन सामाजिक परिवेशलाई पचाउन सकिएन, हुनसक्छ, त्यही परिवेशले हामीलाई खाएको होस् । हामी परिवारलाई केवल आफ्नै रहरको सानो पुलिन्दामा आफ्नै सामर्थ्यले बलियोसँग बाँध्न चाहन्थ्यौँ, त्यसैको प्रभावमा त्यसरी हामी आफ्नो वैवाहिक जीवन बिताउने प्रण सजिलैसँग गरेका थियौँ । जिन्दगीलाई सम्झौताको जलपले सिँगार्नैपर्ने रहेछ, मैले त्यो घडी बुझेको हुँ ।’ नन्दिता बितेका सम्झनाहरू खोतल्ने क्रममा निक्कै नै साहित्यिक बनेकी उनको गम्भीर तर वजनदार स्वरबाट सजिलै थाहा लाग्दथ्यो । आफ्नो पाटाको जीवनलाई रङ्गीन सम्झनाशील आँखाले हेरेर उनी सायद बताउँदै थिइन् । बितेको डेढ दशकले तत्कालीन नेपाललाई के र कस्तो स्वरूपमा लगेको छ, त्यो सर्वविदितै छ, तथापि आम तर योग्य नेपाली मानसिकतामा उक्त डेढ दशकले कस्तो प्रभाव पारेको छ त भन्ने सन्दर्भलाई हेर्ने सानो प्रयत्नस्वरूप यो रिपोर्ट तयार गरिँदै छ ।

एक स्पोन्सरको भरोसामा अमेरिका भित्रिएका राघव त्यहाँ पनि दुई महिनाले गर्दा ढिलो बन्न पुगे । विल क्लिन्टनले पास गराएका आप्रवासीसम्बन्धी एम्नेस्टीको म्याद सन् २००१ को अप्रिलबाट सकिएको थियो, जसले एक निश्चित समयसम्म अमेरिकी सरकारलाई कर तिरेर रहन पुगेका आप्रवासीहरूले ग्रिनकार्ड पाउने आधारको अन्त्य गरायो । त्यसपछि राघवलगायतका युवाहरू अर्को एम्नेस्टी नबनुन्जेलसम्म आफूहरू पर्खने भन्दै सोही अवस्थाको कागजमा हस्ताक्षर गर्न पुगेका थिए, जसलाई बुस प्रशासनले कहिल्यै गम्भीरताका साथ पुनरावलोकन गर्न आवश्यक देखेन र त्यसको आशामा रहेका अन्यजस्तै राघवको पनि आफ्नो भिसाको म्याद गुज्रेको थियो । त्यसलगत्तै आफूलाई शरणार्थीको क्याटागोरीमा दर्ता गराउन सफल भएको भए तापनि स्पोन्सर साहुको दयामा दश वर्ष, श्रीमती, छोरीलगायतका परिवारका सदस्यहरूको सम्झनामा साँझहरू रक्सीमय बनाएर बिताउन बाध्य भए । त्यहाँ पनि केही हुन्छ कि भन्ने आशामा रहँदारहँदै अनुहारभरि समयको क्रूर छाप तेज गतिमा बढ्दै गएको समयमा राघव जीवनमा भोग्न नपाएका हजारौँ पलहरूका लागि अग्रिम रूपमै शोक मनाउन थाल्दथे । एकपटकको जीवन त्यसरी अस्तव्यस्त होला भन्ने कलेज जीवनमा आफूले पटक्कै नसोचेको बताउने राघवले एकपछि अर्को गर्दै आफ्ना सपनाहरू भत्किरहेको बारम्बार महसुस गरेको बताउँछन् र उनलाई लाग्दछ, जस्तो भोग्यो त्यस्तै नै जीवन हो भने जीवन दिक्कलाग्दो रहेछ भन्ने उनको खोज हुनेछ । (क्रमशः आगामी अंकमा)