‘गठबन्धन’को स्थिरता र स्थायित्वका लागि काम गर्ने कांग्रेस संसदीय दलको निर्णय

‘गठबन्धन’को स्थिरता र स्थायित्वका लागि काम गर्ने कांग्रेस संसदीय दलको निर्णय


photo: rss

कांग्रेस संसदीय दलको आज बसेको बैठकले वर्तमान सत्तागठबन्धन कांग्रेसकै प्रयत्नमा बनेको भन्दै गठबन्धनको स्थिरता र स्थायित्वका लागि पार्टीले प्रभावकारीरुपमा काम गर्नुपर्ने निर्णय गरेको छ । मुलुकमा भ्रष्टाचार निवारण र सुशासनको सुनिश्चिताका लागि सरकारसँग आग्रह गर्ने र जग्गा कित्ताकाट खुले पनि कार्यान्वयन नभएको अवस्थामा तत्काल कर्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराएको पनि कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिएका छन् ।

कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले देशभरि फैलिएको डेङ्गु रोग र एडिनो भाइरस कन्जन्टिभाइटिस (आँखा पाक्ने) रोगको सङ्क्रमणको आवश्यक औषधि उपचार व्यवस्था गरी रोकथाम तथा नियन्त्रण गर्न सरकारसँग माग गरेको छ ।

बैठकले देशव्यापीरुपमा पशुचौपायामा फैलिएको लम्पी स्किन रोगको रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी ढङ्गले तत्काल काम गर्न साथै पीडित किसानलाई उचित राहत एवं क्षतिपूर्ति दिनसमेत सरकारसँग माग गरेको छ ।

यसैगरी बैठकले बाढी, पहिरो र डुबान प्रभावितको उद्धार, राहत र पुनःस्थापनाको अविलम्ब व्यवस्था गर्न, ध्वस्त भएका, क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माण गर्न, विभिन्न स्थानमा अवरुद्ध भएका सडक यातायात अविलम्ब सञ्चालन गर्नसमेत माग गरेको छ ।

बैठकले तराई–मधेसका विभिन्न जिल्लामा अल्पवृष्टिका कारण धेरै स्थानमा धान रोपाइँ हुन नसकेको र जमिन मुनिको पानीको सतह तल झरेका कारण खानेपानीको समेत समस्या भई नागरिक ठूलो मर्कामा परेको उल्लेख गर्दै किसानलाई राहत दिन र खानेपानीको तत्काल व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।

सोमबारकै बैठकले लामो समयदेखि अवरुद्ध सङ्घीय संसद्का दुवै सदन सञ्चालन गर्न पहल गर्ने निर्णय पनि कांग्रेसले गरेको छ । यसका लागि सत्तारुढ दलसँगै प्रमुख प्रतिपक्षी दललगायत अन्य सबै दलसँग संवादको अग्रसरताका साथ सञ्चालन गर्न पहल गर्ने भनिएको छ ।

अवरुद्ध सदन खुलाउन प्रमुख प्रतिपक्षी दललाई अवरोध समाप्त गर्न आग्रह गर्दै सबै विषयमा सदनमा छलफल गर्ने वातावरण सुनिश्चित गर्न सचेतक लेखकले आग्रह गरेका छन् ।

ज्ञातव्य छ, यही साउन १० गतेदेखि प्रमुख प्रतिपक्षी दल एमालेले सुन तस्करी प्रकरण सम्बन्धमा उच्चस्तरीय छानविन समिति गठनको माग गर्दै सदन अवरुद्ध गर्दै आएको छ ।