बर्दिबास अस्पतालमा प्रसूति शल्यक्रिया बन्द हुँदा सेवाग्राही हैरान

बर्दिबास अस्पतालमा प्रसूति शल्यक्रिया बन्द हुँदा सेवाग्राही हैरान

घ.वि. सम्वाददाता
0
Shares

महोत्तरी,
बर्दिबास अस्पतालमा प्रसूतिका लागि गराइने शल्यक्रिया बन्द हुँदा गरिब र निम्न आय हुने परिवारका लागि समस्या भएको छ । तीन सातादेखि सेवा बन्द हुँदा गरिब र निम्न आय हुने सर्वसाधारणलाई प्रसूतिका लागि निजी अस्पताल वा टाढाको सरकारी अस्पताल जानुपर्दा हैरानी भएको हो ।

सेवा बन्द भएपछि शल्यक्रिया गरिनुपर्ने यस्ता महिलालाई चर्को शुल्क पर्ने निजी अस्पताल र टाढाको सरकारी अस्पताल जानुपर्ने बाध्यताले श्रमजीबि परिवारका लागि खर्चको जोहो गर्न कठिन भएको पीडित कल्पना विकले बताउनुभयो ।

अस्पतालले गत साउनमा शल्यक्रियाबाट बच्चा निकाले पछि आमाहरूमा एकपछि अर्कोमा गर्दै सङ्क्रमण बढ्दै गएकाले यही भदौ १ गतेदेखि शल्यक्रिया बन्द गरेको हो । साउनमा शल्यक्रियाबाट सुत्केरी गराइएकामध्ये १० जनामा सङ्क्रमण देखिएकाले तत्काल यो सेवा (शल्यक्रिया) बन्द गरिएको अस्पताल प्रशासनले स्वीकार गरेको छ तर शल्यक्रिया गरिनपर्नेबाहेक अन्य सेवा भने यथावत रहेका अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा कृष्णा महर्जनले बताउनुभयो ।अस्पतालले गत साउनमा मात्रै दुई सयभन्दा बढी महिलालाई प्रसूति सेवा दिएकामा ८० जनाको शल्यक्रिया गरिएकोे थियो । शल्यक्रिया गरिएमध्येकै आठ÷दस जनामा सङ्क्रमण देखिएपछि भदौ १ गते नै यो सेवा रोकिएको डा महर्जनले बताउनुभयो ।

शल्यक्रिया गरिएकामा सङ्क्रमण देखिन थालेपछि शल्यक्रिया कक्षको पानी र सुत्केरी सुताइने शय्याको स्वाब परीक्षण गरिँदा जीवाणु भेटिएपछि यो सेवा बन्द गर्नु परेको अस्पताल प्रशासनले स्पष्ट पारेको छ । शल्यक्रिया कक्ष साँघुरो कोठामा सञ्चालन गरिएको र सरसफाइमा राम्रो ध्यान नदिँदा सुत्केरीमा सङ्क्रमण बढेको अस्पताल नजिकका सर्वसाधारण बताउँछन् । साँघुरो ठाउँमा आवश्यक सावधानी र सुरक्षाका उपाय अवलम्बनमा लापर्वाही गरिँदा नै सङ्क्रमण बढेको अस्पतालको सेवालाई नजिकबाट नियालिरहेका एक स्वास्थ्यकर्मीको भनाइ छ । अब यो सङ्क्रमण बढ्नाको कारण र यसमा भएको लापर्वाहीको खोजीनीति गरेर आवश्यक कारबाही नगर स्वास्थ्य शाखाले गर्नुपर्ने सर्वसाधारणको टिप्पणी छ ।

यसैबीच अस्पताल प्रशासनले शल्यक्रियाकक्ष फराकिलो बनाएर सरसफाइ र आवश्यक मर्मतसम्भार गरिएको जनाएको छ । नयाँ कक्षको स्वाब परीक्षण गरेर सोको नतिजा ‘नेगेटिभ’ आएपछि सेवा सुरु गरिने अस्पतालका मेडिकल अधिकृत डा चन्द्रमणि खत्रीले बताउनुभयो।

निजी अस्पताल सञ्चालकसँगको मिलोमतोमा जानाजान यस अस्पतालमा प्रसूतिका लागि शल्यक्रिया गरिँदा लापर्वाही गरिएको हुनसक्ने सर्वसाधारणले अनुमान समेत गरेका छन् । “बर्दिबास अस्पतालको सुत्केरी सेवाले यहाँ (बर्दिबास)का निजी अस्पतालको मुख्य आम्दानी नै मरेको थियो, त्यसैले अहिले बर्दिबास अस्पतालको साख गिराउन खेल भएको पनि हुनसक्छ”, नाम नबताउने सर्तमा उक्त अस्पताल नजिकका एक सर्वसाधारणले भन्नुभयो। बर्दिबास नगरपालिकाको स्वास्थ्य शाखाले शल्यक्रिया गरिएका महिलामा भएको सङ्क्रमणबारे अनुसन्धान हुनुपर्ने सम्बद्ध अन्य व्यक्तिको पनि टिप्पणी छ ।

सुत्केरी सेवाका लागि मधेस प्रदेशमै बर्दिबास अस्पताल कहलिएको थियो । अस्पतालको सेवाबारे सकारात्मक सन्देश प्रवाह हुँदा यहाँ जिल्लाकै तल्लो भेगसम्मका र सर्लाही, धनुषा र सिन्धुलीसम्मका गर्भवती महिला जाँच र सुत्केरी सेवा लिन आउने गरेका थिए । अस्पतालको सेवाबारे बर्दिबास नगर नेतृत्वले सुविधा र नियमित अनुगमन बढाउन पर्ने स्थानीय सेवाग्राही बताउँछन् । आवश्यक पूर्वतयारी गरेर चाँडै यो सेवा सञ्चालनमा ल्याउन सर्वसाधारणले नगर नेतृत्वसँग माग गरेका छन् ।