यदाकदा बाटोपर्दा म मन मिल्ने वा आफूले सम्मान गर्ने पुराना प्रहरी अधिकृतहरूलाई भेट गर्न पुग्छु । उहाँहरूको कुरा सुन्छु । मैले प्रहरी सेवामा प्रवेश गर्नुभन्दा धेरै पहिला यो सङ्गठनमा प्रवेश गरेका त्यस्ता अधिकृतहरूका पुराना कुराले मलाई विगतको नेपालमा पुर्याउँछ, त्यसले एकप्रकारको आनन्द पनि दिलाउँछ । हालै मात्र म त्यस्तै एक पुराना अधिकृतकहाँ भलाकुसारी गर्न पुगेँ । जागिरमा हुँदा मेरो वृत्ति-विकासमा सकारात्मक सहयोग गर्नुभएको कारण अवकाशपछि पनि उहाँप्रति मेरो सम्मान घटेको छैन ।
दुई पूर्वप्रहरी भेट भएपछि प्रहरी सङ्गठनकै कुरा त हुने भइहाल्यो । उहाँले कुरा निकाल्नुभयो ०४३ सालतिर राजदरबारको कारणले प्रहरीहरू पीडित हुनुपरेकोमा । उहाँ पनि त्यस समयका एक जिउँदो साक्षी हुनुभएकोले मलाई उहाँको कुरामा रुचि हुनु स्वाभाविक नै थियो । कुरो अगाडि बढ्यो तत्कालीन अधिराजकुमार धीरेन्द्रले बाहिर राख्नुभएको बेलायती केटीलाई नेपाल आउँदा चितवनमा पन्ध्र दिन बिताएपछि भिसा नदिई दरबारले देशबाट बाहिर पठाएको प्रसङ्गबाट । ती केटीलाई धीरेन्द्र थप अवधि नेपालमा राख्न चाहन्थे तर रानी ऐर्श्वर्य आफ्नी बहिनीको वैवाहिकजीवनको सुरक्षार्थ उक्त युवतीलाई नेपालबाट बाहिर निकाल्न चाहन्थिन् । यसरी जब धीरेन्द्रको चाहनाविपरीत रानी ऐर्श्वर्यले ती केटीलाई भिसा नदिई देशबाहिर पठाइन् त्यसपछि तत्कालीन माहारानीसँग देवर धीरेन्द्र क्रूद्ध भएछन् । आफूले मन पराएकी केटीका लागि धीरेन्द्रले राजदरबार नै त्यागी हवाई गएर बस्न तयार भएपछि उनको साथमा जान तयार भएका उनका एडीसी भरत गुरुङ तथा गौचन परिवार पनि रानी ऐर्श्वर्यको नजरमा शत्रु सावित हुन पुगेछन् । जसका कारणले भरत गुरुङलाई सजाय दिन रानीले ताराबहादुर तथा ऋषिकुमार पाण्डेलाई गोप्य आदेश दिइछन् । भरत गुरुङलाई फसाउने ग्राण्डडिजाइन गर्ने कामको नेतृत्व तत्कालीन महानिरीक्षक हेमबहादुर सिंहलाई दिइएको थियो र हेमबहादुर सिंहले आफ्नै ठकुरी थरका तत्कालीन डीआईजी रणबहादुर चन्दलाई यो जिम्मा दिएका थिए । राजा-रानी नै बिचरा कर्णेल भरत गुरुङको पछि लागेपछि उनको के लाग्दथ्यो र ! भरत गुरुङको घरमा पटकपटक छापा मार्ने काम भयो, उनलाई उम्कन नदिन रणबहादुर चन्दको आदेशमा तत्कालीन प्रहरी अधिकृत भरतबहादुर जिसी र विजयराज भट्टले उनको घरमा ड्रग्स राख्ने प्रपञ्च मिलाए । यसरी एक भयानक षड्यन्त्रअन्तर्गत सैनिक अदालत खडा गरी कर्णेल भरत गुरुङलाई लागूऔषध मुद्दामा फसाउने काम भएछ ।
यही समयमा यही क्रममा धीरेन्द्रका नजिक भएका गौचन परिवार पनि षडयन्त्रमा परे । कर्णेल भरत गुरुङको घरमा प्राप्त एक पेस्तोल उनले सेनाका डाक्टर श्याम पाण्डेले दिएको भनी पोलिदिएको कारण श्याम पाण्डेको घरमा पनि खानतलासी भयो । वास्तवमा कर्णेल भरतले आफूलाई श्याम पाण्डेले फसाएका हुन् कि भन्ने ठानेर यसो गरेका थिए अरे, किनकि केही समयअगाडि डाक्टर पाण्डेले भरत गुरुङलाई धीरेन्द्रलाई हवाई जान दिन नहुने सल्लाह दिँदै यसका लागि उनीहरूले गलत सल्लाह प्रदान गरिरहेको विचार राखेका रहेछन् । बाहिरी रूपमा सोझा देखिए पनि भित्री रूपमा निक्कै षडयन्त्रकारी आईजीपी हेमबहादुर सिंहले तत्कालीन अवस्थामा जनतामा लोकप्रिय रहेका प्रहरी अधिकृत अच्युत खरेललाई ‘भरत गुरुङले ड्रग्स कहाँबाट ल्याएछ बुझ्नू’ भनी छानबिन गर्ने नाटक खेलेको कुरा पहिला त खरेलले बुझेनछन् तर पछि यो ड्रग्स प्रहरीबाटै प्लान्ट भएको थियो भन्ने बुझेपछिचाहिँ उनले त्यसमा अनुसन्धान गर्ने रुचि छाडेछन् । आफैं ड्रग्स राख्न लगाई आफैं अनुसन्धान गर्न खटाउने हेमबहादुर सिंह तथा रणबहादुर चन्दको खुराफाती योजना वास्तवमै सोझा अधिकृतहरूले बुझ्न सक्ने कुरा पनि थिएन ।
उहाँ कथा सुनाउँदै जानुभयो ।
जब रानी ऐर्श्वर्य आफ्नी कान्छी बहिनीलाई धोखादिने देवर धीरेन्द्रलाई पाठ सिकाउन उनका वरिपरि रहेका कर्मचारी र शुभचिन्तकहरूलाई एक-एक गरी बर्बाद गर्न आक्रामक ढङ्गले अगाडि बढिरहेकी थिइन् त्यो नीति थाहा पाएका दरबारका ताराबहादुर थापा, ऋषिकुमार पाँडेजस्ता सैनिक अधिकृतहरू र प्रहरीका हेमबहादुर सिंह, रणबहादुर चन्दलगायत अन्य खुराफाती अधिकृतहरूले पनि यही मौकामा आ-आफना प्रतिद्वन्द्वी खत्तम पार्ने योजना सुरु गरे ।
तत्कालीन आईजीपी हेमबहादुर सिंहलाई डीबी लामासँग पहिलादेखि नै गहिरो रिस थियो । उनले धेरै समयअघिदेखि नै उनलाई जेल हाल्ने गुप्त योजना बनाइरहेका थिए । त्यही क्रममा उनले भरत गुरुङसँग डीबी लामालाई जोडेर फसाउने षडयन्त्र अगाडि सारे । दरबारका सैनिक अधिकृत ताराबहादुर थापालाई आफ्ना प्रतिद्वन्द्वी शान्तकुमार मल्लसँग भित्री रिस थियो । उनलाई पनि यही घानमा मुछ्न ताराबहादुर अगाडि बढे । रणबहादुर चन्दलाई तत्कालीन एआईजी रत्नशमशेर राणामाथि रिस थियो । उनलाई खत्तम गरी आफू प्रहरी प्रमुख बन्न तत्कालीन व्यापारी बाला बगानीसँग राणाको सम्बन्घ रहेको देखाई उनलाई समेत यही काण्डमा मुछेर सके जेल नै हाल्ने नसके जागिरबाट हटाउने योजना बन्यो । मौकामा चौका किन नहान्ने भनी त्यसबखतका विशेषगरी सुदूरपश्चिमबाट आएका प्रहरी अधिकृतहरूले आफ्ना क्षेत्रका आईजी सिंह तथा डीआईजी चन्दको सहयोगमा आ-आफ्नो प्रतिद्वन्दी मास्ने षडयन्त्र सुरु गर्न थाले । रणबहादुर चन्द तथा तत्कालीन प्रहरी अधिकृत मोतीलाल बोहराले पनि आफूमाथि जानका लागि बाधक हुन सक्ने दशजना उच्च प्रहरी अधिकृतहरूलाई प्रत्यक्ष-अप्रत्यक्ष तरिकाले धीरेन्द्र-भरत गुरुङ काण्डसँग जोडेर खत्तम गर्ने भित्री योजना बनाए । ती दश अधिकृतहरूमा रत्नशमशेर राणा, इन्द्रबहादुर शेरचन, हाङसिङ च्याम्जुङ, ध्रुवबहादुर प्रधान, अच्युतकृष्ण खरेल, अच्युत चालिसे आदिको पनि नाम थियो । यसमध्ये धेरैलाई उनीहरूले फसाएरै छाडे भने कोही-कोही बल्लतल्ल जागिर बचाउन सफल त भए, तर उनीहरू सुदूरपश्चिमतिर लखेटिए । त्यो लिस्टमा तत्कालीन एसपी अच्युत चालिसेको नाम पहिला थिएन तर चालिसेले निर्दोष रत्नशमशेर राणामाथि सहानुभूति देखाएका कारण उनलाई पनि अपराधी बनाई देश नै छोड्न बाध्य बनाइएको थियो । जब धीरेन्द्रले आफ्नो कारणले धेरैले दु:ख पाएको देखे त्यसपछि राजा वीरेन्द्रलाई सम्झाउन तत्कालीन धनुषाका लोकप्रिय नेता हेमबहादुर मल्ललाई पठाएका थिए । हेमबाहादुर मल्लले राजालाई भेटी राजाको छोराले एउटा केटी बाहिर राख्दा के नै हुन्छ र भन्ने आसयको विचार राख्दै यस्ता कुरामा धेरैलाई दु:ख दिन नहुने तर्क राखेपछि उनको पनि दशा सुरु भएको थियो । त्यो समयमा धीरेन्द्रका समिप भएका कारण शरदचन्द्र शाह पनि भयानक षडयन्त्रमा पर्नेवाला थिए तर भगवान्ले उनलाई बचाए ।
धीरेन्द्रले बाहिर केटी राखेको घटनाबाट सुरु भएको यो काण्डले हेर्दाहेर्दै डढेलोको रूप लियो । तत्कालीन दरबारका जर्नेल ऋषिकुमार पाण्डेले पनि आफ्नो ज्वाइँलाई जागिर नदिनेदेखि लिएर घर बनाउने ठाउँमा ढुङ्गा नपठाउने प्रहरी अधिकृतहरूसमेतलाई यसै घानमा पारी मुद्दा चलाउन सफल भए । केवल खुराफात र फट्याइँ जानेका डीआईजी रणबहादुर चन्द आफ्नो प्रहरी सङ्गठनको मर्यादा नाघेर आफ्नै प्रहरी कर्मचारीहरूलाई फसाउन दिन-रात नभनी षडयन्त्रमा व्यस्त थिए भने आईजी होमबहादुर सिंह धृतराष्ट्रले झैं थाहा नपाएझैं गरी चन्दमार्फत रिस उठेका एक-एकलाई बदला लिन व्यस्त थिए । भनिन्छ, यो षडयन्त्रमार्फत् ताराबहादुर थापाका ग्याङले प्रहरीमा चौध वर्ष आफ्ना मान्छेहरू ल्याई शासन गर्ने योजना बनाएका थिए ।
म त्यसदिन अवकाशप्राप्त मेरा सिनियर प्रहरी अधिकृतले सुनाउनुभएको यो कथा भावविभोर भएर सुनिरहेको थिएँ । किनकि त्यो डरलाग्दो षडयन्त्रको सिकार मजस्तो भर्खरै एक वर्षअघिबाट जागिर खाएकाहरू पनि भएका थियौँ तर त्यसबेला हामीमाथि किन बिनाकारण अन्याय भइरहेको थियो भन्नेचाहिँ हामीले त्यस समय बुझ्न सकेका थिएनौँ । कसैलाई भरत गुरुङसँग जोडेर, कसैलाई डीबी लामासँग जोडेर, कसैलाई बाला बगानीसँग जोडेर, त्यसबेलाका षडयन्त्रकारीहरूले आ-आफ्ना स्वार्थसिद्धिका लागि दर्जनौँ निर्दोष प्रहरी अधिकृतहरूलाई जेल हाल्ने र तिनको जागिर खाने काम गरे । कैयौँ निर्दोष नागरिकहरूलाई बदनाम गर्ने र अपमान गर्ने काम गरे । दरबारका सैनिक अधिकृतदेखि मुख्य रूपले प्रहरीका सुदूरपश्चिमका अधिकृतहरूले त्यस समय धेरै निर्दोष प्रहरी अधिकृतहरूमाथि घोर अन्याय गरे । त्यसबखत रानी ऐर्श्वर्यको पारिवारिक बदला लिने नियतलाई भजाएर षडयन्त्रकारी सैनिक तथा प्रहरी अधिकृतहरूले धेरैलाई रुवाउने काम गरे ।
मैले सुनेको कथामा कति सत्यता छ वा छैन मलाई थाहा छैन तर यी सब षडयन्त्रका कथा सुनेर म जब ती पूर्व प्रहरी अधिकृतको घरबाट बाहिर निस्किएँ त्यतिबेला मभित्र त्यस समयका प्रत्येक षडयन्त्रकारीहरूप्रति घोर घृणा जागिरहेको थियो । त्यस समयमा धेरै निर्दोषमाथि अन्याय गर्ने राजदरबारका ती राजा-रानीलाई त भगवान्ले सजाय दिएको देखियो तर अरू षडयन्त्रकारीहरूले के-के सजाय पाए ? यदि भगवान् साँच्चिकै छन् भने त्यस समयमा निर्दोष व्यक्तिलाई फसाउने प्रत्येक षडयन्त्रकारीले पापको फल यही जुनीमा भोग्नु नै पर्ने हो ।
प्रतिक्रिया