भारतद्वारा क्यानडाली कूटनीतिज्ञ निष्कासित

भारतद्वारा क्यानडाली कूटनीतिज्ञ निष्कासित


‘प्रधानमन्त्री ट्रुडोको आरोप आधारहीन’

भारत सरकारले क्यानडाका एक जना वरिष्ठ कूटनीतिज्ञलाई निष्कासन गरेको छ ।

क्यानडाले पृथकतावादी खालिस्तान नेता हरदीप सिंह निज्जरको हत्यामा संलग्न रहेको आरोपमा एक जना भारतीय कूटनीतिज्ञलाई निष्कासन गरेपछि भारतले पनि उही शैलीमा क्यानडाका कूटनीतिज्ञलाई निष्कासन गरेको हो ।

भारतको विदेश मन्त्रालयले नयाँदिल्लीमा रहेका क्यानाडका उच्चायुक्तलाई बोलाएर उच्चायोगका एक जना वरिष्ठ कूटनीतिक कर्मचारीलाई निष्कासन गर्ने भारत सरकारको निर्णयबारे जानकारी गराएको छ । नयाँदिल्लीले निष्कासन गरेका क्यानाडाली कूटनीतिज्ञलाई पाँच दिनभित्रमा भारत छाड्न आदेश दिएको छ ।

यो निर्णयले भारतको आन्तरिक मामिलामा क्यानाडाली कूटनीतिज्ञहरूको हस्तक्षेप र भारतविरोधी गतिविधिहरूमा उनीहरूको संलग्नता देखिएको विदेश मन्त्रालयका एक जना अधिकारीले बताएका छन् । विधिको शासनप्रति दृढ प्रतिबद्धतासहितको लोकतान्त्रिक राजनीतिक पद्धति अपनाएको भारतमाथि क्यानडाले लगाएको आरोपलाई विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले आधारहीन भएको टिप्पणी गरेका छन् ।

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले संसद्को आकष्मिक बैठकमा हरदीपसिंह निज्जरको हत्यामा नयाँदिल्ली संलग्न रहेको आरोप लगाएका थिए । गत जुनमा निज्जर ब्रिटिस कोलम्बियामा मृत अवस्थामा भेटिएका थिए ।

यसअघि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले क्यानडामा भारतविरोधी गतिविधि बढेकामा गम्भीर चिन्ता व्यक्त गर्दै क्यानडाको भूमिलाई भारतका विरुद्ध उपयोग हुन नदिन आफ्ना समकक्षीलाई अनुरोध गरेका थिए ।

यसैबीच क्यानाडास्थित कार्लटन विश्वविद्यालयका प्राध्यापक एवं विदेश नीति विशेषज्ञ विवेक देहेजियाले मङ्गलबार क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले भारतविरुद्ध आधारहीन आरोप लगाएको र त्यसको विश्वसनीयता शून्यप्रायः भएका टिप्पणी गरेका छन् ।

सबुद-प्रमाण नदेखेसम्म प्राप्त जानकारीलाई आँखा चिम्लेर सत्य मान्न नसकिने बताउँदै प्राध्यापक देहेजियाले लोकतन्त्रमा विश्वास गर्ने विकसित पश्चिमा देशको नेताले स्वतन्त्र भारतको इतिहासमा यस किसिमको आरोप पहिलो पटक लगाएको बताउँदै यसअघि यति उच्चस्तरमा भारतले क्यानडाको आन्तरिक मामिलामा षड्यन्त्र गरेको नसुनेको जनाएका छन् ।

एनआईसँगको कुराकानीमा प्राध्यापक देहेजियाले क्यानडाली जनता वा विश्वका जनतालाई प्रधानमन्त्रीले गरेको दाबीबारे कुनै जानकारी नदिइएको बताए । क्यानाडाको सुरक्षा खुफिया सूचनाका आधारमा प्रधानमन्त्रीले लगाएको आरोप पुष्टि नभएको त्यसमा आधार भएको मान्न नसकिने उनले बताएका छन् । उनले भनेका छन्- प्रधानमन्त्रीको आरोपमा विश्वनीय आधार छैन ।

भारतमा पक्राउ गर्नुपर्ने व्यक्तिको सूचीमा रहेका निज्जरको गत जुनमा क्यानडाको ब्रिटिस कोलम्बियामा गोली हानेर हत्या गरिएको थियो । पञ्जाबको जालन्धरको भारसिंहपुर गाउँका निज्जरलाई राष्ट्रिय अनुसन्धान निकाय (एनआई) ले फरार घोषणा गरेको थियो ।