अमेरिकी राष्ट्रपति बाइडेनद्वारा नयाँ ‘जलवायु पहरेदार’को घोषणा

अमेरिकी राष्ट्रपति बाइडेनद्वारा नयाँ ‘जलवायु पहरेदार’को घोषणा


अमेरिकी राष्ट्रपति जो बाइडनले स्वच्छ ऊर्जा अर्थतन्त्रका लागि आफ्ना योजनामा मतदातालाई बेच्ने प्रयास गरिरहेका बेला युवाहरूलाई हरित रोजगारी प्रदान गर्न सहयोग पुऱ्याउने उद्देश्यले बुधबार नयाँ ‘जलवायु पहरेदार’ कार्यक्रम’को शुभारम्भ गरिएको बताएका छन् । ‘आज, हामी स्वच्छ ऊर्जा, वातावरण संरक्षण र जलवायु उत्थानशीलता कार्यकर्ताहरूको अर्को पुस्तालाई परिचालन गर्दैछौं’, उनले एक्स (ट्वीटर)मा लेखेका छन् ।

यो योजनाले २० हजारभन्दा बढी युवाहरूलाई उनीहरूको तलबी प्रशिक्षण पूरा गरेपछि ‘राम्रो तलब दिने काम’ प्राप्त गर्न प्रशिक्षित गर्ने राष्ट्रपति बाइडेनको भनाइ छ । उनले विशेषगरी आफुले हस्ताक्षर गरेको मुद्रास्फीति न्यूनीकरण ऐनमार्फत् सन् २०२४ मा पुनः निर्वाचनका लागि आफ्नो प्रयासको मुख्य मुद्दा अर्थतन्त्रलाई बनाएका छन् ।

महत्वाकाङ्क्षी जलवायु कानूनको उद्देश्य स्वच्छ ऊर्जामा अमेरिकी सङ्क्रमणलाई गति दिनु, अमेरिकी उद्योगको पुनर्निर्माण गर्नु र सामाजिक न्यायलाई बढावा दिनु हो । संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन न्यूयोर्क पुगेका बाइडेनले जलवायु सङ्कटले सम्पूर्ण मानवताका लागि अस्तित्वको खतरा उत्पन्न गरेको चेतावनी दिएका छन् ।

अमेरिकी जलवायु अभियानकर्मीहरू, जसले लामो समयदेखि पहलको लागि आह्वान गर्दै आएका थिए, उनीहरूले यसलाई मिश्रित स्वागत गरे । एभरग्रीन नामक एउटा समूहले यसलाई ‘बढ्दो स्वच्छ ऊर्जा अर्थव्यवस्थामा युवाहरूका लागि राम्रो रोजगारी प्रदान गर्ने दिशामा उल्लेख्य कदम’ भनेको छ ।

तर गत आइतबार न्युयोर्कमा जीवाश्म ईन्धन विरोधी मार्चको आयोजक केनु अर्पेल्स-जोसियाहले भने यो ‘पर्याप्त छैन’ भनेका थिए ।

जलवायु पहरेदार ‘क्लाइमेट कोर’ अर्थात् ‘क्लाइमेट कोर’ नाम अमेरिकी ‘पिस कोर अर्थात् ‘पिस कर्प’ को प्रतिध्वनि हो जसले दशकौंदेखि विश्वभर स्वयंसेवकहरू पठाउँदै आएको छ ।

अमेरिकी सञ्चारमाध्यमका अनुसार सन् १९३० को दशकमा अमेरिकी राष्ट्रपति फ्रयाङ्कलिन डी रुजवेल्टले अमेरिकालाई महामन्दीबाट बाहिर निकाल्ने नयाँ सम्झौता (न्यू डिल)को समयमा बनाएको योजनालाई अझ नजिकबाट हेरिएको थियो ।

महामन्दीका समय अमेरिकी नागरिकहरूको रोजगारी संरक्षण गर्ने उद्देश्यले ‘सिभिलियन कन्जरभेसन कोर’को स्थापना गरिएको थियो । यसले करिब एक लाख बेरोजगार युवाहरूको एक चौथाई लाई पुनः वनीकरण र बाँध–निर्माणजस्ता परियोजनाहरूको विशाल कार्यक्रममा काम गर्नको लागी तयार गरिएको थियो ।